६ वैशाख २०८१ बिहीबार
समाज

चार करोडको सिँचाइ कुलोमा चरम अनियमितता

तस्बिरः निर्माणाधीन कुलो। डिवी वुढा

जुम्ला–चार करोड ११ लाख लागतमा निर्माण हुनलागेको हाँकु गाविसको सिँचाई कुलोमा चरम अनियमितता भएको उपभोक्ताको गुनासो छ। गिरीखोला माझकुलो सिँचाई योजना अन्तरगत निर्माण भईरहेको सो कुलोमा गुणस्तरहीन सामाग्रीको प्रयोग र मापदण्ड पूरा नगरेर भ्रष्टाचार भएको स्थानीयको आरोप छ।

आधा मात्रै निर्माण सकिदा कुलो जिर्ण बनेको छ। पक्की कुलोमा पानी चुहिने र ढलान चर्किने, भत्किने समस्या देखिएको छ। गिरीखोला माझकुलो सिचाई योजनाको कन्ट्याक्टरबाट भईरहेको मुहान खण्डको निर्माणमा भएको लापरवाहीबाट स्थानीय आक्रोसित छन्। निर्माण पक्षलाई उपभोक्ताले बारम्बार खवरदारी गर्दा पनि अटेर गरेको सिँचाई जलउपभोक्ता समितिका अध्यक्ष दुर्ग प्रसाद पाण्डेले जानकारी दिए।

हाँकु गाविसको ५ देखि ९ वडा सम्मको सिँचाई र विद्युत गृहका लागि निर्माण हुन लागेको उक्त सिँचाईकुलो निर्माणमा कमसल सामाग्रीको प्रयोग हुँदा लगानी दिर्घकालका लागि नटिक्ने चिन्ताले पिरोलेको पाण्डेले बताए। उनले अनियमितता गर्ने ठेकेदार र सम्बन्धित कार्यालय प्रमुखलाई कार्वाही गर्नुपर्ने उपभोक्ताको आवाज रहेको बताए। ठेकेदारको लापरवाही देखेर पनि सवडिभिजन कार्यालयका प्राविधिकले आँखा चिम्लेर उनीहरुलाई बचाउ गर्ने गरेको स्थानीय बताउँछन्।

सिमेन्ट, बालुवा र गिट्टीको मात्र मापदण्ड अनुसार प्रयोग नभएको कारण निर्माणको काम कमसल भएको हो। १५ सेन्टिमिटरको फरकमा हुनु पर्ने छड २० देखि २५ सेन्टिमिटरको फरकमा बिच्छ्याइएको उपभोक्ता समिति सदस्य गोमा पाण्डेले बताइन्।

उपभोक्ता अमर रोकायाले धेरै पटक सम्बन्धित कार्यालयमा गुनासो गर्दा उपभोक्ताको भन्दा ठेकेदारको कुरा सुनेर अनियमिततालाई बढावा दिएको बताए। उनले जनताको आवाजको सुनुवाई नभए ठेकेदार र सिँचाई कार्यालयको विरुद्धमा दवावमुलक आन्दोलन गर्ने चेतावनी दिए।

‘जिल्ला प्रशासन कार्यालय, सिँचाई विभागमा पनि लिखित उजुरी गरेका छौं, तर सुनुवाई भएको छैन,’ रोकायाले भने ‘सम्झौतामा सिँचाई कार्यालयबाट प्राविधिक सहयोग उपलव्ध गराउने, डिजाईन स्टमेट एकप्रति समितिलाई बुझाउनु पर्ने, निर्माण मापदण्डबारे एकदिने अभिमुखीकरण दिने लगायतका बुँदा कार्यान्वयन भएका छैनन्।
ठेक्का लिने पक्रियामै कार्यालय प्रमुख र ठेकेदारबीच आर्थिक चलखेल भएको स्थानीयको शंका छ।

प्रकाशित: ५ मंसिर २०७३ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App