coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विदेशी पाहुना भक्तपुरमा रमाए

विदेशी पाहुना भक्तपुरको मयुर झ्यालको अवलोकन गर्दै। तस्बिरःश्याम राई

काठमाडौं - काठमाडौं महानगरपालिकाको निम्तामा आएका विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले भक्तपुर दरबार स्क्वायर र ललितपुरको पाटन दरबार स्क्वायर भ्रमण गरेका छन्। आइतबार महानगरको निम्तोमा इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आएका प्रतिनिधिहरुलाई महानगरपालिकाले अवलोकन गराएकोे हो।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले पाहुनाहरुलाई भक्तपुर दरबार स्क्वायरमा स्वागत गरेर तलेजु, न्यातापोल, दत्तात्रय मन्दिरलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गराइयो। इन्द्रजात्रा अवलोकनका लागि पाँयच देशका सहरका मेयरसहित ४१ विदेशी पाहुना गत बिहीबार नेपालमा आएका थिए। जसमा चीनको ल्हासाबाट मेयर गुहेओ गुहेओ, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंह, चीनको लाञ्चाउबाट कमिटी अफ द सिपिपिसिसीका उपाध्यक्ष ज्याङ् सिओहाङ् लगायत छन्।

नगर प्रमुख सुनिल प्रजापतिले पाहुनाहरुलाई स्वागत गर्दै नेपालका ऐतिहासिक सम्पदाहरु महत्वपूर्ण सम्पत्ति भएको बताउँदै २०७२ सालको भूकम्पले एक सय ५० वटा सम्पदामा क्षति भएकोमा अहिले ८७ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको बताए। उनले भने, ‘नगरपालिका पुनर्निर्माणमा जुटिरहेको छ। विश्वले पुरानो रुपमै यी सम्पदा देख्न पाउने छन्।’

विदेशी पाहुँनाहरुले निकै चाख लिएर तलेजु मन्दिर, प्रसिद्ध पाँचलते न्यातापोल मन्दिर, दत्तात्रय मन्दिरलगायतका भक्तपुरका सम्पदाहरुको अवलोकन गरे। उनीहरु भक्तपुरको मयुर झ्यालमा मोहित भए। भक्तपुर क्षेत्रको ऐतिहासिक सम्पदाहरुको अवलोकनपछि भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जले नेपाल सामाजिक, सांस्कृतिक रुपमा सुन्दर रहेको प्रतिक्रिया दिए। ‘नेपालको सम्पदा, कला संस्कृति धेरै राम्रो छ’ उनले भने, ‘नेपालमा यसरी घुम्न पाउँदा धेरै उत्साहित छु।’

अवलोकनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ पनि सहभागि थिए। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गराउनका लागि विदेशी पाहुनालाई आमन्त्रण गरिएको बताए। उनले भने, ‘२०७२ सालको भूकम्पछि विदेशी मुलुकमा नेपालको बारेमा केही भ्रम रहेको पाइएको थियो। सो भ्रमलाई चिर्नुपर्ने दायित्वसँगै पर्यटन क्षेत्रलाई उद्योगको रुपमा प्रवद्र्धन गर्नका लागि पनि विदेशी मुलुकका मेयरसहितका अतिथिलाई निमन्त्रणा गरेका हौं।’

मेयर शाक्यले यस प्रयासले पर्यटन क्षेत्रमा सकारात्मक परिणाम सिर्जना हुने वातावरण बन्ने विश्वास व्यक्त गरे। उनले पर्यटन प्रवद्र्धनका लागि महानगरले लगानी समेत गरेको बताए। ‘सम्पदा निर्माणमा सरकार र जनप्रतिनिधिहरुलाई तीव्र रुपमा अगाडी बढाएका छौं,’ उनले भने, ‘व्यवस्थित ढंगले यस वर्ष विदेशी पाहुनालाई इन्द्राजात्रा अवलोकन गराउन सफल भयौं। नेपालको कला, संस्कृति र ऐतिहासिक सम्पदा अवलोकनबाट पाहुना धेरै नै प्रभावित भएका छन्।’ उनले विदेशी मेयरसहितको पाहुना टोलीले नेपाल पर्यटन वर्ष २०२० लाई सफल गराउन मद्दत पुग्ने बताए।

त्यस्तैगरी ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालले विदेशी पाहुनाहरुलाई पाटन दरबार स्क्वायरमा स्वागत गरे। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालको सम्पदा र कलाहरुको बारेमा बिदेशी पाहुनालाई जानकारी गराएका थिए। उनले भने, ‘हामीसँग पुरातात्विक सम्पदा छन्।

यसको संरक्षणमा लागिपरेका छौं। राम्रोसँग यी सम्पदाहरुको अवलोकन गर्न सक्नुहुनेछ। परम्परागत संस्कृति, परम्पराको ज्ञान पाउनु हुनेछ।’ त्यसपछि पाहुनाहरुले पाटन दरबार क्षेत्रका ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका थिए। काठमाडौं महानगरपालिकाका अनुसार आमन्त्रित पाहुना सोमबार विदेश फर्कने कार्यक्रम छ। चीनसँग स्वास्थ्य, शिक्षा र व्यापार प्रवद्र्धनमा महानगरले साझेदारी गर्ने सहमति भएको जनाइएको छ।

प्रकाशित: ३० भाद्र २०७६ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App