७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकारमाथि प्रहरीको धरपकड

काठमाडौं – श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, बर्खास्तमा परेका पत्रकारको पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेर नौ पत्रकारलाई सोमबार करिब तीन घण्टा नियन्त्रणमा लिएर छाडेको छ।

रेडियो नेपालले आफ्नो प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार प्रकाश बम, चक्र कुँवर र सुनिता रावललाई हटाएपछि पुनर्बहालीको माग गर्दै पत्रकार टोली रेडियो नेपाल पुगेको थियो। महासंघका उपाध्यक्ष विपुल पोखरेलको नेतृत्वमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीसँग भएको वार्ता निष्कर्षहीन भएपछि पत्रकारले पुर्नबहालीको माग गर्दै नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल महासंघका सचिव रामप्रसाद दाहाल, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी, प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र वलायर, पत्रकारहरु प्रकाश बम, चक्र कुँवरलाई करिब तीन घण्टा प्रहरी पुलिस क्लब भृकुटीमण्डपमा राखेर छाडिएको थियो। सो घटनाको नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायत पेशागत संस्थाले विरोध गरेका छन्।

नेपाली कांग्रेसले एक विज्ञप्तिमार्फत निष्कासनमा परेका पत्रकारको तत्काल पुनर्बहालीको माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्तिमार्फत पत्रकारलाई धरपकड र पक्राउ गरेको घटनाको विरोध गरेका छन्।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App