६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

निर्णायक वार्ताका लागि उत्तर कोरिया सकारात्मक

प्योङयाङ – उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँग ‘निर्णायक’ वार्ताका लागि तयारी वार्ता गर्न आफू सकारात्मक रहेको सोमबार जनाएको छ । ‘अमेरिका–उत्तर कोरिया वार्ताका लागि कि त सम्बन्ध सुधार गर्ने कि तनावको सामना गर्ने दुई विकल्प रहेका छन्,’ राज्य सञ्चालित कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए) ले विदेश मन्त्रालय अन्तर्गत अमेरिकी मामिला विभागका महानिर्देशकलाई उद्धृत गर्दै भनेको छ ।

‘निकट भविष्यमा हुन लागेको छलफल अमेरिका र उत्तर कोरियाबीचको आगामी बाटो तय गर्नका लागि निर्णायक हुने भएकाले प्योङयाङले यसबीचमा गरिने पहलहरुलाई स्वागत गर्नेछ,’ नाम उल्लेख नगर्ने शर्तमा एक उत्तर कोरियाली अधिकारीले भने, ‘चेतावनी र तनावलाई अन्त्य गर्दै हाम्रो प्रणाली विकासको सुरक्षा र अवरूद्धताबारे देखिएका आशंकालाई हटाएर अघि बढेमा निःशस्त्रीकरणबारे वार्ता र छलफललाई अघि बढाउन सकिन्छ ।’

निकट भविष्यमा हुन लागेको छलफल अमेरिका र उत्तर कोरियाबीचको आगामी बाटो तय गर्नका लागि निर्णायक हुने भएकाले प्योङयाङले यसबीचमा गरिने पहलहरुलाई स्वागत गर्नेछ ।

यसै बर्षको फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको शिखर सम्मेलनबिना कुनै निष्कर्ष टुंगिएको थियो । उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्ध हट्नु पर्ने शर्त राखेपछि ट्रम्प र किमबीचको बैठक निर्दिष्ट लक्ष्यमा पुग्न सकेको थिएन । वार्ता बिनानिष्कर्ष टुंगिएपछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा त्यसपछि थप प्रगति हुन सकेको छैन ।

परम्परागत दुई शत्रु राष्ट्र अमेरिकाको बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा पहिलो ऐतिहासिब शिखर बैठक भएको थियो । सो बैठकमा उत्तर कोरियाले सुरक्षा प्रत्याभूतिको विकल्पमा आफ्ना आणविक कार्यक्रम त्याग्ने र कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्नका लागि संयुक्त राज्य अमेरिकासँग मिलेर काम गर्नेबारे सहमति भएको थियो । उत्तर कोरियाले सोहीबमोजिम केही कदम पनि चालेको थियो । यद्यपि आफूमाथि लागको प्रतिबन्ध नहटेको भन्दै उसले दोस्रो शिखर बैठकमा भने आवाज उठायो र बैठक बिना कुनै निष्कर्ष टुंगियो ।
त्यसपछि उसले केही साना र छोटा दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरे पनि अमेरिकासँगको वार्तालाई पनि अगाडि बढाउन चाहिरहेको सन्देश बेलावखत सार्वजनिक गर्दै आइरहेको छ ।

प्रकाशित: ३१ भाद्र २०७६ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App