coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकामा महिला लुट्ने समूह सक्रिय, शुक्रबार यता चार लुटिए

काठमाडौं– काठमाडौं उपत्यकामा कालोपल्सरमा सवार दुईजनाको लुटेरा समूह सक्रिय रहेको खुलेको छ। प्रहरीले काठमाडौं उपत्यकामा शुक्रबारदेखि दैनिक लुटपाटको घटनामा एकै प्रकारको मोटरसाईकल र ब्यक्ति सक्रिय भएको जनाएको छ।  

महानगरीय प्रहरीका अनुसार आईतबार भक्तपुरको सल्लाघारी र काठमाडौंको मनहरामा दुई महिला लुटिएका छन। प्रहरीका अनुसार सल्लाघारीमा कटुन्जे बस्ने स्याङजा घर भएकी ३६ बर्षीया सुस्मिता सुवेदीको नगद ७३ हजार ६ सय ६९ रुपैयाँ लुटपाट भएको छ। सल्लाघारीमा रहेको आईएमईबाट आइतबार नगद निकाली झोलामा राखेर बाहिर निस्कने क्रममा नम्बर नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले पैसा भएको झोला लुटेर भागेको सुवेदीले प्रहरीलाई बताईन। 

आईतबार नै दोलखा भिमेश्वर नगरपालिका–१२ हरहर महादेव घर भएकी ३० बर्षीया सन्जु थापा कार्कीको  घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री लुटपाट भएको छ। कार्कीलाई मनहरा लोमस औषधि फ्याक्ट्री नजिकै बाटोमा आइतबार हिंडीरहेको अबस्थामा नम्वर नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिहरुले सिक्री लुटेका थिए। 

महानगरीय प्रहरी अपराध महाशाखा र उपत्यकाका तीनवटै परिसरको टोली अहिले अज्ञात लुटेरा समूहको खोजीमा सक्रिय भएको छ । प्रहरीले अनुसन्धानका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानको क्लोज सर्किट क्यामराको फुटेज चेकजाँच गरिरहेको छ ।

अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले केही ब्यक्ती प्रहरीको निगरानीमा रहेको बताए । उनले प्रहरीले घटनाका सम्बन्धमा लुटेरा पहिचानका लागि सम्भव भएसम्मका प्रमाण केलाईरहेको बताए। ‘ उपत्यकामा भएको एकैप्रकारको लुटपाटको घटनामा एउटै समूह रहेको भन्ने आधार फेला परेका छन, यकिन भएको छैन, खोजीकार्य जारी छ,’ एसपी कार्कीले भने।

प्रहरीका अनुसार शुक्रबार र शनिबारमात्रै मोटरसाईलमा आएका लुटेराले काठमाडौंका दुई फरक स्थानमा दुई महिलाले लगाएका सिक्री लुटेका थिए । काठमाडौं प्रहरीका अनुसार नारायणटार र रानीबन पहेँलो गुम्बा नजिक दुई महिला लुटिएका हुन्।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–१५ नारायणटारस्थित राई स्कूल नजिकबाट नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले स्थानीय कमला लिम्बुले लगाएको करीव डेढ तोला बराबरको सुनको सिक्री शनिबार लुटेका हुन। लुटेराको पहिचान हुन सकेको छैन। 

यस्तै शुक्रबार मात्र नागार्जुन नगरपालिका–१ रानीबनकी शोभा पन्त क्षेत्रीले लगाएको पौने तोला सुनको सिक्री पहेलो गुम्वा नजिक पैदल हिँडिरहेको अवस्थामा नम्वर नखुलेको मोटरसाइकलमा आएका दुईजनाले लुटेका थिए।

 

 

 

 

प्रकाशित: ५ मंसिर २०७३ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App