coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रुपन्देही अन्तिम चारमा

झापा- दीपक राईले उत्कृष्ट प्रदर्शन गरेपछि रुपन्देही–११ ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै सहारा सुरुङ्गा गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। रुपन्देहीको जितमा दिपक राईले दुवै गोल गरे। आर्मीको तर्फबाट राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासले एक गोल फर्काए।

शनिबार फ्रेन्ड्स अफ जापानसँग काठमाडौंमा नेपाली राष्ट्रिय टोलीका लागि उपकारी खेल खेलेका भरतसँगै स्ट्राइकर नवयुग श्रेष्ठ आइतबार सुरुङगा गोल्ड कप खेल्न झापा पुगेका थिए। तर आर्मी पहिलो खेलमै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ।

आर्मीले गत वर्ष झापाली मैदानमा झापा गोल्ड कपको उपाधि जितेको थियो। विर्तामोडको डोमालाल रंगशालामा मनाङ मर्स्याङ्दीलाई हराउँदै आर्मीले त्यतिबेला झापा यात्रालाई सुखद बनाएको थियो। तर आइतबार भरत र नवयुग २४ घन्टा भन्दा कम समयको आरामका भरमा मैदान उत्रिँदा आर्मी निराश हुनुपर्‍यो। 

उपाधिको बलियो दाबेदारका रुपमा झापा आइपुगेको आर्मीले शुरुमै आक्रामक खेल्ने संकेत देखाएको थियो। तर, रुपन्देहीको रक्षापंक्तिले आर्मीका मुख्य हतियार भरत र नवयुगलाई सहज रुपमा खेल्न दिएनन्। खेलमा रुपन्देही हावी हुँदै गएपछि आर्मी निराश बन्दै गएको थियो।

३५ औं मिनेटमा रुपन्देहीका लागि दीपकले गोल गरेर अग्रता दिलाए। नेपाली राष्ट्रिय टोलीका खेलाडी रजिन धिमालको पासमा दीपकले गोल गरेका थिए। १–० ले पछि परेपछि आर्मीले केही समय रक्षात्मक खेलेको थियो।

५२औं मिनेटमा दीपकले अर्को गोल गर्दै रुपन्देहीले अग्रता दोब्बर बनाए। रुपन्देहीलाई सेमिफाइनलको बाटोमा डोर्‍याएका दीपक म्यान अफ दी म्याच भए।

दुई गोलले पछि परेको आर्मीले खेलमा फर्कन प्रयास गरेको थियो। तर सफल हुन सकेन। आर्मीका कप्तान भरत खवासले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेन। खेलमा आर्मीले पेनाल्टी बक्स नजिकै चारवटा फ्रि–किकको अवसर पाएको थियो। तर त्यसमा टोली सफल हुन सकेन।

७९ औं मिनेटमा भरतले गोल गरेर आर्मीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर त्यसपछि आर्मीले रुपन्देहीको रक्षापंक्तिलाई तोडन सकेन। आइतबार फिफा रेफ्री लव खत्रीले पाँच पंहेलो कार्ड देखाएका थिए। कन्काई मावि खेल मैदानमा भैरहेको प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १ सय ११ तथा उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउने छन्।

सोमबार प्रतियोगितामा झापा–११ र सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: ६ मंसिर २०७३ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App