coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय र प्रदेश सरकार मिलेर सुदूरपश्चिमको विकास गरौः मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब स्थानीय र प्रदेश सरकार मिली विकास गर्नु पर्ने बताए। सोमबार डडेल्धुरामा नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सबै अहिले संविधान तह अधिकार सम्पन्न स्थानीय र प्रदेश सरकार रहेको बताउँदै सिंगो प्रदेशको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा स्थानीय र प्रदेश सरकार मिलेर अघि बढ्नु पर्ने बताए।

सुदूरपश्चिम प्रदेश सबै क्षेत्रमा धनी प्रदेशका रुपमा रहेको छ। उनले भने, यहाँको कृषि, पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य लगायतका विषयमा कसरी विकास गर्ने भन्ने नै प्रदेश र स्थानीय सरकारको चिन्ताको विषय हुन्।

पश्चिम सेतीको चर्चा सेलाउँदै गएको बताउदै उनले अब तीनै सरकार मिलेर पश्चिम सेतीको निर्माण कार्य अघि बनाउनु पर्ने बताए। स्थानीय, प्रदेश र संघीय सरकार मिलेर ७५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढाउनुपर्ने उनले बताए।

मुख्यमन्त्री भट्टले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने भनेको वषौँ बितिसकेको भन्दै संघीय सरकारले पश्चिम सेती लाई सुरु गरे आफूहरु साथ दिन तयार रहेको बताए।

गत फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेका थिए। तर, प्रधानमन्त्री ओलीले दाबी गरेको सात महिना बित्दा समेत पश्चिम सेतीको काम अघि बढ्ने सुरसार कतै नदेखिए पछि मुख्यमन्त्रीले सबै मिलेर बनाउनु पर्ने प्रस्ताव अघि सारेको उनले बताए। 

संघीय सरकार प्रति लक्षित गर्दै मुख्यमन्त्री भट्टले अरुले पैसा दिएन भनेर हामीले किन यसको काम रोक्ने? भन्दै प्रश्न गरे। जसरी भए पनि पश्चिम सेती बनाउनु पर्ने उनको भनाइ थियो। पश्चिम सेती बने पछि सुदूरपश्चिम प्रदेशको ‘कायापलट’ हुने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले पश्चिम सेती नबन्नु दुखद भएको बताए। 

मुख्यमन्त्री भट्टले विकासमा साँझा धारण बनाएर अघि बढ्न स्थानीय सरकार प्रमुखहरु लाई आग्रह गरेका छन्। स्थानीय सरकार प्रमुखहरु लाई विकास निर्माण गर्दा पहिलो हुन्छु भन्नुभन्दा पनि राम्रो काम गर्न उनको सुझाव छ।

विकास निर्माणमा पहिलो हुन्छु भन्ने सोच हटाउनुपर्ने उनको भनाइ छ। गाउँठाउँको विकास गुणस्तरीय, भ्रष्टाचारमुक्त कसरी बनाउने भन्ने विषयमा सबैले एकजुट भएर अघि बढ्नुपर्ने उनले औँल्याएका छन्।  स्थानीय, प्रदेश र संघीय सरकारसँग आ–आफ्ना किसिमका समस्याहरु रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले देखिएका समस्याहरु सामाधान गर्नका लागि जनप्रतिनिधिहरु नै एक ठाउँमा उभिनुपर्ने बताए । 

सरकारमाथि जनताका अपेक्षा धेरै रहेको बताउँदै मुख्यमन्त्री भट्टले स्थानीय सरकार जनताको नजिकको सरकार भएको धारणा व्यक्त गरे। जनताका विभिन्न खाले दबाबहरु सबै भन्दा बढी स्थानीय सरकार त्यसपछि प्रदेश र संघीय सरकारमा रहेको उनको बुझाइ छ। चुनावका बेला सबैले ‘सिंहदरबारको अधिकार गाउँगाउँ’ मा भनेर भाषण गरेको उल्लेख गर्दै उनले यसलाई कार्यान्वय गर्नमा समस्याहरु देखिएको बताए।

पछिल्लो समय तीन तहका सरकार एक अर्कामा आरोप–प्रत्यारोप लगाइरहेको उनको भनाई छ। उनले एक सरकारले अर्को सरकार लाई दोष दिन नहुने बताए। जनताको भावना अनुसार कसरी काम गर्न सकिन्छ त्यसबारे तीनै सरकारले सुझबुझका साथ अघि बढ्नुपर्ने उनको तर्क थियो। 

नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनमा आफ्ना भनाई राख्दै मुख्यमन्त्रि भट्ट ।

प्रकाशित: ३० भाद्र २०७६ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App