८ वैशाख २०८१ शनिबार
समाज

औषधि अभाव झेल्दै राप्तीपारिका स्वास्थ्य चौकी

नेपालगन्ज - बाँकेको राप्तीपारि नरैनापुरका स्वास्थ्य चौकीले यतिखेर औषधि अभाव झेलिरहँदा सिजनल ज्वरोका बिरामीको भने चाप बढेको छ। औषधिको मौज्दात रित्तिएका कारण बिरामीहरू रित्तो हात घर फर्किन बाध्य भएको त्यहाँका स्वास्थ्यकर्मीहरू बताउँछन्। नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया स्वास्थ्य चौकीका प्रमुख सद्दाम हुसेन खाँले आफूसँग अहिले सिटामोलसमेत नरहेको सुनाए। ‘लगभग १० दिन भयो, सिटामोलसमेत सकिएको छ, अरू औषधि त परै जाओस्,’ उनले नागरिकसँग भने, ‘सिटामोलको विकल्पमा बिरामीलाई ब्रोफिन दिँदै आइरहेका थियौं, त्यो पनि सकियो।’ स्वास्थ्य चौकीमा औषधिको हाहाकार नै मच्चिएको खाँले बताए।

औषधि लिन गाउँपालिका कार्यालयमा कर्मचारीलाई पठाए पनि बढी आवश्यक पर्ने सिटामोल र ब्रोफिन नपाएको उनले सुनाए। स्वास्थ्य चौकीमा बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको प्रमुख खाँको भनाइ छ। ‘अचेल दैनिक रूपमा ५० भन्दा बढी बिरामी आउँछन्,’ उनले भने, ‘उनीहरूलाई दिनुपर्ने औषधि नै हामीसँग छैन।’ स्वास्थ्य चौकीका सिनियर अहेव प्रेम बुढाले औषधि नहुँदा बिरामीको उपचारमा समस्या भइरहेको बताए।

‘औषधिको समस्या त केही समय पहिल्यै भएको होे तर त्यतिबेला अलिअलि ल्याएर काम चलाइरहेका थियौं,’ बुढाले भने, ‘अहिले सिजनल ज्वरोका कारण बिरामीको चाप एक्कासि बढ्यो अनि औषधिको अभाव सिर्जना भयो।’ गाउँपालिकामा सम्पर्क गर्दा औषधि नै नपाएको उनले सुनाए। स्वास्थ्य चौकीमा बालकदेखि वृद्धसम्मका व्यक्ति उपचारका लागि आउने गरेको बुढाले बताए।

औषधिको मौज्दात रित्तिएका कारण बिरामी रित्तो हात घर फर्किन बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन्।

नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले भने मटेहिया स्वास्थ्य चौकीले केही दिनदेखि झेल्दै आएको औषधि अभाव र गाउँपालिकाले गर्ने औषधि वितरणबारे अनभिज्ञता प्रकट गरे। ‘औषधि नपाएर बिरामीहरू स्वास्थ्य चौकीबाट फर्किरहेका छन्। धेरै समस्या भइरहेको छ। औषधि अभाव हुँदा मेरो पनि टाउकोदुखाइ भइरहेको छ,’ उनले भने, ‘गाउँपालिकाले औषधि पु¥याउन किन सकिरहेको छैन, यसबारेमा मलाई थाहा छैन।’ गाउँपालिकाले औषधिको सप्लाई राम्ररी गर्नै नसकेको मौर्यले सुनाए।

मटेहिया स्वास्थ्य चौकीमा जस्तै नरैनापुरका अन्य स्वास्थ्य चौकीमा पनि औषधीको समस्या बारम्बार निम्तिने गरेको पाइएको छ। गाउँपालिकाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलवाड गरेको स्वास्थ्यकर्मीको गुनासो छ। ‘पहिला जनस्वास्थ्य कार्यालयको मातहतमा हुँदा औषधि अभाव नै हुँदैनथ्यो, जनस्वास्थ्यको जस्तो अहिले छैन,’ राप्तीपारिका एक स्वास्थ्यकर्मीले भने। कतिपय स्वास्थ्य चौकीमा अस्थायी परिवार नियोजनका साधन तथा औषधिको पनि अभाव देखिएको छ। गंगापुर स्वास्थ्य चौकीका प्रमुख नवीन बुढा क्षेत्रीले आफ्नो कार्यालयमा औषधिको मात्रा कम रहेको बताए।

‘औषधिको मात्र एकदमै कम छ,’ उनले भने, ‘परिवार नियोजनका साधन, भिटामिन, मलमजस्ता साधन र औषधिको हामी कहाँ अभाव छ। यी साधनहरू प्रदेश सरकारले पठाउनुपर्ने हो तर पर्याप्त मात्रामा आएको छैन।’

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले गत वर्ष खरिद गरिएको औषधिबाट अहिलेसम्म काम चलाइरहेको बताए। ‘अहिले स्वास्थ्य चौकीमा सायद गत वर्ष अन्तिमतिर खरिद गरेर पठाएको औषधि हुनुपर्छ, यस वर्ष त औषधि खरिद गरेका छैनौं।’

प्रकाशित: १ आश्विन २०७६ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App