५ वैशाख २०८१ बुधबार
कला

सकियो धुलिखेल म्यूजिकल जात्रा

बनेपा – फरक शारीरिक क्षमता भएका व्यक्ति(दृष्टिविहीन)हरुलाई निःशुल्क साङ्गितिक प्रशिक्षणका लागि आर्थिक सहयोग जुटाउन शनिबार धुलिखेलमा आयोजित म्युजिकल जात्रा २०७६ हर्षोल्लासपूर्वक सम्पन्न भएको छ।

धुलिखेलका युवा फुटबलरहरुको संस्था ‘रमाइलो छत्रछाँया मुनि (आरसिसिएम)’ ले आयोजना गरेको म्यूजिकल जात्रमा सञ्जीवनी स्कूल धुलिखेलको दृष्टिविहीन विद्यार्थीहरुको समूहले पनि ३ वटा साङ्गीतिक प्रस्तुति गरेका थिए। यो जात्रा उनीहरुलाई लक्षित गर्दै आयोजना गरिएको हो।

पहिलो पटक फरक क्षमता भएका(दृष्टिविहीन)हरुको समूहले तीन वटा विधामा प्रस्तुति दिएको समूहका अगुवा दृष्टिविहीन विद्यार्थी प्रवेग तामाङले जानकारी दिए। कक्षा १२ सकेर सञ्जीवनी स्कूलकै होस्टेलमा रहेका उनलाई कक्षा ९ मा अध्ययनरत अर्का दृष्टिविहीन शिवराज बिकले साथ दिइरहेका छन्। यस्तै, सुषमा सुनुवार, सरोज बिक, दिनेश परियार र साजन सोनारले समेत सामुहिक गायनमा सघाएका थिए।

आरसिसिएमका अध्यक्ष श्रेयबिक्रम ब्यान्जूले भने, ‘३ जना दृष्टिविहीन र ३ जना विपन्न विद्यार्थीहरुलाई बाजागाजा किनिदिएर सङ्गीत शिक्षकको व्यवस्था गरिदिएका थियौं। उहाँँहरुको ३ महिनादेखिको मेहनत म्यूजिकल जात्रामार्फत दर्शकहरुले हेर्न पाउनु भयो’, उनले थपे।

जात्रामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी सात वटा ब्याण्डको साङ्गीतिक प्रस्तुति रहेको थियो। अन्तर्राष्ट्रिय ब्याण्डका रुपमा जर्मनीको दी नर्ट एण्ड ब्याण्डको प्रस्तुति थियो। यस्तै, नेपालका तीन वटा राष्ट्रिय ब्याण्डहरु कबवेब, दी एक्स र दी एक्टको प्रस्तुति रहेको थियो। दुई वटा स्थानीय ब्याण्डहरु इलेक्ट्रिक एयर र दी सफ्ट टोन्स थिए।

धुलिखेलका नगर प्रमुख अशोककुमार ब्यान्जूले म्यूजिकल जात्राको उद्घाटन गर्दै पर्यटकीय गन्तव्य धुलिखेललाई गीत सङ्गीतमार्फत पनि चिनाउन सकिने बताए। यस्तै, नेपाल भ्रमणमा रहेका जर्मनीको दी नर्ट एण्ड ब्याण्डका चार जना युवाहरु पनि ‘म्यूजिक फर द पोभर्टी एलिभिएसन प्रोग्राम’अन्तर्गत जात्रामा सहभागी हुने अवसर पाएकोमा र त्यहाँको च्यारिटी क्लबरमार्फत धुलिखेलमा विभिन्न सहयोगहरु गर्न पाएकोमा खुशी देखिन्थे।

धुलिखेलस्थित मुलुककै पहिलो रेसिङ ट्र्याक ‘हिमालय मोटरल्याण्ड’मा आयोजित म्यूजिकल जात्रा २०७६ मा युवाहरुको उल्लेख्य सहभागिता थियो। कार्यक्रमकै वीच वीचमा दर्केको झरीले पनि उनीहरुको उत्साहलाई छेक्न सकेको थिएन। जात्राबाट संकलित रकमले दृष्टिविहीनलगायत फरक शारिरीक क्षमता भएका युवाहरुलाई सङ्गीतका प्रशिक्षणहरुमा नियमित सहभागी बनाउने र सङ्गीतका सामग्रीहरु किन्नमा सहयोग गर्ने आयोजक समितिका अध्यक्ष श्रेयबिक्रम ब्यान्जूले जानकारी दिए।

प्रकाशित: ३० भाद्र २०७६ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App