८ वैशाख २०८१ शनिबार
समाज

दोषीलाई कारबाहीको माग गर्दै तरुण दलको प्रदर्शन, २ घण्टा चक्का जाम

नेपालगन्ज– खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै मंगलबार नेपालगन्जमा दुई घण्टा चक्काजाम गरिएको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अगुवाईमा प्रदर्शनसहित चक्काजाम गरिएको हो। 

तरुण दलको चक्काजामका कारण दुई घण्टासम्म यातायात सेवा प्रभावित भयो। पार्टी कार्यालय सुर्खेतरोडबाट सुरु भएको बिरोध प्रर्दशन सुर्खेतरोड हुदै धम्बोझी चोकमा पुगेको थियो। सो क्रममा प्रदर्शनसहित दुई घण्टा चक्काजाम गरिएको तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाहले बताए। सो क्रममा उपस्थित कांग्रेस नेता, कार्यकर्ताले सरकार विरुद्ध चर्का नाराबाजी गरेका थिए। 

सो अवसरमा आयोजित कोण सभालाई प्रदेश पाँचका सांसद सुरेन्द्र हमाल, कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, नेता लक्ष्मीनारायण शाह, जिल्ला सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, पूर्वजिल्ला सचिव रबिन्द्र हमाल, तरुण दलका पूर्वकेन्द्रीय सदस्य सुदिप नरसिंङ राणा लगायतले सम्बोधन गरेका थिए। 

बक्ताहरुले प्रहरी प्रशासनले सितापुर घटनाका दोषीलाई पक्राउ गर्नुको सट्टा उल्टै संरक्षण गरिरहेको आरोप लगाए। राष्ट्रिय जागरण कार्यक्रममा जबरजस्ती प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरे पनि उक्त घटनालाई ब्यक्तिगत भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको बताए। ज्यान मार्ने उद्योग अन्तर्गत दर्ता भएको मुद्दाका सबै ब्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही नगर्दा सम्म आन्दोलन जारी रहने चेतावनी दिए।

गत बिहीबार भएको घटनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता, कार्यकर्ताको संलग्नता रहेको नेपाली कांग्रेसले बताउँदै आएको छ। सो क्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिनुका साथै केही कार्यकर्ता सामान्य घाइते भएका थिए। 

उक्त घटनामा संलग्न रहेको आरोपमा खजुरा गाउँपालिका वडा नम्बर १ राधापुर निवासी ३८ बर्षिय सुमन मल्ल, सोही ठाउँका ३८ वर्षकै निर्मल खत्री, ३२ बर्षिय लोके भन्ने लोकबहादुर शाही, ३२ बर्षिय रोशनसिंह ठकुरी, २८ बर्षिय दिपु भन्ने दिपबहादुर राना, खजुरा–२ सितापुर निवासी ३८ बर्षिय मुमबहादुर ओली, सोही ठाउँका ४१ बर्षिय पारस मल्ल, ३५ बर्षिय सुनिल भन्ने इन्द्रबहादुर खत्री, ४० बर्षिय ललित चन्द र ३७ बर्षिय हेमन्त थापाविरुद्ध कांग्रेस जिल्ला सभापति कोइरालाका पुत्र एवम् जिल्ला सदस्य सुधान्सु कोइरालाले किटानी जाहेरी दर्ता गराईसकेका छन्।

प्रहरीले अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा ‘लोके’ भन्ने लोकबहादुर शाही, निर्मल खत्री, रोशनसिंह ठकुरीलाई मात्र पक्राउ गरिएको जानकारी दिएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App