coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मित्रताका नाममा कुठाराघात एमालेकालागि अस्वीकार्य: अध्यक्ष ओली

ललितपुर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताएका छन्।

नेकपा (एमाले) प्रदेश नम्बर ३ सङ्गठन विभागले आइतबार आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा उनले भोली हुने तीन दलको बैठकमा आफूले राष्ट्रहितका पक्षमा नै अडान लिने बताए।

बैठकमा आफू दृढताका साथ लोकतन्त्र र अग्रगमनका पक्षमा आवाज उठाउने उनले बताए। संविधान संशोधनसम्बन्धी विषयमा उनले भने, “तीन करोड नेपालीको साझा मुलुक भएकाले ‘फलानाजी’ मान्नुभएन भन्दैमा एमाले संशोधनका लागि सहमत हुँदैन।” मित्रताका नाममा देशलाई कुठाराघात गर्न नदिनेमा उनको जोड थियो। परराष्ट्र नीति सञ्चालनको आधार राष्ट्रहित, अन्तर्राष्ट्रिय सम्बन्ध र न्याय नै आधार हुने उनले बताए।

अहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने पनि ओलीले बताए। “संविधान कार्यान्वयनका लागि ऐन/कानुनको निर्माण, आयोग गठन, सीमासम्बन्धी अस्पष्टता हटाउनु खाँचो छ,” उनले भने। सातभन्दा बढी प्रदेशको माग गर्दा देश ध्वस्त हुने पनि उनले बताए। उनले भने, “गरिब देशमा कतिवटा सरकार, कति संसद् र कति मुख्यमन्त्री थेग्ने भन्ने पनि सोच्नुपर्छ।”

एमाले विगतदेखि नै अनुत्पादकभन्दा पनि उत्पादक रोजगारीका पक्षमा लागेको उनको भनाई थियो। नेकपा (एमाले) केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले एमालेको अडान पार्टीका लागि मात्रै नभएर मुलुकका लागि आवश्यक भएकोमा जोड दिए। रासस

 

प्रकाशित: ५ मंसिर २०७३ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App