coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्यान प्रतिबन्ध फुकुवाको बाटोमा

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनको नयाँ मिति तय भएपछि आइसिसीको प्रतिबन्ध फुकुवा हुने बाटो खुलेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आइसिसीका प्रतिनिधिबीच सोमबारको छलफलपश्चात् आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने निर्णय भएपछि प्रतिबन्ध फुकुवाको बाटो खुलेको छ।

यसअघि आइसिसीको स्वतन्त्र कमिटीले घोषणा गरेको मितिलाई राखेपले स्वीकृति नदिएपछि क्रिकेटको विवाद बढ्ने देखिएको थियो। स्वतन्त्र कमिटीले असोज ३ र ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको थियो। तर, रापेखले भने पूर्वस्वीकृति नलिएइको साथै २१ दिनआगावै सूचना सार्वजनिक नगरेको भन्दै निर्वाचन मान्य नहुने जनाएको थियो।

त्यससँगै करिब चार वर्षदेखिको क्यानमाथि प्रतिबन्धको फुकुवामा अन्योलता सिर्जना उत्पन्न हुन पुग्यो।त्यसैबीच राखेपका सदस्यसचिव रमेश सिलवाल र निर्वाचित क्यानको नेतृत्व चतुरबहादुर चन्दसँगको छलफलपछि क्यान निर्वाचनको लागि बाटो खुलाउने प्रयास भएका थिए।

स्वतन्त्र कमिटीले पनि आइसिसीलाई विवादबारे जानकारी गराएपछि समाधानका लागि आइसिसीका प्रतिनिधि उस्मान ख्वाजा र अमर शेख नेपालका आएका थिए। उनीहरूले सोमबार सोल्टी होटेलमा स्वतन्त्र समितिका पदाधिकारी र परिषद्का सदस्यसचिवसँग एकैसाथ छलफल गरे।

छलफलमा राखेप र स्वतन्त्र कमिटी दुवै  लचिलो भएपछि एक साता पछि सरेर निर्वाचनको नयाँ मिति भएको हो। त्यससँगै नेपाली क्रिकेटको विवाद तत्कालका लागि मत्थर भएको छ। यसअघि स्वतन्त्र कमिटीले ३९ जिल्लाका साथै कुल ६ प्रदेशको निर्वाचन सम्पन्न गर्दै केन्द्रीय निर्वाचनको मिति तय गरेको थियो।

कर्णाली प्रदेशमा क्रिकेटको संघको एक मात्र जिल्ला सुर्खेत रहेकाले उक्त प्रदेशलाई पाँच नम्बर प्रदेशमा गाभेर निर्वाचन भएको थियो। तर, राखेपले आफूसँग कुनै छलफल नै नगरी केन्द्रको निर्वाचनको मिति घोषणा गरेको भन्दै प्रक्रिया अगाडि बढाउन मानेन। यसअघि पनि वि.सं. २०७२ साल पुसमा निर्वाचित क्रिकेट संघलाई विघटन गर्दै राखेपले तदर्थ कमिटी गठन गर्यो।

उक्त तदर्थ कमिटीको संयोजकमा राखेपका वर्तमान सदस्यसचिव सिलवाल थिए। त्यससँगै आइसिसीले सरकारी हस्तक्षेप भएको भन्दै ०७३ वैशाख १३ मा क्यानलाई प्रतिबन्ध गरेको थियो। 

त्यसपछि यो निलम्बन फुकुवाका लागि पहल भए पनि सफल हुन सकेको थिएन।  असोजमा नेपाल क्रिकेट संघको निर्वाचन विवादरहित तवरले हुन सके आगामी अक्टोबरमा सिड्नीमा हुने आइसिसीको बोर्डबाट प्रतिबन्ध फुकुवा हुन सक्ने सम्भावना रहेको आइसिसीले सोमबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

उक्त विज्ञप्तिमा आइसिसीका उपाध्यक्षसमेत रहेका ख्वाजाले कुनै राजनीनि हस्तक्षेपबिना जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपालको सदस्यता फिर्ता हुने सम्भावना बढेको बताएका छन्। आइसिसीका प्रतिनिधिले सोमबार सोल्टी होटेलमा स्वतन्त्र समितिका पदाधिकारी र परिषद्का सदस्यसचिव रमेश सिलवालसँगग एकैसाथ छलफल गरेका थिए।

प्रकाशित: ३१ भाद्र २०७६ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App