७ वैशाख २०८१ शुक्रबार
समाज

खुला तारबाट वन्यजन्तु सधैँ जोखिममा

धम्बोझी- विद्युत प्राधिकरणको खुला विद्युतीय तारले गर्दा वन्यजन्तु असुरक्षित हूँदै गएकोे छ।

यही भदौमा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्ती सामुदायिक वन जाने क्रममा विद्युतको पोलबाट लत्रिएका हजारौं भोल्टेजको तारमा कुल्चँदा हात्तीमा करेन्ट लागेको थियो।

मधुवन नगरपालिका–१ स्थित कैलासीका बासिन्दाले हात्तीलाई करेन्ट लागेको देखेपछि विद्युतको लाइन काट्न लगाएका कारण हात्ती बाँच्न सफल भएको थियो। केही मिटर अगाडि हात्ती हिँडेर लड्यो। करेन्ट लागेको हात्ती ३० मिनेटसम्म सोही स्थानमा लडिरहेको अवस्थामा उक्त निकुञ्जबाट आएका कर्मचारीले लडेको हात्तीमाथि पानी खन्याई रहेकाले केही समयपछि उठेर जङ्गलतिर गएको थियो।     

गत वर्ष पनि ठाकुरबाबा नगरपालिका–२ को बेटहनीमा गाउँलेको असावधानीले गर्दा एक हात्तीको करेन्ट लागेर मृत्यु भएको थियो। वन क्षेत्र आसपास खुला तारका कारण यस्ता थुप्रै दुर्घटना हुने गरेको तथ्य बाहिर आएका छैनन्।

विद्युत आपूर्तिका लागि लगिएको खुला तार हजारौँको भोल्टेजको हुन्छ। उच्च भोल्टेजका कारण वन्यजन्तु बढी हिँड्डुल गर्दा तारमा छुने र दुर्घटनामा पर्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख अणनाथ बरालले बताए। प्राधिकरणका तार तथा काठका खम्बाहरु जीर्ण भई विभिन्न स्थानमा भुइँमा लडेको अवस्थामा रहनाले त्यस्ता स्थानमा वन्यजन्तु दुर्घटना पर्ने सम्भावना अझै बढिरहने उनको भनाइ थियो।

करेन्टबाट वन्यजन्तुलाई क्षति नहुन दिनका लागि खुला तार र जीर्ण रहेको विद्युतीय पोलका विषयमा छिट्टै नै प्राधिकरणसँग समन्वय गरेर निकास निकालिनेसमेत संरक्षण प्रमुख बरालको भनाइ थियो।     

हजारौं भोल्टेजका तार वन क्षेत्रका आसपासमा रहेकाले वन्यजन्तु बढी ओहोरदोहोर गर्ने स्थानमा दुर्घटना हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत डा. रविन कडेरियाले बताए।     

वन क्षेत्र र जङ्गली जनावर ओहोरदोहोर गर्ने स्थान पहिचान गरी सो स्थानमा सुरक्षाका लागि एबिसी प्लाष्टिकले कभरेज गरिएको तार प्रयोग गर्नुपर्ने र जङ्गलको छेउछाउ लगाइएका यस्ता तारका सम्बन्धमा समयमै सावधानी नअपनाइए आगामी दिन पनि वन्यजन्तुमा करेन्ट लागेर ठूलो दुर्घटना हुने क्रम नरोकिने उनको भनाइ थियो।

वन क्षेत्र आसपासका गाउँमा विद्युत पुर्‍याउनका लागि तानिएका तारले गर्दा वन्यजन्तु दुर्घटनामा पर्नसक्ने विद्युत प्राधिकरण गुलरिया शाखाका प्रमुख परितोषकुमार चौधरीले बताए। होचा खम्बा र वन्यजन्तु हिँड्ने स्थानमा खुला तारमा जङ्गली जनावरले छुँदा दुर्घटना हुन सक्ने भएकाले खुला तारको सट्टामा एबिसी तार प्रयोग गर्न पहल गरिने उनले जानकारी दिए।     

निकुञ्ज क्षेत्र तथा जङ्गली जनावर बढी ओहोरदोहोर गर्ने स्थान पहिचान गरी सो स्थानमा के गरेर वन्यजन्तुलाई सुरक्षित पार्न सकिन्छ भन्नेबारे छिट्टैै उक्त राष्ट्रिय निकुञ्ज र विद्युत प्राधिकरण बसेर ठोस निष्कर्ष पनि निकालिने शाखा प्रमुख चौधरीको भनाइ थियो।रासस  
 

प्रकाशित: २९ भाद्र २०७६ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App