६ वैशाख २०८१ बिहीबार
समाज

संसदीय समितिले सरकार नियन्त्रण गर्ने होइन : सभामुख

काठमाडौं - संसदीय समितिको गठन नै सरकारका कामको बेथिति नियन्त्रण गर्न भए पनि सभामुख कृष्णबहादुर महराले भने समितिले सरकारलाई नियन्त्रण गर्न नपाउने बताएका छन्।

सोमबार संसदीय अभ्याससम्बन्धी सांसदसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदीय समितिको काम सरकारको खबरदारी र निगरानी गर्ने मात्र भएको बताएका हुन्। सरकारका तीन निकायमध्येका एक व्यवस्थापिकाका प्रमुख रहेका सभामुख महराले प्रधानमन्त्रीले समितिले हामीलाई अप्ठ्यारोमा पारे भनेर आपूmलाई गुनासो गरेको भन्दै समितिले यसबारे ध्यान दिनुपर्ने बताए।

संविधानविद् डा.भीमार्जुन आचार्यले भने संसदीय समितिले सरकारको काममा नियन्त्रण गर्ने काम गर्न सकेन भने समितिको अवधारणा नै समाप्त हुने बताए। ‘संसदीय समिति बनाए कै सरकार तथा अरु संवैधानिक निकायको अनुगमन, नियमन गर्नका लागि हो, समितिले त्यसका लागि जेजे आवश्यक पर्छ त्यो गर्न पाउँछ,’ उनले भने। ‘मैले भन्न खोजेको के छ भने हामीले निगरानी गर्ने हो, नियन्त्रण होइन,’ उनले भने।

सभामुखले भने ‘संसद्ले सरकार निर्माण मात्र होइन निगरानी पनि गर्दछ तर हामी अलिकति नियन्त्रणतिर गयौं कि ?’ उनले प्रधानमन्त्रीकै निकायबाट बोले जस्तो गरी धारणा राखेका थिए। ‘एक दिन, सबैलाई राखेर कुरा राखौं पनि प्रधानमन्त्रीलाई भन्यौं, पछि म त नबस्ने, सभामुखले नै गर्नुस् भन्नुभयो,’ उनले भने। महराले भने ‘संसदीय समितिले सरकार ठीक दिशामा गयो कि गएन भनेर हेरिराख्ने हो, खबरदारी गर्ने हो।’

सभामुखले सरकारले बाटो नबिराओस् भनेर सल्लाह दिइराख्ने दायित्व संसद्को रहेको बताए। ‘सरकार भन्या त्यस्तै हुन्छ, कहिलेकाही ट्र्याक छोडिदिन्छ। सकेसम्म ट्र्याक नछोडोस् भनेर निगरानी राखीराख्ने र त्योअनुसार सल्लाह दिइराख्ने हाम्रो दायित्व हो,’ सभामुख महराले भने।

सभामुखले संसद्मा उठेका शून्य र विषेश समयमा सरकारले जति जवाफ दिन्छ त्यति संसद् प्रभावकारी हुने बताए। प्रधानमन्त्रीको स्वास्थ्यका कारण नियमित प्रश्नोत्तर गर्न नसकेको उनले बताए। सांसदबाट विभिन्न प्रस्ताव दर्ता भएका, कतिपय छलफल भएका र कति छलफल गर्न बाँकी छन् भन्दै उनले भने, ‘सरकारले रेस्पोन्स गरेमा सबै प्रस्तावमा छलफल हुनेछ।’

सांसदको मुख्य काम कानुन निर्माण भएको बताउँदै उनले बढीभन्दा बढी ऐन कानून निर्माणमा भूमिका खेल्नुपर्ने उनले बताए। अर्को संसदले नीति तथा कार्यक्रम तथा बजेट पारित गर्ने काम भएको उनको भनाइ थियो। शून्य समय र विशेष समयमा उठेका विषय जनताको र देशको विषय हुने भएकाले आफूले धेरैपटक सरकारलाई रुलिङ पनि गरेको उनले बताए। कतिपय मन्त्रीले जवाफ दिइसकेको र कतिपयले दिन बाँकी रहेको बताउँदै महराले भने, ‘त्यो विषयमा हामीले सरकारलाई घचघचाइ राख्नुपर्ने हुन्छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App