७ वैशाख २०८१ शुक्रबार
समाज

फूल चोर्दा बाँधिएका थिए इन्द्र

काठमाडौं - उपत्यकामा यतिखेर इन्द्रजात्रामय छ। बसन्तपुरको हनुमानढाको क्षेत्र इन्द्रजात्राका विभिन्न परम्परागत नाचगानमा झुमेको छ। हनुमानढोकास्थित कुमारी घरको अगाडि देखाइने कुमारी, गणेश–भैरव, लाखे नाच, पुलकिसी नाच, दश अवतार नाच इन्द्रजात्राकै प्रतीक हुन्। यी नाच हेर्न मानिसहरु लालायित हुन्छन्। साझँपख हनुमानढोका क्षेत्रमा मानिसहरु यीनै नाच हेर्न झुम्मिन्छन्।

एउटै जात्राभित्र अनेकौं रमाइला पर्वप्रसंग समेटिएको इन्द्रजात्राको किंवदन्ती पनि रमाइलो छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमा वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आएका थिए। उनी फूल टिप्न काठमाडौं उपत्यका आइपुगे। एउटा बगैंचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल टिप्न बगैंचामा पसे।

बगैंचामा पसेको देखेपछि स्थानीय उनलाई चोर भन्दै लखेट्न थाले। यसरी अरुको बगैंचामा नसोधीकन फूल चोरेको देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याए। फूल टिप्न गएको छोरो लामो समयसम्म नफर्किएपछि इन्द्रकी आमा अताल्लिएकी थिइन्।

एक दिन उनलाई सपनामा आएर कसैले इन्द्र बाँधिएको सुनायो। त्यसपछि वसुन्धरादेवीलाई असह्य भयो। फूल लिन गएको छोरा थुनिएपछि छोरालाई कसरी छुटाउने भनेर उनले कल्पिइन्। अरु केही विकल्प नदेखेपछि उनी दागिनी भेषमा पुल्नदर हात्ति अर्थात पुलकिसी) भएर पृथ्वीमा आइन्। पृथ्वीमा अवतरण हुनेबित्तिकै पारिजातको फूल छेवैको एउटा रूखमा छोरालाई बाँधेर राखेको देखिन्।

बाधिँएको छोरोलाई फूकाएर लग्ने नयाँ तरिका र भेष पहिरिएर उनी पृथ्वीमा झरेकी थिइन्। अरु कसैले नदेखोस् भनेर उनले पृथ्वीमा अवतरण हुनेबित्तिकै तुवाँलो छरिन्। त्यो तुवाँलो स्वर्गलोकबाटै बोकेर ल्याएकी किंवदन्ती छ। तुवाँलो बोकेर आएकी वसुन्धराले छोरालाई फुत्काउन वरिपरी धुँवैधुँवा छरिन्। त्यसपछि मानिसहरु ढाटाढाटाका दृश्य देख्न नसक्ने भए। त्यसपछि उनले छोरालाई फुकाएर पुलुकिसीमा चढाएर घर फर्कीइन्। ‘त्यतिबेला छोरालाई छुटाउनको लागि वसुन्धराले कुहिरो बोकेर आएकी थिइन्।

त्यसपछि उनले कुहिँरो छाडेर गइन्। त्यसबखतदेखि पृथ्वीमा भाद्र महिनामै कुहिरो लाग्न थाल्यो भन्ने प्रसंगहरु छन्,’ संस्कृतिविद् जोशीले भने, ‘इन्द्रजात्राको खास प्रसंग यही हो तर पछिल्लो समय इन्द्रजात्रालाई अन्य अनावश्यक प्रसंगसँग जोडिएको छ।’ जोशीको भनाइ अनुसार छोरालाई पाता कसेर राखेको बदलामा उनले कुहिरो छाडेर गएकी थिइन्। बसुन्धराले आफ्नो छोरालाई छुटाएर लगेको सम्झनामा इन्द्रजात्रा मनाउने गरिन्छ।

अनैकौं किवंदन्ती बोकेको इन्द्रजात्रा मंगलबार महिलाले रथ तान्ने नानिचा जात्रा देखाएपछि सकिन्छ। यो बेला देखाइने विभिन्न थरीका नाच र जात्राको तयारी पनि गुठीहरुले गरेको छ। बसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत ठाउँलाई रथयात्राको मुख्य रुट बनाइन्छ। यही रुट अनुसार रथ हिँडाइन्छ। करिब तीन सय वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा सुरु भएको मानिन्छ। अन्तिम दिन मंगलबार बसन्तपुर हनुमानढोकामा राष्ट्रपति विद्यादेवी भण्डारी कुमारीको हातबाट टिका ग्रहण गर्न पुग्नेछिन्।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App