काठमाडौं - प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ माथि सुझाव संकलन गरिरहेको चलचित्र विकास बोर्डले ‘दासढुंगा २’ लाई फिल्म निर्माणको इजाजत नदिएपछि निर्देशक कुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतासामु दुखेसो पोखेका छन्।
१० वर्षअघि बनेको ‘दासढुंगा’ नामक फिल्मको सिक्वेल ‘दासढुंगा २’ लाई चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजत नदिएपछि उनले नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेलाई प्रश्न गरेका थिए, ‘फिल्मको निर्माण अनुमति नपाएको चार महिना भयो। चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईले तत्काल केही गर्न नसक्ने बताइसकेका छन्। अहिलेसम्म मेरो लाखौं खर्च भइसक्यो। मैले फिल्म बनाउन पाउने कि नपाउने ?’
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जिवराज आश्रितको दासढुंगामा भएको जिप दुर्घटनामा केन्द्रित राजनीतिक पृष्ठभूमिमा आधारित सो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति नपाउँदा सुटिङ सुरु हुन नसकेको जानकारी उनले दिएका थिए।
‘तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जिवराज आश्रितको विसं. २०५० जेठ ३ मा चितवनको दासढुंगामा भएको जिप दुर्घटनाको कथा समेटिएको ‘दासढुंगा २’ फिल्मले निर्माण अनुमति पाउन नसक्दा सुटिङमा जान सकेका छैनौं,’उनले भावुक हुँदै गुनासो गरे, ‘बोर्डमा फिल्म दर्ता भएको कम्तीमा दुई दिनमा इजाजत पत्र पाइन्थ्यो। विगत चार महिनादेखि हामी इजाजत पत्रको लागि बोर्ड धाइरहेका छौं। फिल्म निर्माण इजाजत पत्रको लागि प्रि–सेन्सरसिपको कुरा गरियो।’
सो कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले फिल्मलाई इजाजत पत्र दिलाउन सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
बोर्डका अध्यक्ष केशव भट्टराईले फिल्मको कथाका विषयमा प्रतिक्रिया लिन फिल्मको डकुमेन्ट मदन भण्डारी प्रतिष्ठान पठाएको जानकारी गराएका थिए। प्रतिष्ठान सकारात्मक नभएको भन्दै बोर्डले फिल्म निर्माणको अनुमति नदिएपछि निर्देशक भट्टराई प्रतिष्ठान पुगेर त्यहाँको सदस्यहरूसँग फिल्मबारे कुराकानी समेत गरेका थिए।
‘वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको नाम उल्लेख गरेर दासढुंगा २ फिल्मको कथासार बनाइएको रहेछ। जिप दुर्घटनाको घटनालाई हत्याकाण्ड भनिदिएर प्रमाणितझैं कथासार बनाएकाले मदन भण्डारी प्रतिष्ठानलाई चिठी लेखेर पठाइदिएका थियौं,’बोर्डका अध्यक्ष केशव भट्टराईले भने।
मदन भण्डारी प्रतिष्ठानकी अध्यक्ष उषा किरण भण्डारी हुन्। प्रतिष्ठानमा ‘दासढुंगा २’ फिल्मको डेढ पेजको वान लाइन चलचित्र विकास बोर्डले उपलब्ध गराएको जानकारी प्रतिष्ठानका सदस्य गुरु बरालले गराए।
प्रकाशित: ३० भाद्र २०७६ ०२:५६ सोमबार