coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'मापदण्ड नबन्दा घर बनाउन पाइएन'

ललितपुर- भूकम्प गएको १८ महिना बितिसक्दा पनि सम्पदा क्षेत्रका भूकम्पपीडितले आवास निर्माण गर्न पाएका छैनन्। सरकारले भवन निर्माणसम्बन्धी मापदण्ड नबनाउँदा ललितपुरका सम्पदा क्षेत्रका अघिकांश भूकम्पपीडित घर निर्माण गर्न अलमलमा परेका छन्। सरकारले सहरका भित्री, पुराना र सम्पदा बस्तीमा भत्केका घर पुनर्निर्माणसम्बन्धी मापदण्ड तयार पार्न नसक्दा पीडित जाडोमा शिविरमै बस्न बाध्य छन्। 

सरकारले सम्पदा क्षेत्र, भित्री र पुराना बस्तीका लागि छुट्टै मापदण्ड ल्याउने भन्दै आएको भए पनि अहिलेसम्म नल्याएपछि भूकम्पपीडित अन्योलमा परेका हुन्। मापदण्ड नआएकाले अहिले ललितपुरका खोकना, पाटन, मंगलबजार, बुङमतीलगायत क्षेत्रका भूकम्पपीडितले घरको नक्सा पास समेत गर्न पाएका छैनन्। 'नयाँ बनाउँ पैसा छैन, पुरानै ठाउँमा बनाउँ नक्सापास हुँदैन,' ललितपुर चापागाउँका हरिरत्न महर्जनले भने, 'सरकारको पहिलेको मापदण्ड पालना गर्ने हो भने पुरानो घर भएको जग्गामा घर बन्दैन, नयाँ मापदण्ड कहिलेसम्म पर्खिने?'

उनीजस्तै अलमलमा परेका अर्का भूकम्पपीडित हुन् खोकनाका श्याम माली। भूकम्पमा घर भत्केपछि टहरामा बस्दै आएका उनले नयाँ घर बनाउन नगरपालिका जाँदा नक्सापास नभएको गुनासा गरे। उनी भन्छन्, 'कस्तो मापदण्ड हो, हामीलाई जानकारी छैन। अन्यत्र गएर घर बनाउन जग्गा छैन, पुरानै जग्गामा बनाउन खोज्दा नक्सा पास भएन।'

सहरका भित्री बस्ती र सम्पदा क्षेत्र आसपास एक/दुई पैसा जग्गामा घर बनाउनेहरू अहिले तनावमा छन्। कतिपय भूकम्पपीडित भने नक्सा पास नै नगरी धमाधम घर बनाउन थालेका छन्। 'भूकम्प गएको एक वर्षसम्म नयाँ मापदण्ड आउँछ कि भनेर कुर्‍यौं, बुङमतीका सरोज मालीले भने, 'चापागाउँमा मापदण्ड नआएपछि नयाँ घरको जग हाल्यौं। अहिले नगरपालिकामा नक्सापास गर्न जाँदा सहरका भित्री बस्तीका लागि सरकारले नयाँ मापदण्ड ल्याएपछि मात्र नक्सापास हुने भन्छन्।'

यसबारे बज्रवाराही नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले भवन आचारसंहिता २०७२ मा सम्पदा बस्ती क्षेत्रमा नयाँ भवन पुनर्निर्माण गर्दा स्थानीय सात दलसँग छलफल गरि टुंगो लगाउन सकिने भएकालेसात दलसँग छलफल गरिरहेको बताए। उनले भने, 'एक साताभित्र बाक्लो बस्ती र सम्पदा क्षेत्रका स्थानीयले ढुक्कसँग घर बनाउन पाउँछन्।'  उनका अनुसार घर पुनर्निर्माण गरिसकेका सम्पदा क्षेत्रका पीडितले सडक र सार्वजनिक जग्गा नमिचेको भए नक्सापास हुन्छ।

बाक्लो र सम्पदा वरपरका बस्तीका भूकम्पपीडितले नयाँ मापदण्ड छिटो बनाउनुपर्ने र मापदण्डबारे आफूहरूलाई बुझाउनुपर्ने माग राखेका छन्। ललितपुर मंगलबजारका राजुकृष्ण ताम्राकार पनि नयाँ मापदण्ड पर्खेर बसेका छन्। उनी भन्छन्, 'छुट्टै मापदण्ड आए पनि भित्री बस्तीमा जोडिएका घर कसरी पुनर्निर्माण गर्ने हो सम्बन्धित नगरपालिकाले स्थानीयलाई परामर्श दिनुपर्‍यो।'

। मंगलबजारमा अहिलेे पनि कतिपय बासिन्दा भूकम्पमा चर्केका घरमा बस्दै आएका छन्। अन्यत्र गएर घर बनाएर बस्ने क्षमता नभएकाले चर्किएकै घरमा बस्न बाध्य भएको मंगलबजारका स्थानीय अशोक बज्राचार्यले जानकारी दिए।

यसबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी रामप्रसाद थपलियाले पुरातत्व क्षेत्रका बस्ती पुनर्निर्माण गर्न पुरातत्व विभागलाई जिम्मा दिएको बताए। 'हामीले स्थानीय विकास मन्त्रालय, सम्बन्धित क्षेत्रका नगरपालिका र स्थानीयसँग छलफल गरी सम्पदा क्षेत्रमा बस्ती पुनर्निर्माण गर्ने खाका तयार पारेका छौं,' पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, '१५ दिनमा मापदण्ड तयार हुन्छ, त्यसपछि स्थानीय तहमा पठाउछौँ।'

प्रकाशित: ६ मंसिर २०७३ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App