काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अराजकता निम्त्याउने तत्वको प्रतिवाद गर्न जनवर्गीय तथा युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सो निर्देशन दिएका हुन्।
‘अराजक हुने, लोकातान्त्रिक गणतन्त्र निमोठ्न खोज्ने, जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु,’ अध्यक्ष दाहालले भने।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै निमोठ्न वा मार्न सकिन्छ भनेर अराजकता, भ्रम र आतंकको वातावरण बनाउने प्रयास भइरहेकाले पार्टीका नेता कार्यकर्ता सचेत हुनुपर्ने पनि बताए। ‘जनताले ल्याएको परिवर्तन र समाजवादको सपना पूरा गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक रहेको छ’, उनले सम्बोधनको क्रममा बताए। सो कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी थिए।
प्रकाशित: ३१ भाद्र २०७६ ०२:४० मंगलबार