६ वैशाख २०८१ बिहीबार
अर्थ

मेहनत-पसिनाको करोडौं अलपत्र

भीम चापागाईं/राजु अधिकारी/सिद्धराज राई

इलाम/झापा/धनकुटा- ५ सय र हजार दरका भारतीय नोट नचल्दा मेहनत र पसिना बगाएर आर्जन गरेको करोडौं रुपैयाँ पूर्वी नेपालमा अलपत्र परेको छ। व्यापार र मजदुरी गरेर जोहो गरेको भारु नोट एक्कासि चल्न छाडेपछि सयौं व्यापारी र हजारौं सर्वसाधारण अन्योलमा छन्। 

कृषिजन्य उत्पादन बढी हुने इलाममा व्यापारीको सबैजसो कारोबार नजिकका भारतीय बजार नक्सल र सिलिगुडीमा हुने गरेको छ। कृषिजन्य उत्पादन भारतीय बजार लगेर तथा त्यहाँबाट उपभोग्य सामग्री यता ल्याएर बेच्ने व्यापारीको संख्या ठूलो छ। त्यतिमात्र होइन, पूर्वी क्षेत्रबाट उपचारका लागि भारतीय अस्पताल जाने बिरामी पनि अधिक हुने गरेकाले उनीहरूले जोहो गरेको भारतीय नोट अन्योलमा परेको हो।

इलामका व्यापारी र सर्वसाधारणसँग प्रतिव्यक्ति हजारदेखि १२–१५ लाख रुपैयाँका भारतीय नोट अन्योलमा परेको इलाम उद्योग वाणिज्य संघले जनाएको छ। संघ अध्यक्ष आनन्द कट्टेलले आफूसँग भएका भारतीय नोट नचल्ने सूचना पाएपछि व्यापारी र सर्वसाधारण अत्तालिएको बताए। 'कारोबारको सिलसिलामा आफूसँग आएका लाखौं रुपैयाँ बराबरका भारतीय नोट अन्योलमा परेको भन्दै व्यापारीले गुनासो गरेका छन्,' अध्यक्ष कट्टेलले भने, 'यहाँका सबै व्यापारीको सोझो कारोबार भारतीय बजारमै रहेकाले व्यापारी ठूलो संकटमा परेका छन्।' उनले इलामका व्यापारी र सर्वसाधारणसँग करोडौं रुपैयाँ बराबरका ५ सय र हजार दरका भारु नोट भए पनि कति छ भन्ने ठ्याकै यकिन गर्न चाहिँ नसकिने जनाए।

कट्टेलले भारतीय बजारबाट सामान ल्याउन जम्मा गरेको र कृषिजन्य उत्पादन किनेबापत किसानलाई दिन बाँकी भारु नोट नसाटिँदा व्यापारीलाई सकस भएको बताए। 'ठूला नोट नचलेकै कारण डेढ सातादेखि जिल्लाको कृषिजन्य उत्पादन बिक्री ठप्प छ,' उनले भने, 'व्यापारीले न किसानलाई पेमेन्ट दिन पाएका छन् न त भारतबाट कुनै सामग्री किनेर ल्याउनै।' उनले व्यापारीलाई परेको समस्याबारे नेपाल उद्योग वाणिज्य महासंघमा पनि जानकारी दिइसकेको बताए।

५ सय र हजार दरका भारु नोट नचल्दा अघिल्लो बुधबारदेखि नै जिल्लाको कृषिजन्य उत्पादनको बिक्री ठप्प छ। अदुवा, अलैंची, कुचो, चियालगायत कुनै कृषि उत्पादनको कारोबार हुन सकेको छैन। अलैंची, अदुवा र मटरको मुख्य सिजनमै बिक्री रोकिँदा दैनिक करोडौं रुपैयाँको कृषि उत्पादन नष्ट हुने अवस्था आएको संघले जनाएको छ। भारतीय व्यापारीले सय दरका नोट अभाव भएको र दिन झन्झट मानेकाले कृषि उत्पादनको बिक्री रोकिएको अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले जानकारी दिए।

बर्सेनि करिब २ करोडको कुचो र १ करोड रुपैयाँको अदुवा भारतीय बजारमा बिक्री गर्ने फिक्कलमा व्यापारी मनरथ अधिकारीले भारतीय व्यापारीबाट सीमावर्ती क्षेत्रमा व्यापारीले लाखौं रुपैयाँको भुक्तानी लिनसमेत बाँकी रहेको बताए। 'यहाँका प्रत्येकजसो व्यापारीसँग अहिले पनि हजारदेखि ५–७ लाख रुपैयाँको भारतीय नोट अलपत्र छ,' उनले भने, 'आफूसँग भएको नोट अब के गर्ने भन्ने समस्या त छ नै, कारोबारका क्रममा उताका व्यापारीबाट लिन बाँकी भुक्तानीको समस्या झन् ठूलो छ।' उनले भारतीय नोट नचल्दा झन्डै २ सातादेखि सीमावर्ती क्षेत्रका व्यापारीको कारोबार नै बन्द भएको बताए।

जिल्लाको सन्दकपुरदेखि जिर्मलेसम्मको ९० किलोमिटरले भारतीय भूमि छोएको छ। पशुपतिनगर, फिक्कल, मानेभञ्ज्याङ, नयाँबजार, जौबारीलगायत बजारमा वर्षाैंयता भारतीय नोट नै बढी चलनचल्तीमा छन्। जिर्मले, समालबुङ, श्रीअन्तु, पशुपतिनगर, माबु, जोगमाई, जमुना र गोर्खेलगायत गाविस भारतीय सीमामा पर्छन्। भौगोलिक रूपमा नजिक, व्यापारिक सहजता र सामाजिक सम्बन्ध पनि प्रगाढ रहेकाले पूर्वका सीमावर्ती क्षेत्रमा भारतीय नोटको कारोबार बढी हुने गरेको छ।

जिल्लामा अदुवा, अलैंची, कुचो र मटरको मुख्य कारोबार गर्ने बिब्ल्याँटे बजारका व्यापारी ज्ञानेन्द्र पौडेलले बिल्याँटे बजारमै १५–२० लाख रुपैयाँ बराबरको भारतीय नोट साट्न नपाएर समस्या भइरहेको बताए। व्यापारी र सर्वसाधारणले दिनपिच्छे भारतीय नोट साट्न नपाएर भइरहेको समस्या सुनाइरहेको उनको भनाइ छ। 'भारतीय बजारमै यहाँको सामान बिक्री गरेपछि व्यापारीसँग त भारतीय नोट हुने नै भयो,' उनले भने, 'भारतीय नोट साट्न नपाएका सर्वसाधारणसमेत दिनहुँ साट्ने उपाय खोज्दै आउने गरेका छन्।'

उनले हजारौं सर्वसाधारणले भारतीय बजारमा उपचार गराउन जम्मा गरेको भारु अलपत्र परेको बताए। भारु नोट नचलेका कारण कृषिजन्य उत्पादनको बिक्री शून्य हुँदा किसानलाई समेत सोझो असर पुगेको उनको भनाइ छ।  'गाउँका प्रत्येकजसो सर्वसाधारणसँग १०–१५ हजार रुपैयाँका दरले भारतीय नोट रहेछ,' व्यापारी पौडेलले भने, 'एकातिर आफूसँग भएको नोट नचल्नु र अर्कातिर आफूले वर्षभर मेहनत गरेको कृषि उत्पादन नबिक्नुले किसान सबैभन्दा ठूलो समस्यामा छन्।'

सीमावर्ती बजार पशुपतिनगरका व्यापारी हृदयनारायण गुप्ताले भारतीय बजारबाट सामान ल्याउन नपाउँदा व्यापारमा ठूलो असर पुगेको बताए। 'ठूला नोट नभएकाले उता (भारत)बाट सामान किनेर ल्याउन पाएको छैन,' खाद्यान्नको कारोबार गर्ने गुप्ताले भने, 'सीमा क्षेत्रका सबैजसो सर्वसाधारणले पनि भारतीय नोट नै चलाउने भएकाले उनीहरूको क्रय क्षमतामै समस्या देखिएको छ।'

मजदुर बढी मारमा

भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली मजदुर पछिल्लो 'नोटबन्दी'ले सबैभन्दा बढी मारमा परेका छन्। काम गरिरहेको ठाउँमा भारु पैसा साट्न कुनै कानुनी उपाय नहुने, नेपालमा आएर साट्दा ज्यादै कम्ती भाउमा सटही गर्नुपर्ने भएपछि मिहेनतले आर्जेको पैसा उनीहरुका लागि कागजको खोस्टा सरह बनेको हो।

आइतबार बिहान बाहुनडाँगीका पाला किसान हातमा भारु ५ हजार रुपैयाँ बोकेर काँकडभिट्टामा निकैबेर भौंतारिए। उनीसँग २ वटा हजार र अरु ५ सयका नोट थिए। काँकडभिट्टाका मनि चेन्जरमा साट्न भनेर जाँदा सबैले एक हजारको १३ सयसम्ममा भए साटिदिने बताए। १ हजारमा ३ सय रुपैयाँ नोक्सानी बेहोर्दा उनले ५ हजारमा १५ सय चोखो गुमाउनुपर्ने भयो। उनी नोट नसाटी सिलिगुढीतिर लागे। सिलिगुढीको ट्रक स्टेसनमा लोड–अनलोडको काम गर्ने पालाले भने, 'हामी गरिबले भारी बोकेर कमाएको पैसा कहाँ त्यत्रो घाटा खाएर साट्नु?' अब सिलिगुढी गएरै केही उपाय खोज्ने उनले बताए।

तर, सामान्य मजदुरी गर्ने उनीजस्ता धेरै नेपालीका लागि यतिबेला भारतमा नोट साट्ने बाटो लगभग बन्द छ। हरेक भारतीय नागरिकका लागि अढाइ लाखसम्मको सटही हुने भए पनि रोजगारदाताले आफ्ना मजदुरको पैसा साटिदिन पहल गर्नसक्ने अवस्था छैन। किनभने अढाइ लाखभन्दा माथिको रकम भए आयस्रोत खुलाउन्ु पर्ने, अन्य कानुनी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता छ। जसका कारण रोजगारदाता स्वयं तनावमा छन्। यस्तो बेलामा नेपाली मजदुरसँग भएका नोट आफूले लिइदिने अवस्था नभएको जानकार बताउँछन्। यस्तो अवस्थाले भारतमा गएर पाखुरी बजाएर गुजारा चलाउने नेपाली मजदुरको बिचल्ली हुने भएको छ। 

झापाका अधिकांश बजार भारु–नेरु सराबरी चल्ने बजार हुन्। अझ भद्रपुर, धुलाबारी, काँकडभिट्टा लगायत सीमावर्ती बजारमा भारुकै कारोबार बढी हुँदै आएको छ। तिनै बजारका जानकारका अनुसार अहिले भारतमा कार्यरत मजदुर आफूसँग भएका नोट साट्न धमाधम नेपाल आइरहेका छन्। उनीहरुलाई स्थानीय मनि चेन्जरले ज्यादै सस्तो दरमा नेपाली रुपैयाँ साटिदिइरहेका छन्।

भारु हजार र ५ सयको नोटमा प्रतिबन्ध लागेपछि भारत र नेपालका बिचौलिया सस्तो दरमा साटेर कुस्त नाफा कमाउने खेलमा लागेका छन्। यसको सबैभन्दा ठूलो मार मजदुर माथि परेको छ। 'पहुँच हुनेहरु, धेरै रकम हुनेहरुले भारतीय नोट सल्टाइसके,' काँकडभिट्टाका व्यवसायी लक्ष्मी कार्की भन्छन्, 'कसैले आफन्तलाई, कसैले व्यापार साझेदारलाई दिएर सल्टाए। तर, मजदुरको बिजोग छ।' उनका अनुसार मजदुरसँग भएका नोट भारतमा अहिले साटिन्न। त्यसका लागि नेपालै आउनुपर्छ। नेपालमा पनि भारु १ हजारको बढीमा १३ सयसम्म र ५ सयको ६ सयमा मात्रै मनि चेन्जरले साटिरहेका छन्। यसले गर्दा मजदुरसँग भएको भारतीय नोट कागजको खोस्टा साबित हुने खतरा बढेको छ।

मनी चेनजरको क्षेत्रमा काम गरिरहेकाहरुका अनुसार नेपाली बजारमा अहिले पनि मनी चेन्जर, व्यापारी, होटल व्यवसायी, ट्राभल सञ्चालक, कृषि वस्तुका व्यापारी सबैसँग प्रशस्त भारु नोट छ। 'काँकडभिट्टा क्षेत्रमा मात्रै कम्तीमा ५ करोड रुपैयाँ भारु रहेको अनुमान छ,' एकजना मनी चेन्ज व्यवसायीले भने, 'त्यसमा ठूला र पहुँच भएकाहरुको कुनै न कुनै उपायले समस्या समाधान हुन्छ। सर्वसाधारणले कि सस्तो दरमा साट्नुपर्‍यो कि पैसा माया मार्नुपर्‍यो।' तर, ज्यादै परिश्रम गरेर आर्जेको रकमका हकमा यी दुवै विकल्प रोज्न सर्वसाधारणलाई गाह्रो छ। 'त्यसैले अब धेरै सर्वसाधारण डुब्ने खतरा छ,' मनी चेन्ज व्यवसायी राजु पोखरेल भन्छन्, 'अब सरकारले नेपालमा भारु प्रचलनमै प्रतिबन्ध लगाउनुपर्छ। अनि केही राहत होला कि!'

नगदेबालीको व्यापार ठप्प

भारतीय बजारमा पूर्वी पहाडबाट निकासी हुने अलैंची, अदुवा र चिराइतोको खरिद–बिक्री बन्द भएको छ। पहिले किसानले उत्पादन गर्नेबित्तिकै खरिद गर्न घरमै पुग्ने व्यापारी अहिले नकिन्ने भनेर बसेका छन्। अलैंची, अदुवा र चिराइतोले भरिने व्यापारीको गोदाम रित्तो छ।

भारतीय नोटकै समस्याको कारण प्रतिकेजी २ हजार ५ सयमा खरिद–बिक्री भएको अलैंची एक हजारमा झरेको छ। अझ किसानलाई प्रतिकेजी ७ देखि ८ सय रुपैयाँमात्रै दिने गरेको अलैंची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङले बताए। अहिले अलैंची खेती गर्न हौसिएका किसान निराश हुन थालेको तितुङले बताए। बिर्तामोडमा भएको अलैंची व्यवसायी संघको भेलाले ५० दिनसम्म अलैंची खरिद–बिक्री नगर्ने निर्णय समेत गरेको छ। 

नेपालको अलैंचीको भारतीय व्यापारीमार्फत अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ। त्यसैले भारु नोटमा आएको समस्याको कारण भारतीय व्यापारीले पैसा दिन सक्दैन। यसको प्रत्यक्ष असर नेपालमा परेको अध्यक्ष तितुङले बताए। भारतीय व्यापारीलाई अलैंची दिए पनि पैसा आउँदैन। भारु ५ सय र हजार दिन खोज्छ। त्यो नलिने भए किन्दिन भन्छ। त्यसैले यसको असर नेपालका व्यापारी र किसानलाई परेको छ। भारु नोटको समस्या नसुल्भि्कएसम्म अलैंचीको खरिद बिक्री बन्द भएको तितुङ बताए। 

अलैंचीको मूल्यमा निरन्तर भइरहेको गिरावटले पनि खरिद–बिक्रीमा असर गरेको छ। मूल्यमा आएको गिरावटले किसान र व्यापारीलाई निकै ठूलो आर्थिक घाटा हुुने अवस्था आएको छ। बैंकबाट ब्याजमा ऋण लिएर प्रतिमन ९० हजारसम्म खरिद गरेका छौं। अहिलेको मूल्य ४० देखि ५० हजार रुपैयाँ मात्रै छ। अब मूल्यवृद्धि नभए ठूलो नोक्सानी बेहोर्नुपर्ने अलैंची व्यापारी तेजप्रसाद राईले बताए। मूल्य कति हुने हो टुंगो नलागेपछि खरिद–बिक्री नै नभएको राईले बताए। मूल्यमा गिरावट आएपछि गएको वर्ष खरिद गरेको अलैंची निकासी हुन सकेको छैन। भारतीय नोटको समस्याको कारण व्यापारीसँग पैसा छैन। त्यसैले पहिले खरिद गरेको माल पनि बिक्री गर्न सकेको छैनौं। अहिले  सस्तोमा भेटेपनि किन्न नसक्ने अवस्था आएको व्यापारी राईले बताए।

अघिल्लो आर्थिक वर्षमा मात्रै धनकुटा जिल्लाका किसानले अलैंची बिक्री गरेर करीब २७ करोड रुपैयाँ आम्दानी गरेको अभिलेख जिल्ला कृषि विकास कार्यालयमा छ। मूल्यमा आएको निरन्तर गिरावटले किसानको आम्दानी समेत घट्ने भएको छ।

त्यस्तै धनकुटा अदुवाको खरिद–बिक्री पनि ठप्प भएको छ। व्यापारीले किसानबाट अदुवा किन्न छाडेका छन्। पहिले किनेको अदुवा बिक्री नभएर गोदाममा थुप्रिएको छ। भारत निकासी गर्ने व्यापारीले अदुवा किनेर भारु नोट दिन खोज्छ। भारु नोट लिनुभन्दा खरिद–बिक्री नै बन्द गरेको हिलेबजार धनकुटाका व्यापारी भुपाल राईले बताए। प्रतिकिलो २५ रुपैयाँमा करोबार भइरहेको अदुवाको भाउ अहिले १५ रुपैयाँमा झरेको छ। 

यतिबेला अदुवा खनेर निकाल्ने सिजन हो। किसानले बजारमा ल्याएको अदुवा १० रुपैयाँ किलो बिक्री हुन समेत मुस्किल पर्छ। त्यसैले अधिकांश किसानले बारीबाट अदुवा निकालेका छैनन्। व्यापारीले अदुवा खरिद नगर्ने भनेकाले बारीमै कुहिने अवस्था आएको छिन्ताङ–४ का किसान हेमकुमार दुमीले बताए। धनकुटा जिल्लाका किसानले अदुवा बिक्री गरेर वार्षिक १५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको जिल्ला कृषि विकास कार्यालयको अभिलेख छ।

त्यस्तै प्रतिमन ४० हजार हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको चिराइतो १० हजारमा झरेको छ। चिराइतो बिर्तामोडका व्यापारीमार्फत भारतीय बजारमा निकासी हुन्छ। भारु नोटको समस्याकै कारण खरिद–बिक्री गर्न छाडेको व्यापारीले बताए। 

प्रकाशित: ६ मंसिर २०७३ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App