७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारको कामलाई नियन्त्रण नगर्न संसदीय समितिलाई सभामुखको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्।

सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पारे। संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संसदीय समितिहरुले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनि राख्नु भएको स्मरण गराउँदै त्यसो नगर्न सांसद र संसदीय समितिहरुको गम्भिर ध्यानाकर्षण पनि गराए।

‘मलाई प्रधानमन्त्री आफैंले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनि रहनु भएको छ’, सभामुख महराले प्रधानमन्त्रीसँग सो सम्बन्धमा भएको कुराबारे थप स्पष्ट पारे, ‘तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौं न त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नु भयो।’ 

सभामुख महराले संसदीय समितिहरुले सरकारलाई  नियन्त्रण गर्ने होइन्, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारे।

सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण उनसँगको प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्टिकरण दिए। उहाँले संविधानको अध्ययन गरेर सो अनुसार कानुन, ऐन, निर्देशिका निर्माण भए/नभएको कडा निगरानी राख्न पनि सांसदहरुलाई निर्देशन दिए।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराएका थिए। 

प्रकाशित: ३० भाद्र २०७६ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App