coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भिजिट नेपाल सफल पार्न स्तरोन्नतिमा जोड

उदयपुर - उदयपुरलगायत माथिल्लो सगरमाथाका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्न सिद्धिचरण लोकमार्गको स्तरोन्नति र मर्मत गर्नुपर्नेमा जोड दिएका छन्। सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जोड्ने जीर्ण सिद्धिचरण सडक तत्काल मर्मत र स्तरोन्नति नगरे भिजिट नेपाल वर्ष सफल हुन बाधा पुग्ने सांसदहरूको ठहर छ।

उदयपुर २ (१) नं. बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद कला घलेलगायत खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ८ जना प्रदेशसभा सांसदको टोलीले राष्ट्रिय योजना आयोगलाई संयुक्त निवेदन दिँदै सो लोकमार्ग मर्मत र स्तरोन्नति कार्य तत्काल गर्नुपर्ने माग गरेका हुन्। भिजिट नेपाल वर्षमा २० लाख पर्यटक भि¥याउने लक्ष्य राज्यले लिएको भए पनि सडक जीर्ण हुँदा पर्यटक आउन नसक्ने भन्दै सांसद समूहले पूर्वको प्रसिद्ध त्रि–धार्मिक तीर्थस्थल हलेसीसम्म पुग्ने मुख्य नाका सिद्धिचरण लोकमार्गको तत्काल मर्मत र स्तरोन्नति गर्नुपर्ने जिकिर गरेको छ।

‘मिर्चैया–कटारी–घुर्मी खण्डको सडक दुर्दशाबारे धेरैलाई अवगत नै छ, उक्त सडकलाई समयमै स्तरोन्नति मर्मत नगर्दा कटारी नगरवासी, ओखलढुंगा, खोटाङ र सोलुवासी जनता मारमा परेका छन्’ संयुक्त निवेदनमा भनिएको छ ‘सडकको दूरावस्थाका कारण प्रदेश राजधानी विराटनगर जान–आउन पनि हामी जिल्लावासीलाई धेरै कठिनाइ भइरहेको छ।’ उनीहरूले पौने घण्टामा छिचोल्नुपर्ने कटारी–घुर्मी खण्डको ४६ किलोमिटर दूरी पार गर्न जीर्ण भएकै कारण अहिले साढे ३ घण्टा लगाउनुपरेको गुनासो गरेका छन्। तत्काल जीर्ण सडक मर्मत र स्तरोन्नति नगर्दा धेरै जनतालाई सास्ती भोग्नुपरेको पीडा सांसदहरूले निवेदनमा ओकलेका छन्।

‘भिजिट नेपालको नारा कार्यान्वयनका लागि नेपाली मात्र नभएर भारतीय पर्यटक पनि उत्तिकै आउने अपेक्षा गरिएको होला’ निवेदनमा सांसदहरूको प्रश्न छ ‘यो हालतको सडक भएर भारतीय नागरिक कसरी नेपाल आउँछन्, कसरी भक्तजन हलेसी पुगेर दर्शन गर्लान् ?’ भिजिट नेपाललाई लक्षित गरेरै भए पनि मिर्चैया–कटारी–घुर्मी खण्डमा चाँडोभन्दा चाँडो कालोपत्रे गर्न पनि उनीहरूले आयोगको ध्यानाकर्षण गराएका छन्। हिन्दु–किरात–बौद्ध धर्मावलम्बीको त्रि–धार्मिकस्थल हलेसी दर्शन गर्न आउनेमध्ये भारतीय भक्तजनको संख्या बर्सेनि उल्लेख्य रहेको भन्दै सांसदहरूले उनीहरूलाई हलेसी आउ–जाउमा सहज बनाउन सो लोकमार्गमा कालोपत्रे गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन्।

स्थानीय आवश्यक्तासँगै भिजिट नेपाल सफल पार्न नेपालीसँगै भारतीय भक्तजन र पर्यटकको उत्तिकै खाँचो पर्ने सांसद कला घले बताउँछिन्। आप्mनो निर्वाचनक्षेत्र अन्तरगत पर्ने उक्त सडकमा बर्सेनि मर्मत गर्न लाखौं खर्च हुने गरेको सुनेको भन्दै घलेले तर, दीगो र टिकाउ नभएकाले हरेक वर्ष खर्च हुने रकम ‘बालुवामा पानी’ सावित हुँदै आएको बताईन्। उनले यसअघि पनि प्रदेश संसदमा यस विषयमा पटक पटक आवाज उठाईसकेको बताईन्। सो सडक स्तरोन्नतिसहित कालोपत्रे गरे मात्र टिकाउ हुने भन्दै सांसद घलेले अन्यथा सरकारले घोषणा गरेको भिजिट नेपाल कार्यक्रम असफल हुने कारण सडक नै हुने उनको चिन्ता छ।

आयोगलाई लेखिएको निवेदनमा घलेसँगै खोटाङका प्रदेश सांसदहरू राजन राई, रामकुमार राई र उषाकला राईले हस्ताक्षर गरेका छन्। त्यस्तै ओखलढुंगाका सांसदहरू मोहनकुमार खड्का र अम्बिरबाबु गुरुङ तथा सोलुखुम्बुबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उत्तमकुमार बस्नेत र बुद्धिकुमार राजभण्डारीले पनि निवेदनमा हस्ताक्षर गरेका छन्। वर्षौंदेखि जीर्ण सडकको मर्मतको नाममा बर्सेनि लाखौं खर्च गर्ने गरिए पनि दीगो र टिकाउ हुन नसकेको भन्दै स्थानीयले पनि बेला बेलामा सो सडकको दीगोपनाको माग गर्दै आएका छन्।

सिरहाको चन्द्रोदयपुरमा सञ्चालित निजी लगानीको मारुती सिमेन्ट उद्योगमा लाग्ने चुनढुंगा सिन्धुलीको ककरुठाकुरस्थित खानीबाट टिपरमार्फत उदयपुरको कटारी हुँदै आपूर्ति गर्ने गर्दा सडक टिकाउ नहुने स्थानीयको भनाइ छ। चन्द्रोदयपुर आउँने सडक घुर्मीदेखि मिर्चैया खण्डभित्र कटारी नगरपालिकाका १, २, ३, ४ ८, ९ नं. वडा भएर आउने हुनाले अत्याधिक भारी तौलका टिपरले क्षमताभन्दा बढी भारवहन गर्नुपर्दा सडक मर्मत गरेको महिना नपुग्दै भत्कने गरेको स्थानीय अभि लामिछानेले बताए। चुनढुंगा बोकेका सयौं टिपर दैनिक चल्ने हुनाले सबभन्दा बढी कटारी नगरपालिका क्षेत्रमा हानी पु¥याउने गरेका लामिछानेको भनाइ छ।

०५६ सालमा नेपाली सेनाको तत्कालीन कालीवक्स गणले निर्माण गरेको मिर्चैया–कटारी–घुर्मी खण्डको रेखदेख र मर्मत सम्भारको सम्पूर्ण जिम्मेवारी डिभिजन सडक कार्यालय लहान सिरहाले लिएको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App