coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यु–१८ फुटबलको तयारी पूरा

काठमाडौं– शुक्रबारबाट नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयार पूरा भएको छ। दक्षिण एसियाका सात देशले सहभागिता जनाउने यु–१८ पुरुष फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

दक्षिण एसियाली फुटबल महासंघ(साफ)को कार्यक्रमअनुुसार आयोजना गर्न लागिएको प्रतियोगितामा आयोजक नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटानले सहभागिता जनाउँदै छन् भने पाकिस्तानले आन्तरिक कारण देखाउँदै सहभागिता जनाएको छैन।

साफले यसअघि नै ६ देशले सहभागिता जनाउने प्रतियोगिताका लागि तालिका सार्वजनिक गरिसकेको छ। तालिकाअनुसार आयोजक नेपालले समूह ए मा माल्दिभ्सलाई आतिथ्य गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

त्यसका लागि नेपालले मंगलबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २५ सदस्यीय खेलाडीबाट घटाएर मंगलबार २३ सदस्यीय टोलीको नाम टुङ्गो लगाएका हुन्। आयोजक नेपाल समूह ‘ए’ मा रहेको छ।

समूह ‘ए’ मा भुटान र माल्दिभ्स छन् भने समूह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका रहेका छन्। राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

उद्घाटन खेल माल्दिभ्ससँग खेल्ने नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ। खेल दिनको ३ बजे हुनेछ। एन्फाले प्रतियोगिता अवलोकनका लागि टिकट पनि व्यवस्था गरेको छ। हलचोकस्थित एपिएफ मैदानमा हुने खेलमा दर्शकका लागि तीन नम्बर गेट प्रयोग गर्नुपर्ने जनाएको छ।

साफ यु–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ। नेपाल यसअघि सम्पन्न दुई संस्करणको विजेता हो। एपिएफ क्लबको मैदानमा आयोजना हुने प्रतियोगितामा नेपाल घरेलु मैदानको फाइदा उठाउँदै उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा रहेको युवा टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए।

‘विगतका संस्करणका हामी उपाधि विजेता हौं। घरेलु मैदान भएकाले उपाधिमा ह्याट्रिक गर्ने अवसर हामीसँग छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘एक साताको पोखरा बसाइ निकै फलदायी भएको छ। तयारी निकै नै राम्रो भएको छ। सबै खेलाडी उत्साहित छन्।’

पहिलो संस्करणमा नेपालले भारतलाई टाइब्रेकमा ५–४ ले हराउँदै उपाधि उचालेको थियो। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि छिनोफानोका लागि टाइब्रेकमा लगिएको खेलमा नेपालले बाजी मारेको थियो।

दोस्रो संस्करण भुटानमा आयोजना हुँदा फाइलनमा भारतलाई २–० ले पराजित गर्दै दोस्रो उपाधि उचाल्न सफल भएको थियो।

तेस्रो संस्करणको रूपमा दोस्रो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा पनि जित निकाल्दै आयोजक नेपाल उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा हुनेछ। प्रतियोगितामा सहभागिता जनाउन माल्दिभ्स नेपाल आइसकेको र अन्य टोली शनिबार मात्र नेपाल आउने एन्फाले जानकारी दियो। 

नेपाली टिम 

गोलरक्षक: विशाल सुनार, सूर्य अधिकारी, पूजन होना

रक्षक:  विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन

मिडफिल्डर: शिशिर लेखी, रोशन रानामगर, आकाश बुढा मगर, जया गुरुङ, मनीष थापा, कौशल फुयाल, नितिन थापा

स्ट्राइकर: ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनीष डाँगी

समूह ‘ए’ समूह ‘बी’

नेपाल बंगलादेश

भुटान भारत

माल्दिभ्स श्रीलंका

उद्घाटन खेल माल्दिभ्ससँग खेल्ने नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।

प्रकाशित: १ आश्विन २०७६ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App