७ वैशाख २०८१ शुक्रबार
राजनीति

दोषीलाई कारवाही माग गर्दै बाँके प्रशासन घेराउ

नेपालगन्जमा आइतबार प्रर्दशनमा उत्रिएका कांग्रेस नेता, कार्यकर्ता । तस्बिरः नागरिक

नेपालगन्ज– बाँकेको सितापुरमा राष्ट्रिय जनजागरण कार्यक्रम चलिरहेका बेला जिल्ला सभापतिसहित नेता, कार्यकर्तालाई आक्रमण गर्ने व्यक्तिलाई कारबाही माग गर्दै नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ। गत बिहीबार भएको उक्त घटनामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थानीय नेता, कार्यकर्ताको संलग्नता रहेको नेपाली कांग्रेसले बताउँदै आएको छ।

उक्त घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न प्रहरी, प्रशासनले उदासिनता देखाएको भन्दै कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको अगुवाईमा आइतबार प्रर्दशनसहित घेराउ गरिएको हो। पार्टी कार्यालय सुर्खेतरोडबाट सुरु भएको दवाव -याली विपी चोक, त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालयको मुल गेटमा पुगेर कोण सभामा परिणत भएको थियो। सो क्रममा कांग्रेस कार्यकर्ताले प्रहरी, प्रशासनविरुद्ध चर्का नारा लगाएका थिए। कोणसभामा बोल्ने वक्ताले सितापुर घटनामा संलग्न नेकपाका कार्यकर्तालाई प्रहरी, प्रशासनबाटै संरक्षण भएको आरोप लगाए। सत्ता र शक्तिको दवावमा प्रहरीले दोषीलाई उन्मुक्ती दिन खोजेको उनीहरुको भनाई छ।

कोणसभालाई सम्बोधन गर्दै प्रदेश ५ का सांसद एवम् कांग्रेस नेता सुरेन्द्र हमाल, राष्ट्रिय जागरण कार्यक्रमका केन्द्रिय प्रतिनिधि विद्याप्रसाद खनाल, नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, तरुण दल बाँकेका सचिव बिनोद रिजाल, महिला संघ सभापति नारायणी रुपाखेती, नेपाल विद्यार्थी संघका अध्यक्ष पुर्णप्रसाद आचार्यलगायतले प्रहरी समक्ष जाहेरी दर्ता गरिएका सबै व्यक्तिलाई कानुनी कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा खजुरा गाउँपालिका–१ राधापुर निवासी ३८ वर्षीय सुमन मल्ल, सोही ठाउँका ३८ वर्षकै निर्मल खत्री, ३२ वर्षीय लोके भन्ने लोकबहादुर शाही, ३२ वर्षीय रोशनसिंह ठकुरी, २८ वर्षीय दिपु भन्ने दिपबहादुर राना, खजुरा–२ सितापुर निवासी ३८ वर्षीय मुमबहादुर ओली, सोही ठाउँका ४१ वर्षीय पारस मल्ल, ३५ वर्षीय सुनिल भन्ने इन्द्रबहादुर खत्री, ४० वर्षीय ललित चन्द र ३७ वर्षीय हेमन्त थापाविरुद्ध यसअघि नै किटानी जाहेरी दर्ता गरिएको छ। प्रहरीले अहिलेसम्म ‘लोके’ भन्ने लोकबहादुर शाही, निर्मल खत्री, रोशनसिंह ठकुरीलाई मात्र पक्राउ गरिएको जनाएको छ।

यसैबीच नेपाली कांग्रेस बाँकेले आफ्नो माग पुरा नभएसम्मका लागि जिल्लामा सञ्चालित जागरण अभियानलाई केन्द्रिकृत गरी एकै ठाउँमा विरोधका कार्यक्रम बृहत रुपमा गर्ने जनाएको छ। सभापति किरण कोईरालाले आइतबार जारी गरेको एक वक्तव्यमा अर्को सूचना नआएसम्मका लागि जागरण अभियान स्थगन गरी विरोधको कार्यक्रममा अनिवार्य उपस्थित हुन कार्यकर्तालाई आब्हान गरिएको छ। घटनाको विरोध तथा दोषीलाई कारबाही माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाली तरुण दल बाँकेले पनि मंगलबार प्रर्दशन गर्ने जनाएको छ। सोही घटनालाई लिएर नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: ३० भाद्र २०७६ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App