१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ब्याजको लोभमा सामान भागवन्डा

इटहरी - इटहरी वडा नं. २० घर भएका इन्द्र बस्नेतले स्थानीय तरहरा बजारमा लेडिज कर्नर सञ्चालन गर्ने इन्दिरा भण्डारीलाई ५ लाख रुपैयाँ पैसा ब्याजमा दिए। दुई वर्षअघि उनले दिएको पैसाको कुनै प्रमाण छैन।

जनसहयोग माध्यमिक विद्यालयमा शिक्षण गर्ने बस्नेतले आकर्षक ब्याजको लोभमा पैसा दिए पनि प्रमाण केही नहुँदा थुप्रैपटक ताकेता गरे। तर, व्यापारी भण्डारीले तिर्न सक्ने अवस्था नभएकाले टार्दै आइन्। इन्द्रजस्तै, केही दिनको भए पनि ब्याज आउने आशामा इटहरी वडा नं. २० कै कृष्णकुमार गुरुङले व्यापारी बुढाथोकीलाई ११ लाख ५० हजार रुपैयाँ दिए। जग्गा खरिद गर्न ठीक पारेको पैसा कृष्णले उनलाई दिएका थिए। १५ दिनका लागि भनेर लगेको पैसा दुई वर्षसम्म पनि न साहु न त ब्याज केही पनि पाएनन्। उनले पनि प्रमाण केही नहुँदा असुल गर्ने आधार भएन।

सोही ठाउँका भाइकाजी पोखरेलसँग पनि व्यापारी बुढाथोकीले एक लाख १० हजार रुपैयाँ सापटी लिइन्। पैसाका लागि जतिपटक ताकेता गरे पनि तिरिनन्। इटहरी वडा नं. २० को तरहरा तथा आसपासका थुप्रैले ब्याजको लोभमा व्यापारी बुढाथोकीलाई एक करोड ६२ लाख रुपैयाँ दिएको पाइएपछि सबै जना संगठित भएर लेडिज कर्नरमा तालाबन्दी गरे।

व्यापारी बुढाथोेकीलाई पैसा ब्याजमा वा सापटी दिने ५२ जनाले संगठित भएर लेडिज कर्नरमै गएर दबाब दिन थाले। तर, उनले तिर्ने कुनै उपाय नभएको बताएपछि एक वर्षअघि बुढाथोकीलाई पैसा ब्याजमा र सापटी दिनेले मिलेर एउटा घरको कोठा खोजेर सम्पूर्ण सामान नियन्त्रणमा लिएर राखे।

‘एक वर्षसम्म पैसा पाउने आसैआसमा बित्यो,’ व्यापारी बुढाथोकीलाई पैसा सापटी दिने इन्द्र बस्नेतले भने, ‘अन्त्यमा पैसा नपाएपछि भएका कपडा सबै पैसा दिनेले बाढेर लियौं।’ व्यापारी बुढाथोकीलाई पैसा दिने समूहले शनिबार साँझदेखि राति अबेरसम्म फेन्सी सामान भाग लिएर लिए।

‘गाउँमा खसीको मासु काटेर भाग लाएजसरी सबै खाले सामान पर्नेगरी भाग लगाएर लियौं,’ बस्नेतले नागरिकसँग भने, ‘अब जसरी पनि चित्त त बुझाउनु प-यो नि ?’ खासमा व्यापारी बुढाथोकीको दस वर्षअघिसम्म सामान्य साप्ताहिक बजारमा लगेर फेन्सी आइटमका सामान बिक्री गर्थिन्। बिस्तारै उनले संघर्ष गर्दै गएपछि पसल बढाउँदै लगिन्। तर, तरहरा बजारमा उनी व्यापारमा जम्न थालिन्। व्यापार जम्दै जाँदा एउटा पसलको सट्टा अर्को पनि थपिन्। त्यसपछि उनको प्रगति देखेर पैसा तिर्ने विश्वासले सबैले आफ्नो पैसा ब्याजमा राख्ने उपयुक्त स्थान व्यापारी बुढाथोकीलाई नै रोजे। उनले पनि आकर्षक ब्याज दिने भनेर सबैलाई लोभ्याउने गर्थिन्।

तरहरा बजारमा व्यापारी बुढाथोकीसँगै पछिल्लो समय सुन पसल र मनि ट्रान्र्सफर सञ्चालक पनि सर्वसाधारणसँग आकर्षक ब्याज दिने प्रलोभनमा ठगिँदा छन्। शृंखलाबद्ध रुपमा पैसा लिएर ठगिँदा पनि यहाँका बासिन्दा सचेत हुन सकेका छैनन्।

प्रकाशित: ३० भाद्र २०७६ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App