७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

साउदी तेल प्रशोधनस्थल आक्रमण : ‘इरान संलग्न रहेको प्रमाण भेटियो’

वासिङ्टन – साउदी अरबका तेल प्रशोधनस्थलमा शनिबार बिहान सबेरै भएका आक्रमणमा इरान संलग्न भएको भन्दै अमेरिकाले प्रमाण सार्वजनिक गरेको छ। वासिङ्टनले आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै शनिबारको आक्रमणमा इरानको संलग्नता रहेको बताएको हो। उसले प्रमाणस्वरूप तेल प्रशोधनस्थलका भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गरेको छ।

यमनमा युद्धरत हुथी विद्रोही समूहले जिम्मेवारी लिएको शनिबारको ड्रोन हमलामा आफ्नो कुनै संलग्नता नरहेको दाबी इरानले गरिरहेको छ। यमनमा संघर्षरत हुथी विद्रोही समूहलाई इरानको समर्थन रहँदै आएको छ।

तर अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरुले जुन दिशा र क्षमतामा आक्रमणहरु भएका छन् त्यसबाट हुथी विद्रोही संलग्न भएको पत्याउन नसकिने आशय व्यक्त गरेका छन्।

साउदीका दुई विशाल तेल प्रशोधनस्थलमा ड्रोन हमला भएपछि विश्वव्यापी रूपमा तेल आपूर्ति पाँच प्रतिशतले घटेको छ भने तेलको मूल्य बढेको छ। आक्रमणपछि साउदी अरबले तेल तथा ग्यास उत्पादनमा कटौती गरेका कारण तेलको मूल्य बढेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोझै इरानलाई दोषारोपण गरेका त छैनन् तर आइतवार ट्विट गर्दै उनले दोषीमाथि सम्भावित सैन्य कारबाही गर्ने संकेत भने दिएका छन्।

अमेरिकाले के भनिरहेको छ ?
आइतबार मात्रै पनि कुनै प्रमाण उपलब्ध नगराइन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबारको आक्रमणमा इरानको संलग्नता रहेको बताएको थियो। पोम्पेओको आरोपलाई तेहरानले भने अमेरिकी ‘जालझेल’को संज्ञा दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोझै इरानलाई दोषारोपण गरेका त छैनन् तर आइतवार ट्विट गर्दै उनले दोषीमाथि सम्भावित सैन्य कारबाही गर्ने संकेत भने दिएका छन्। साउदीको तेल प्रशोधनस्थलमा भएका आक्रमणमा इरानी संलग्नता रहेको बारे बोलेका अमेरिकी अधिकारीहरुको नाम उल्लेख नगरीकन न्युयोर्क टाइम्स, एबिसी तथा रोयटर्सजस्ता समाचार संस्थाले समाचार प्रकाशन गरिरहेका छन्।

एक अधिकारीले यमनबाट नभएर पश्चिम तथा पश्चिमोत्तर दिशाबाट आक्रमण भएको बताएका छन्। यमन साउदी अरबको दक्षिणमा रहेको छ। त्यसैले उत्तरी खाडी, इरान वा इराकतिरबाट साउदी अरबका तेल प्रशोधनस्थलमा आक्रमण भएको हुन सक्ने अमेरिकी अधिकारीहरुको भनाइ छ। न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै  जनाएअनुसार आक्रमणमा ड्रोन र क्रुज क्षेप्यास्त्र प्रयोग भएको हुनसक्छ। तर ती सबै अबकाइकस्थित प्रशोधन केन्द्र र खुराइजस्थित तेल खानीसम्म भने नपुगेको ती अधिकारीहरुले बताएका छन्। अर्को समाचार संस्था एबिसीले नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा इरान संलग्न भएकोबारे राष्ट्रपति ट्रम्पलाई जानकारी रहेको जनाएको छ।

तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि
साउदी अरबले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ। साउदी अरबका दुई ठूला इन्धन प्रशोधनस्थलमा शनिबार बिहानै ड्रोन आक्रमण भएपछि उसको तेल उत्पादनमा प्रभाव परेको छ।

ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रतिब्यारेल करिब १२ अमेरिकी डलर वृद्धि भएको छ भने डब्लुटिआईमा पनि कच्चा तेल प्रतिब्यारेल करिब १५ प्रतिशत अर्थात् आठ डलर बढेको छ। सन् १९८८ यता एकैदिन पहिलो पटक त्यति उच्च वृद्धि भएको ब्लुमबर्गले टिप्पणी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घटेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App