८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जनरल मोटर्सका ४६ हजार मजदुर हड्तालमा

जिएम मोर्टर्सविरुद्ध हड्तालमा उत्रिएका मजदुर। तस्बिर : एजेन्सी

न्युयोर्क – संयुक्त राज्य अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियन ( युएडब्लु)ले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हड्ताल सुरु गरेको छ। मजदुरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदुर हड्तालमा उत्रिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

‘वालस्ट्रिट जर्नल’का अनुसार एक दशकमा पहिलो पटक जिएमविरुद्ध देशव्यापी यति ठूलो हड्ताल भएको हो। जिएमसँग मजदुरको चारवर्षे करार समाप्त भएको र नयाँ करार गर्न आनाकानी गरेपछि उनीहरु आन्दोलित भएका हुन्। डिट्रोइटमा आइतबार राति स्थानीय युनियन नेताहरुको बैठकले हड्तालमा जानैपर्ने निर्णय गरेको युनाइटेड अटो वर्कर्स युनियनले ट्विटमार्फत जानकारी दिएको थियो। ‘यो अन्तिम विकल्प हो,’ जिएमसँग युनियनका मुख्य वार्ताकार टेरी डिटेसले भने, ‘हामी यस मुलुकका श्रमजीवी मजदुरको आधारभूत अधिकारका पक्षमा अडिग छौं।’

युएडब्लुका अधिकारीहरुले दुवै पक्षबीचको छलफल विनानिष्कर्ष टुंगिएको बताएका छन्। दुवै पक्षबीच ज्याला, स्वास्थ्य सेवा, अस्थायी कामदारको स्थिति र रोजगारीको सुरक्षाका विषयमा विमति रहेको छ। ‘हाम्रा साथीहरुले कुरा राख्नुभयो। हामीले यस विषयलाई हल्का रूपमा लिने कुरै छैन,’ युएडब्लुका राष्ट्रिय मध्यस्थता समितिका अध्यक्ष टेड क्रुमले बताए। ‘जनरल मोटर्स र युनाइटेड अटो वर्कर्सले मिलेर कुनै सम्झौतामा पुग्नुको विकल्प छैन,’ हड्ताल सुरु हुनुपूर्व केही घण्टाअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गरेका थिए।

‘वालस्ट्रिट जर्नल’का अनुसार जिएममा पछिल्लो पटक सन् २००७ मा हड्ताल भएको थियो। त्यसबेला देशभर रहेका ८९ भन्दा बढी कारखानाका  करिब ७३ हजार मजदुरले दुई दिनसम्म काम बन्द गरेर हड्तालमा उत्रिएका थिए। जिएमले एक वक्तव्य प्रकाशन गरी युएडब्लुले हड्तालमा उत्रिने निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको जनाएको छ। जिएमले मजदुरका लागि निकै आकर्षक प्रस्ताव अघि सारेको स्पष्ट गरेको छ। ‘हामी असल मनसायका साथ वार्तामा सहभागी भएका थियौं। हाम्रो एक मात्र लक्ष्य हाम्रा कर्मचारी र हाम्रो व्यवसायको राम्रो भविष्य सुनिश्चित गर्नु हो,’ उसले भनेको छ।

फोर्ड र फिएट क्रिस्लरमा कार्यरत मजदुरले भने आफ्नो करार नवीकरण गर्न सहमति जनाइसकेका छन् तर जिएमको व्यवस्थापनले शनिबार मजदुरको करार नवीकरण तत्काल नगर्ने जनाएको थियो। जिएमको बजार तुलनात्मक रूपमा निकै बलियो मानिन्छ। गत वर्ष कम्पनीले करिब ११ अर्ब ८० करोड अमेरिकी डलर सञ्चालन मुनाफा कमाएको थियो। तर अमेरिका र अन्य मुलुकबीचको व्यापार तनावले जिएम पनि मन्दीको सिकार हुने अनुमान गरिएको छ। त्यही जोखिमका कारण कम्पनीले आफ्ना मजदुरको संख्यामा निरन्तर कटौती गरिरहेको छ।

जिएमले गत नोभेम्बरमा उत्तर अमेरिकाका पाँचवटा कार निर्माण कारखाना बन्द गर्ने घोषणा गरेको थियो जसमा अमेरिकाका मिसिगन र ओहायोका कारखाना पनि समावेश छन्। जिएमको व्यवस्थापनले अमेरिकी कार निर्माण कारखानाको स्तरोन्नतिका लागि सात अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यसबाट  करिब पाँच हजार चार सयको रोजगारी सुनिश्चित हुनेछ। साथै अमेरिकी प्लान्टबाटै पूर्ण विद्युतीय ट्रक निर्माण गर्ने योजना पनि समावेश गरिएको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App