coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पहिले गिल्ला, पछि सम्मान


लन्डन– स्टिभ स्मिथले एक वर्षपछि अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा पुनरागमन गर्दा एड्गावास्टनमा उपस्थित समर्थकले उनलाई गिज्याएका थिए। खेल थियो– अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिष्ठाको लडाइँ मानिने एसेस टेस्ट शृंखलाअन्तर्गतको पहिलो खेल।

तर आइतबार उनै स्मिथ ओभलमा सम्पन्न पाँचौं टेस्टमा पवेलियन फर्कंदा भने मैदानमा उपस्थित समर्थकले उठेरै उनीप्रति सम्मान अर्पण गरेका थिए। जहाँ शृंखला २–२ को बराबरीमा सकिए पनि साबिक विजेताको हैसियतमा शृंखला अस्ट्रेलियाको पोल्टामा रह्यो। अस्ट्रेलियाली पूर्वकप्तान स्मिथले एक वर्षपछि टेस्ट क्रिकेटमा पुनरागमन गरे पनि त्यसलाई यादगार बनाउन सफल भए।

चोटका कारण तेस्रो टेस्ट गुमाएका स्मिथले खेलेका ७ इनिङमा ७ सय ७४ रन जोडे। अस्ट्रेलियाको इनिङमा उनको महत्वपूर्ण भूमिका रह्यो। आइतबार पाँचौं टेस्टको दोस्रो इनिङमा स्मिथलाई बेन स्टोक्सले क्याच गराउँदै पवेलियनको बाटो देखाएका थिए। घरेलु टोलीले अन्तिम टेस्ट १ सय ३५ रनले जितेको थियो।

हिलो टेस्टको दुवै इनिङमा शतक पूरा गरेका स्मिथले क्रमशः १ सय ४४ र १ सय ४२ रन बनाएका थिए। लर्ड्समा सम्पन्न दोस्रो टेस्टको पहिलो इनिङमा ९२ रन जोडेका स्मिथ जोफ्रा आर्चरको बलमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए। दोस्रो इनिङमा उनी मैदान उत्रिएनन् भने तेस्रो टेस्टमा टोलीमा अनुपस्थित रहे।

ओल्ड ट्राफोर्डमा सम्पन्न चौथो टेस्टमा उत्कृष्ट पुनरामन गरेका स्मिथले पहिलो इनिङमा दोहोरो शतक पूरा गर्ने क्रममा २ सय ११ रन र दोस्रो इनिङमा ८२ रनको योगदान गरे। ओभलमा भएको पाँचौ टेस्टमा उनको खातामा क्रमशः ८० र २३ रन रह्यो।

दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा बल टेम्परिङको घटनामा दोषी भएको पुष्टि भएसँगै स्मिथ र उपकप्तान डेविड वार्नरमाथि १ वर्ष र ओपनर केमरन बेनक्रफ्टमाथि ९ महिनाको प्रतिबन्ध लागेको थियो। स्मिथले इङ्ल्यान्डमै जुनमा एकदिवसीय विश्वकपमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका थिए। जहाँ पहिलो खेलमा उनलाई गिज्जाएका थिए।

स्मिथका लागि विश्वकप व्यक्तिगत रूपमा उत्कृष्ट रहे पनि उनको टोली अस्ट्रेलियाले भने सेमिफाइनलभन्दा माथि उठ्न सकेन। तर एसेसमा पुनरागमन गर्दा स्मिथमा रनको भोकका साथै आफूलाई टेस्ट क्रिकेटमा उत्कृष्ट प्रमाणित गर्ने दृढ संकल्प थियो। भयो पनि त्यस्तै।

उनले खेलेका सातै इनिङमा स्मिथलाई पवेलियनको बाटो देखाउन इङ्ल्यान्डका बलरलाई हम्मे नै बनेको थियो। पहिलो टेस्टमा अस्ट्रेलिया १२२/८ को कठिन स्थितिमा रहँदा स्मिथले टोलीका संकटमोचन गरेका थिए।

‘पहिलो खेलमा मैले गरेको प्रदर्शनपछि मेरो आत्मविश्वास बढ्दै गयो,’ स्मिथले भने, ‘त्यो मैले शृंखला अवधिभर खेलेको उत्कृष्ट इनिङमध्येको एक हो। एसेसमा पहिलो टेस्ट सधै महत्वपूर्ण हुने गर्दछ। तर टोली संकटमा रहँदा पनि मैले धैर्य साथ प्रदर्शन गरें। म झन्डै १८ महिना टेस्ट खेलबाट टाढा रहें। यस अवधिमा पनि मलाई निरन्तर समर्थन गर्दैै हौसला बढाउन मद्दत गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु।’

पहिलो टेस्टको दुवै इनिङमा शतक पूरा गरेका स्मिथले क्रमशः १ सय ४४ र १ सय ४२ रन बनाएका थिए।

 

प्रकाशित: ३१ भाद्र २०७६ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App