७ वैशाख २०८१ शुक्रबार
समाज

स्वास्थ्य मन्त्रीको भ्रमण मोह : एक वर्षमा २५ पटक विदेश उडे

काठमाडौं - देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

देश डेंगी र इक्रबटाइफस, जिका र चिकनगुनियाको उच्च जोखिममा परेका बेला त्यसलाई बेवास्ता गर्दै स्वास्थ्यमन्त्री यादव बुधबार १४ दिनका लागि अमेरिका भ्रमणमा जाने तय भएको छ । उनलाई देशमा फैलिएका विभिन्न रोगबाट नागरिकको स्वास्थ्य जोखिमका परेकाप्रति कुनै प्रवाह नरहेको र केवल विदेश सयरमा मात्र ध्यान रहेको मन्त्रालयका उच्च अधिकारीको गुनासो छ । मन्त्रालयका सहसचिवस्तरका कर्मचारी सहभागी भए हुने कार्यक्रममा पनि मन्त्री यादव आफैं जाने गरेको स्रोतको भनाइ छ । मन्त्री बनेयता पटकपटक विदेश गएकाले उनलाई ‘डुलुवामन्त्री’ भनेर पनि चिन्छन् मन्त्रालयका कर्मचारी । मन्त्रालय स्रोतका अनुसार एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश भ्रमणमा गएका छन् ।

जनता डेंगी, स्क्रबटाइफस लगायत रोगको जोखिममा परेका बेला दुई साताअघि ६ दिनका लागि भारत गएका स्वास्थ्यमन्त्री उपेन्द्र यादव बुधबार फेरि अमेरिकातिर उड्दैछन् । ‘डुलुवामन्त्री’ भनेर चिनिने उनको अमेरिका बसाइ १४ दिनको हुनेछ ।

स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बुधबार अमेरिका जान लागेको बताउँछन् । सरकारले भने संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुने भनेर औपचारिक रुपमा जानकारी गराएको छ । चौरसियाले मन्त्री यादव बुधबार राति ९ः३० बजेको उडानमार्फत अमेरिका प्रस्थान गर्ने र १४ दिन अमेरिकामा रहने बताए ।

परराष्ट्र मन्त्रालयले भने संयुक्त राष्ट्रसंघको ७४औं महासभामा नेपालका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाएको छ । परराष्ट्र मन्त्री ज्ञवालीका सञ्चारविज्ञ सुदन ज्ञवालीले राष्ट्रंघको महासभामा परराष्ट्र मन्त्री ज्ञवालीले नेपालका तर्फबाट सहभागिता जनाउने भनेर मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृति भइसकेको स्पष्ट पारे । उनले भने, ‘परराष्ट्र मन्त्रीज्यूले नै नेपाललका तर्फबाट महासभामा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भन्ने निर्णय भइसकेको छ । उहाँ कातिक ४ गते अमेरिका जानुहुन्छ ।’ परराष्ट्र मन्त्री ज्ञवालीले महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने विषयमा जिज्ञासा राख्दा स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव चौरसिया त्यहाँ विभिन्न सत्र हुने र उपप्रधानमन्त्रीज्यू पनि सहभागी हुने कार्यक्रम रहेको भन्दै पन्छिए । यादव उपप्रधानमन्त्री पनि हुन् ।
मन्त्री यादव संघीय संरचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नीति, नियम निर्माण, परिमार्जन, कर्मचारी व्यवस्थापन लगायत थुप्रै समस्या छाडेर विदेश सयर गर्दै आएका छन् । उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेदेखि अहिलेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । लन्डन, टर्कीको आनटल्या, कजकास्तानको अस्तानामा, जेनेभा र भारतमा आयोजना गरिएका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा उनले सहभागिता जनाएका छन् ।

कर्मचारीका लागि आकर्षण हुने वैदेशिक भ्रमण निर्देशिका मन्त्री यादवका लागि भने आकर्षित हुन सकेको छैन् । मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री यादव असोज ३ गते मनाइने संविधान दिवस छल्ने उद्देश्यले एक दिनअघि नै अमेरिकातर्फ उड्न लागेका हुन् । संविधान दिवसका दिन नेपालमै रहँदा अप्ठेरो पर्ने भएकाले समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनले पार्टीका अन्य नेताको सल्लाहबमोजिम नै संविधान दिवसको अघिल्लो दिन विदेश उड्ने गरी कार्यक्रम मिलाएको स्रोतको भनाइ छ ।
मन्त्री यादवले मन्त्रालयको नेतृत्व समालेको दुई महिना नपुग्दै अघिल्लो साउनमा नै थाइल्यान्डमा महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गएका थिए । त्यसको एक महिनापछि उनी भियतनामको हनोई सहरमा भएको कार्यक्रममा सहभागी भएका थिए । भियतनामबाट फर्किएको एकसाता नबित्दैे उनी विश्व स्वास्थ्य संठगनले आयोजना गरेको साताव्यापी सहभागी हुन भारत गएका थिए । यादवले गत वर्ष पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने तयारी गरे पनि भिसा नपाएपछि उनको त्यो इच्छा पूरा हुन पाएनन् । तर, अहिले उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने बहानामा अमेरिका उड्ने लागेको देखिन्छ ।

प्रकाशित: १ आश्विन २०७६ ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App