८ वैशाख २०८१ शनिबार
समाज

हिमाल चढ्दै झिँगा र लामखुट्टे

लोमान्थाङ (मुस्ताङ) - तीन हजार आठ सय मिटरको उचाइमा रहेको लोमान्थाङमा झिँगाको बिगबिगी बढेको छ। सुन्दै अचम्म लाग्ने, उचाइ र चिसो हुने ठाउँमा समेत प्रत्येक घरका भित्ता र होटलमा झिँगा भेटिन थालेका छन्। झिँगासँगै लामखुट्टेको संख्या पनि बढ्दै गएको छ। वर्ष दिनअघि मात्र मुस्ताङको सदरमुकाम जोमसोममा पाइने लामखुट्टे अहिले उच्च हिमाली क्षेत्रमा पनि भेटिन थालेको छ।

हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको छ। झिँगासँगै लामुखट्टेको जीवनचक्रसमेत लोमान्थाङमा सुरु हुन थालेपछि जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको अनुमान गर्न सकिन्छ। यसले स्वास्थ्यक्षेत्रमा गम्भीर असर पु¥याउने सम्भावना छ। ‘लामखुट्टे र झिँगा देखिएको थिएन। तर अहिले झिँगासँगै लामखुट्टे देखिन थालेका छन्,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानले भने, ‘झिँगा र लामखुट्टेसँगै नयाँ कीरासमेत देखिन थालेका छन्।’ चराहरू पनि नयाँ आउन थालेको उनको अनुभव छ। उनी भन्छन्, ‘यो ढुकुर नहुने ठाउँ हो तर पछिल्लो समय यस चराको गुँड नै देखिएको छ।’

केही वर्षयता मुस्ताङको सदरमुकाम जोमसोममा देखिन थालेको लामखुट्टे अहिले उच्च हिमाली क्षेत्रमा पनि भेटिन थालेको छ।

बालीनालीमा नयाँ कीराफट्यांग्रा देखिएका छन्। खेतबारीमा नयाँ झारसमेत मौलाउन सुरु गरेको छ। ‘नयाँ झार कुन हो भन्ने स्थानीयले चिन्नै सकेका छैनन्,’ न्यौपानेले भने, ‘हामीले पनि पत्ता लगाउन सकेका छैनौं।’ उनका अनुसार मोटरबाटोले लोमान्थाङलाई छोएसँगै सवारीसाधन पुग्न थाल्यो। जिप चल्न थालेपछि झिँगा र लामखुट्टे पनि लोमान्थाङसम्म आइपुगेको उनको ठहर छ। रोग पनि नयाँ देखा पर्न थालेको छ। छालाको रोग, पिसाबसम्बन्धी समस्या देखिन थालेको छ।

पानी नै नपर्ने ठाउँमा केही वर्षयता अपत्यारिलो पानी परेपछि समस्या निम्तिँदै गएको छ। लोमान्थाङमा मानिसको चहलपहल बढेको छ। चहलपहल बढाउने काम मोटरबाटोले गरेको छ। ‘अहिले यहाँ पनि मान्छेको गतिविधि बढी छ,’ लोमान्थाङ हेल्थपोस्टका अहेब रामबहादुर गुरुङ भन्छन्, ‘रोगको विश्लेषण गर्न गाह्रो छ।’

उनका अनुसार विगतमा काँचो मासुको प्रयोगले नाम्ले जुका मुस्ताङमा बढी भेटिन्थ्यो। तर अहिले झिँगालगायतका कीराले समस्या निम्त्याउने सम्भावना छ। उनका अनुसार अहिले सर्वसाधारणमा पिनास, ग्यास्ट्रिक, श्वासप्रश्वाससँगै उच्च रक्तचाप बढी देखिएको छ। उनी झिँगाले अझै रोगव्याधी बढाउने सम्भावना देख्छन्। झिँगा र लामखुट्टे मौलाउन थालेपछि जनजीवनमा गम्भीर असर पु-याउने उनको बुझाइ छ।

बस्तीभित्रै पुग्ने सवारीसाधनका कारण फोहोर बढेको छ। फोहोरमा झिँगा र लामखुट्टेको बासस्थान हुन्छ। नियन्त्रण गर्नेतर्फ सचेत बन्न सकिएन भने सहरी क्षेत्रमा जस्तै असर पर्ने स्थानीय बताउँछन्।

प्रकाशित: ३० भाद्र २०७६ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App