नेपालगन्ज- नेपालगन्ज पिस म्याराथनको दोस्रो संस्करणमा नेपाली सेनाका खेलाडीले बर्चस्व जमएका छन्। आइतबार नेपालगन्जमा सम्पन्न म्याराथनमा उत्कृष्ठ आठमध्ये ६ स्थानमा सेनाका धावक आए। सेनाका कृष्ण वस्नेतले ४२.१९५ किलोमिटर दुरीको दौड २ घन्टा २६ मिनेटमा पूरा गरेर प्रथम स्थान हासिल गरे। दोस्रो र तेस्रो स्थानमा सेनाकै खगेन्द्र भाट र खड्कबहादुर खड्का आए। उनीहरुले क्रमशः २ घन्टा ३० मिनेट र २ घन्टा ३४ मिनेटमा दौड पूरा गरेका थिए। आयोजक क्रियटिभ ह्याण्ड्सले उत्कृष्ट आठ धावकलाई पुरस्कृत गरेको थियो। त्यसमा छैठौं र सातौंबाहेक सबै सेनाका धावक थिए। म्याराथनमा पहिलो हुनेलाई ५१ हजार रुपैयाँले पुरस्कृत गरियो।
महिला हाफ म्याराथनमा सशस्त्र प्रहरी बलको एपिएफकी कान्छीमाया कोजु च्याम्पियन भइन्। हाफ म्याराथनमा खिममाया बुढा दोस्रो तथा पुश्पा भण्डारी तेस्रो भए।
यसैगरी पाँच किलोमिटर स्कुल स्तरीय दौडमा सागर बुढाथोकी, नरेश बुढा र हेमराज थापा क्रमशः प्रथम, दोस्रो र तेस्रो भए। त्यस्तै, चार सय मिटर ह्वीलचियर दौडमा कलमबहादुर बस्नेत प्रथम भ एभने नन्कू चौधरी दोस्रो र यज्ञबहादुर थापा तेस्रो भए।
आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले वृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ को अवसरमा शान्ति र सद्भावको लागि वर्षेनी पिस म्याराथन गर्ने गरिएको बताए। प्रतियोगिताको सफलताबाट उत्साहित भएको बताउँदै उनले आगामी वर्षमा प्रतियोगितालाई थप परिस्कृत गर्दै लाने योजना सुनाए। म्याराथनको उद्घाटनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस्ता प्रतियोगिताले शान्ति र सद्भावमा टेवा पुर्याउनुका साथै खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुने बताए।
प्रकाशित: ६ मंसिर २०७३ ०३:५९ सोमबार