७ वैशाख २०८१ शुक्रबार
समाज

अलपत्र ८ पर्यटकको उद्धार

सोलुखुम्बु – मेरापिकमा अलपत्र परेका ८ पर्यटकको मंगलबार बिहान उद्धार गरिएको छ। महाकुलुङ गाउँपालिका–१ थाग्नेमा अलपत्र परेका ७ विदेशी र १ नेपाली गरी ८ पर्यटकको कैलाश र डाइनेस्टि एयरका हेलिकोप्टरले उद्धार गरी काठमाडौं ल्याएका हुन्।

४२ सय मिटरको उचाइमा लेक लागेर आइतबार सोही भ्रमण दलका एकजनाको ज्यान गएको थियो। भारतीय मूलका केन्याका ३३ वर्षीया गोविन्द लखमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए। लेक लागेका कारण बिरामी भएका बाँकी पर्यटकलाई अक्सिजन दिएर राखिएको थियो।

मौसम प्रतिकूल भएकाले खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटक अलपत्र परेका छन्। पिक सिजनमा खुम्बु क्षेत्र भ्रमण सकेर करिब ३ सय पर्यटक उडानको पर्खाइमा रहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले चार दिनदेखि कुनै पनि उडान नभएको बताए।

केही पर्यटकले सल्लेरीसम्मको पैदल यात्रा तय गरे पनि त्यो संख्या निकै कम रहेको प्रमुख अधिकारीको भनाइ छ। यो सिजनमा हजारौं पर्यटक खुम्बु भ्रमणका लागि आउने गर्छन्। मौसम प्रतिकूलताले उडान प्रभावित हुँदा पर्यटक आवागमनमा समेत प्रभाव परेको छ। नेपाल वायु सेवा, तारा, सीता र समिट गरी दैनिक २५ वटाभन्दा बढी उडान तालिका भए पनि ४ दिनयता उडान ठप्प भएको प्राधिकरण प्रमुख अधिकारीले बताए। ्

प्रकाशित: १ आश्विन २०७६ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App