coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चार वर्षमा प्राधिकरणको आम्दानी दोब्बर

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चार वर्षको अवधिमा आफ्नो आम्दानी दोब्बर बनाएको छ। प्राधिकरणले विद्युत् चुवाहट नियन्त्रण, ग्राहक विस्तार र विद्युत् खपत बढाएर आम्दानी वृद्धि गरेको हो।

आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरणको कुल आम्दानी ३५ अर्ब सात करोड रुपैयाँ थियो। प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षको अवधिमा आम्दानी दोब्बर गर्न सफल भएको बताए।

‘चार वर्षअघिसम्म अत्याधिक चुहावट र लोडसेडिङ हुन्थ्यो। जसबाट प्राधिकरणको आम्दानीमा समेत गिरावट आएको थियो,’ उनले भने, ‘अहिले एकातर्फ चुहावट धेरै नियन्त्रण भएको छ, अर्काेतर्फ विद्युत् खपत दर बढेको छ, जसले गर्दा आम्दानी बढेको हो।’ कार्यकारी निर्देशक घिसिङले विगतको तुलनामा अहिले ग्राहक संख्या पनि बढेको बताए।

‘तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब एक सय ५० युनिट थियो,’ उनले भने, ‘अहिले लगभग दोब्बर भएको छ।’ नियमित विद्युत् आपूर्ति हुन थालेपछि खपत बढेर करिब दुई सय ४५ युनिट पुगेको छ। प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण, कुशल व्यवस्थापन र चुस्त–दुरुस्त प्रशासन संयन्त्रकै कारणले चार वर्षमा आम्दानी दोब्बर पार्न सकेको जनाएको छ। प्राधिकरणका अनुसार तीन वर्षअघि २५.७८ प्रतिशत विद्युत चुहावट हुन्थ्यो। अहिले चुहावट १५.३२ प्रतिशत छ।

प्राधिकरणले तीन वर्षको अवधिमा १०.४६ प्रतिशत बिन्दुले चुहावट नियन्त्रण गरेको छ। कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा विद्युत् चुहावट १२ प्रतिशतमा झारेर प्राधिकरणको आम्दानी अझै बढाउने बताए। ‘प्राविधिक र गैरप्राविधिक चुहावटलाई अझै नियन्त्रण गरेर आम्दानी बढाउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘चालु आवमा चुहावट नियन्त्रणमा कठोर भएर लाग्नेछौं।’

प्राधिकरणले सञ्चित घाटा पनि क्रमशः घटाएको जनाएको छ। आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरणको सञ्चित घाटा ३४ अर्ब ६१ करोड थियो। उक्त घाटालाई आर्थिक वर्ष  ०७३/७४ मा २८ अर्ब १७ करोड रुपैयाँमा झारेको थियो। प्राधिकरणको नेतृत्व घिसिङले सम्हालेसँगै सञ्चित घाटा क्रमशः कम भइरहेको छ।

आर्थिक वर्ष ०७४/७५ मा सञ्चित घाटा २५ अर्ब ५९ करोडमा ल्याएको प्राधिकरणले गत आर्थिक वर्षमा १५ अर्ब २२ करोडमा झारेको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षमा साढे आठ अर्ब आम्दानी गर्ने लक्ष्य रहेको बताए।

‘आगामी दिनमा वर्षायाममा उत्पादित बिजुली खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित हुनेछौं,’ उनले भने, ‘लोडसेडिङ अन्त्यपछि उत्पन्न भएका चुनौतीको सामना गर्दै सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्नेतर्फ केन्द्रित हुनेछौं।’

प्राधिकरणले अनलाइन तथा एकीकृत भुक्तानी प्रणाली अवलम्बन गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउने पनि जनाएको छ।

आर्थिक वर्ष    आम्दानी     खुद नाफा/घाटा    सञ्चित घाटा
०७२/७३    ३५ अर्ब ७ करोड    –८ अर्ब ७९ करोड     ३४ अर्ब ६१ करोड
०७३/७४     ५१ अर्ब ७० करोड    १ अर्ब ४७ करोड      २८ अर्ब १७ करोड
०७४/७५    ६१ अर्ब ९७ करोड    २ अर्ब ८५ करोड     २५ अर्ब ५९ करोड
०७५/७६     ७३ अर्ब ४६ करोड    ७ अर्ब २० करोड     १५ अर्ब २२ करोड
 स्रोत : नेपाल विद्युत् प्राधिकरण

प्रकाशित: ३१ भाद्र २०७६ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App