६ वैशाख २०८१ बिहीबार
समाज

न सन्तान रह्यो, न सम्पत्ति

२.गैरकानुनी सेवा सञ्चालन गरेको लीलामदन पोलिक्लिनिकमा उपचार गराउँदा तीन वर्षदेखि शारीरिक पीडा खपेर बस्न बाध्य औरही–४ इँटाटार कमलपुरकी रामवतीदेवी यादव। तस्बिर: मिथिलेश/नागरिक

सिसवा (सिरहा) - गैरकानुनी अस्पतालबारे जानकारी भएको भए सन्तान गुमाउनुको सन्ताप खप्नु पर्दैनथ्यो। सरकारी कमजोरीका कारण सन्तान गुमाउनुको वियोगसँगै पलपल जीवनका लागि संघर्ष गरिरहेकी मिर्चैया नगरपालिका–३ सिसवा टोलकी शोभादेवी चौधरी बिलौना गर्दैछिन्।

‘अस्पताल कानुनी रूपमा सञ्चालित हो कि गैरकानुनी ? दक्ष जनशतिm छन् कि छैनन् ? अस्पतालले दिने सेवाको अनुमति लिएका छन् कि छैनन् ? हामी दूरदेहातका मान्छेलाई के थाहा,’ शोभाले लामो र्सै सुनाइन्। ‘अस्पताल हो, राम्रै इलाज हुन्छ भनेर गएकी थिएँ,’ उनले रुँदै भनिन्, ‘सरकारी लापरबाहीको फाइदा उठाउँदै सञ्चालित गैरकानुनी सेवाले मेरो जीवन नै समाप्त पारिदियो।’

गत साउन २६ गते सोमबार सामान्य पेट दुखेपछि शोभालाई परिवारका सदस्यले एम्बुलेन्समा राखेर लहान–३ अस्पताल चोकस्थित सुनिता श्रेष्ठद्वारा सञ्चालित प्रसूति सेवा केन्द्रमा लगे। तीन छोरीकी आमा शोभाले पहिला मिर्चैयास्थित नर्सिङ होममा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन्। तर त्यो दिन काका नाता पर्नेको सल्लाहमा उनी श्रेष्ठको प्रसूति सेवा केन्द्रमा पुगेकी थिइन्। भरपर्दो उपचारको आसमा प्रसूति सेवा केन्द्र पुगेकी शोभालाई श्रेष्ठले मेरिगोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा रेफर गरिन्। ‘त्यहाँ हिँड्नुस्, जाँच यन्त्र राम्रो छ, राम्रोसँग जाँचिदिन्छु भनिन्,’ श्रेष्ठलाई उद्धृत गर्दै शोभाकी सासू लिल्साले बताइन्। उनका अनुसार साँझमा कतै बाहिर लग्नुपर्छ कि भनेर सोध्दा ‘सुनिता दिदी’ ले यही नर्मल डेलिभरी हुन्छ, कतै लानुपर्दैन भनिन्।

नियामक निकायको मौनताको फाइदा उठाउँदै गैरकानुनी सेवा सञ्चालन गरिरहेका निजी स्वास्थ्य संस्थाबाट बिरामीको धनजनमा क्षति हुने घटना पटक–पटक दोहोरिए पनि कारबाही गर्ने निकाय मौन छ।

‘राति करिब १२ बजेतिर डाक्टरनी दिदीलाई के भयो भनेर सोधें,’ लिल्साले बताइन्, ‘नर्सहरूले हामीले बच्चालाई बचाउन सकेनौं, आमाको हालत पनि सिरियस छ। रगत रोकिँदै रोकिँदैन छिटो बाहिर लानुस् भने।’ विश्वासिलो भनिएको स्वास्थ्य संस्थाबाट प्राप्त यस्तो अविश्वासिलो खबरले लिल्सासहित परिवार शोकमा प¥यो। छोराको आसमा शोभा चौथो पटक गर्भवती भएकी थिइन्। प्रहरीलाई घटना जानकारी गराएर सिकिस्त शोभालाई लिएर लिल्सासहितका परिवारजन विराटनगरस्थित नोवेल शिक्षण अस्पताल पुगे।

करिब १२ दिन आइसियुमा उपचारपछि शोभालाई जेनरल वार्डमा सारिएलगतै उनको मिर्गौलामा समस्या देखियो। उपचारका लागि आफन्तले शोभालाई विराटनगरकै गोल्डेन अस्पताल लगे। त्यहाँ पुनः आइसियुमा राखेर पाँच दिन उपचार गरियो। शोभाकी बहिनी सविताका अनुसार त्यहाँ उनको मृर्गौला तीन पटक डाइलासिस गरियो। विराटनगरको नोवेल र गोल्डेन अस्पतालमा १६ दिनसम्म आइसियुमा राखेर उपचार गरिएपछि शोभा हालै घर फर्किएकी छिन्। तर उनको पीडा बिसेक भएको छैन। उनको पाठेघर, मृगौलालगायत अंगमा खराबीका कारण पेट दुख्ने, रक्तस्राव हुने, खाना अरुचि हुने समस्या छ।

प्रहरीले लहान–३ स्थित मेरिगोल्ड पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरका सञ्चालक चन्दन साहलाई पक्राउ गरी गलत इलाजसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अघि बढाएको छ। तर यस पोलिक्लिनिकमा पठाउने स्वास्थ्यकर्मी प्रहरी नियन्त्रण बाहिर छिन्। मेरिगोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई सुत्केरी सेवा दिने अनुमति नभएको जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्रप्रसाद यादवले बताए। यो पोलिक्लिनिकले प्रहरी, प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयको संरक्षणमा गैरकानुनी रूपमा प्रसूति सेवा सञ्चालन गर्दै आएको पाइएको छ।

निजी स्वास्थ्य संस्थाले गैरकानुनी रूपमा सेवा सञ्चालन गरेर बिरामीको उपचारमा लापरबाही गर्दा शिशुको ज्यान गएको र प्रसूति महिलाले दीर्घकालीन स्वास्थ्य पीडा खप्नुपरेको यो पहिलो घटना भने होइन। सिरहाको औरही गाउँपालिका–४ इँटाटार कमलपुरकी रामवतीदेवी यादव नवजात शिशु गुमाएर शारीरिक रूपमा थलिएको तीन वर्ष भयो। लीलामदन पोलिक्लिनिक नामक निजी स्वास्थ्य संस्थाको गैरकानुनी उपचारका कारण उनको पहिलो सन्तान खेर गयो, जीवनभर ऋणको भारी बोकायो र पाठेघरसम्बन्धी दीर्घ रोगी बनाइदियो।

पहिलो पटक आमा बन्दै गरेकी रामवती आठ महिनाकी गर्भवती हुँदा अचानक पेट दुख्ने तथा रक्तस्राव हुने समस्या भयो। दूरदेहातकी उनलाई पति लालबाबुले एम्बुलेन्समा लहान–३ स्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृह लगे। एम्बुलेन्स चालकले उनलाई त्यहाँ पु¥याएका थिए। चिकित्सकले तीन दिन पोलिक्लिनिकमा राखेपछि केही औषधि दिएर घर पठाए। गर्भमा भएको बच्चा सही–सलामत (ठिक) छ, औषधि खाँदै गर्नु सबै ठिक हुन्छ भनेर तीन दिनमा १३ हजार उपचार खर्च बुझाएर घर फर्केको लालबाबु सम्झन्छन्।

तर ठिक हुनु त कताकता सात दिन नबित्दै रक्तस्राव झन् बढ्यो। रामवतीलाई फेरि एम्बुलेन्समा राखेर लीलामदन पोलिक्लिनिक पु¥याउँदा डाक्टरले ‘बच्चा पेटमै मरिसकेको छ, चाँडो अप्रेसन गर्नुपर्छ, नभए आमाको ज्यानलाई पनि खतरा छ,’ भने। लालबाबुले डाक्टरलाई ‘जे राम्रो हुन्छ, त्यही गरिदिनुस्, भने। त्यसपछि अप्रेसन गरेर बच्चा झिकिदिएको भन्दै पोलिक्लिनिकले लालबाबुसँग ५० हजार रुपैयाँ असुल्यो। तर रामवतीको स्वास्थ्यमा त्यो बेला परेको असर अझैसम्म बिसेक भएको छैन। पाठेघरमा परेको असर र रक्तस्रावको उपचारका लागि उनले महिनैपिच्छे भारतीय सहर दरभंगामा धाउनु परिरहेको छ। रामवतीले भनिन््, ‘सरकारी स्वास्थ्य संस्थामा राम्रो उपचार नहुँदा हामीजस्ता गरिबका सन्तान खेर गइरहेको छन्।’

सिरहाको भगवान्पुर गाउँपालिका–७ की मनिषा यादव पहिलो पटक आमा बन्दै थिइन्। तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले उनलाई राउ अस्पताल लहान लगे। अस्पताल पुगेपछि उनलाई डा. सुशीला सिंहले अस्पतालसँगै सञ्चालन गरेको श्रेया पोलिक्लिनिकमा लगिन्। श्रेया पोलिक्लिनिकमा डा. सिंहले भिडियो एक्सरे गरेर बच्चाको अवस्था ठीक छ भनिन्। केही औषधि दिएर घर पठाइन। औषधि खाँदा पनि दुखाइ बिसेक नभएपछि भोलिपल्ट फेरि राउ अस्पताल पुगिन्। डाक्टर सिंहको सल्लाहअनुसार परिवारजनले मनिषालाई भर्ना गरे।

तर नर्सले मनिषालाई प्रसूति कक्षमा लगेको केहीबेरमै पेटभित्र बच्चा मरिसकेको जानकारी गराइन्। ‘एक दिनअघि जाँच गराउँदा बच्चाको अवस्था ठिक छ भनेर घर फर्किएकी उनलाई भोलिपल्ट जाँदा पेटभित्रै बच्चा मरेको भन्दा विश्वासै लागेन। डाक्टरको लापरबाहीका कारण आफ्नो सन्तान खेर गएको उनको गुनासो छ।

नियामक निकायको मौनताको फाइदा उठाउँदै यहाँ गैरकानुनी सेवा सञ्चालन गरेका निजी स्वास्थ्य संस्थाबाट बिरामीको धनजनमा क्षति हुने घटना पटक–पटक दोहोरिएका छन्। ज्यानै जाने घटनापछि निजी स्वास्थ्य संस्थाले पीडित पक्षलाई कानुनी कारबाहीबाट रोक्न आर्थिक लेनदेन गरेर मिलाउने गरेको पाइन्छ। आर्थिक लेनदेनका कारण निजी स्वास्थ्य संस्थाको लापरबाही ढाकछोप हुँदै आएको छ। पीडितलाई जाहेरी नदिन लोभ तथा दबाब दिन्छन्। मुद्दा कमजोर बनाउन प्रहरीलाई लेनदेन तथा शक्तिको प्रभावमा पार्छन्, जसका कारण पीडक सहजै कानुनी कारबाहीबाट उन्नमुक्ति पाउँछन्। र फेरि अवैध धन्दा निरन्तर चलिरहन्छ।

प्रकाशित: ३० भाद्र २०७६ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App