६ वैशाख २०८१ बिहीबार
अर्थ

तीन करोड ९६ लाख सलामी दस्तुर संकलन

काठमाडाैं – पर्यटकीय सिजन सुरु भएसँगै सरकारले आइतबारसम्म शरद ऋतु (अटम सिजन) मा हिमाल आरोहणबाट तीन करोड ९६ लाख पाँच हजार तीन सय ९४ रूपैयाँ सलामी दस्तुर संकलन गरेको छ।

पर्यटन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यो सिजनमा ४७ देशका तीन सय ९५ आरोहीले आरोहणका लागि आफ्नो नाम दर्ता गराइसकेका छन्। सरकारले आरोहणका लागि खुला गरेको हिमालमध्येबाट १७ हिमाल आरोहण गर्न उक्त संख्यामा नाम दर्ता भएको विभागले जनाएको छ।

आरोहण दलका सदस्यमा तीन सय ९५ पुरुष र ९० जना महिला रहेको पनि विभागले जनाएको छ। नाम दर्ता गराउनेमध्ये सबैभन्दा बढी २६ समूहका दुई सय ६० आरोहीले मनास्लु हिमाल आरोहणमा रुचि देखाएका छन् भने सबैभन्दा कम थोराङ पिकमा एक समूहका दुईजना आरोहीले आफ्नो नाम दर्ता गराएका छन्।

उक्त तथ्यांक अनुसार ६ हजार एक सय १० मिटर उचाइका ४७ हिमालमध्ये अपी, भृकुुटी, डाँफे सेल, धौलागिरि, गौगिरि, हिमलुङ हिमाल, सगरमाथा, लोत्से, लाङटाङ, लुबुला, मनास्लु, मकालु, नुप्से, पाङपोचे पहिलो तथा दोस्रो, सरिबङ, थोराङ पिक रहेका छन्।

विभागको तथ्यांक अनुसार यस सिजनमा मनास्लु हिमाल आरोहणका लागि आइतबारसम्म २६ समूहका दुई सय ६० आरोहीले आरोहण अनुमति लिएका छन्। मनास्लु आरोहणका ३८ पुरुष र १९ महिला गरी ५७ चिनियाँले अनुमति दिएका छन्। सन् २०१८ मा मनास्लु आरोहणमा १८ समूहका एक ९० आरोही गएका थिए।

त्यस्तै, सगरमाथा आरोहणका लागि दुई समूहका १० आरोहीले अनुमति लिएका छन्। धौलागिरि आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति पाएका छन्। विभागले उपलब्ध गराएको विवरण अनुसार सन् २०१८ को शरद ऋतुमा एक सय ६३ समूहले सगरमाथा सहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए। आरोहीले नाम दर्ता गराउने समय अझै केही दिन बाँकी रहेकोले तिहारसम्ममा उक्त संख्यामा बढ्न सक्ने विभागले जनाएको छ।

मंगलबार डेढ घन्टा विमानस्थल बन्द
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मौसम प्रतिकूल बनेपछि मंगलबार त्रिभुवन विमानस्थलमा डेढ घन्टासम्म कुनै विमान अवतरण हुन सकेन।

मौसमका कारण आवश्यक ‘भिजिबिलिटी’ कम भएपछि विमानस्थलको अवतरण बन्द भएको थियो। ‘भिजिबिलिटी नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गर्नुपरेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी गराए। उक्त समयमा विमानले अवतरण गर्न नसके पनि विमानस्थलबाट हुने दुवैतर्फका उडान सुचारु रहेको उनको भनाइ छ।

मौसम प्रतिकूल बनेको डेढ घन्टापछि मौसममा सुधार आएपछि भने अवरुद्ध सेवा पुरानै अवस्थामा सुरु गरिएको उनले जानकारी गराए। ‘मंगलबार दिउँसो १ः३० देखि ३ः०० बजेसम्म बादल तल झरेको (सिलिङ घटेको)ले एकतर्फी सेवा अवरुद्ध भयो,’ उनले भने, ‘अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएको इन्डिगोसहित आन्तरिकतर्फका चार विमान डाइभर्ट गरिएका थिए।’ दिल्लीबाट आएको इन्डिगोको विमान भारतको लखनउमा डाइर्भट भएको उनको भनाइ छ। कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’ मै थिए। विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करिब तीन सय आन्तरिक उडान–अवतरण हुँदै आएको छ।

यसैबीच, मंगलबार मौसमको खराबीका कारण लुक्लाबाट काठमाडौंका लागि उडेका नौ हेलिकोप्टर काभ्रे र सिन्धुपाञ्चोकका विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन्। उक्त स्थानमा आकस्मिक अवतरण गरेका हेलिकप्टरमध्ये अल्टिच्युडको एक, सिम्रिकको दुई, कैलाशको एक, मनाङको एक हेलिकप्टर पछि काठमाडौं आएका थिए। त्यस्तै लुक्लाबाट उडेका सिम्रिकको एक, श्रीको एक, समिटको एक हेलिकप्टर रामेछापको मन्थलीमा रातिसम्मै बसेका छन् भने सोलुखम्बुको सुर्केबाट काठमाडौं उडान भर्न नसकेपछि डइनेस्टीको हेलिकप्टर लुक्ला नै फर्किएको छ।

प्रकाशित: १ आश्विन २०७६ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App