coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई गगनको प्रश्नः हाम्रो सभापतिको हात भाँच्ने नेकपा नेता कहिले पक्राउ पर्छन?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले बाँके  घटनाबारे सरकारले तथ्यलाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै सांसद थापाले तथ्यलाई तोडमोड गर्ने, अपराधीको नाम लुकाउने कार्यलाई  स्वीकार्य नहुने चेतावनी दिए। ‘सरकार तथ्यलाई तोडमोड गर्छ, अपराधीको नाम समेत लुकाउँछ। हामीले त्यसलाई पत्याउनुपर्ने छ। हामीलाई यो स्वीकार्य छैन’, उनले भने।  

बाँकेको घटनाको दोषीलाई कारवाही नगर्ने बेला संसद चल्न नदिने भन्ने आफूहरुको मागलाई शीर्ष नेताहरुले ‘सरकारलाई अफ्ठेरोमा नपारौ, सरकारले जवाफ दिन्छ’ भनेर रोकेको तर सरकार भने तथ्य तोडमोडमा लागेको उनको भनाई थियो।

थापाले कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने नेकपाका नेतालाई कहिले पक्राउ गर्ने भनी प्रश्न गरे। ‘सरकारको तर्फबाट गृहमन्त्रीजीले सदनलाई किटानी जाहेरीमा नाम उल्लेख भएका मानिसहरु नेपाल कम्युनिस्ट पार्टीका नेताहरु थिए ति पक्राउ पर्छन भनेर आवस्त गर्नुभयो भने हामीले चित्त बुझाउने ठाउँ रहन्छ’, उनले भने।

नेपाली कांग्रेसको छाया सरकारका गृहमन्त्री दिलेन्द्र बडूले घटनामा नेकपाका वडा अध्यक्ष सुमन मल्ल संलग्न रहेको भन्दै उनलाई कारवाही हुन्छ कि हुँदैन भनी प्रश्न गरे। ‘किटानी जाहेरी दिएको व्यक्तिलाई कारवाही हुन्छ कि हुँदैन’, उनले भने।

अर्का सांसद पार्वती डिसी चौधरीले सरकारको आडमा अंरिगाहरुले हमला गरेका बताइन्। उनले आफै कार्यकर्ता पठाएर आक्रमण गराउने, उल्टै कांग्रेसलाई राजनीतिकरण नगर भन्नु अशोभनीय रहेको बताइन्। सांसद सञ्जय गौतमले ढाकछोप गरेर कति दिन चल्छ? भनेर प्रश्न गरे। 

जवाफमा गृहमन्त्री थापाले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दे दोषीलाई कारवाही हुने प्रतिबद्धता जनाए। उनले बाँके घटनामा संलग्न निर्मल खत्री, रोशन सिंह ठकुरी र लोक बहादुर शाहीलाई २८ गते राती नै नियन्त्रणमा लिइएको र संलग्न अन्यको खोजी तीब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।

उनले खजुरा गाउँपालिका वडा नम्बर १ मा हेमन्त थापा, लोकबहादुर शाही लगायत ६ जनाको समूहले कार्यक्रमलाई विथोल्ने प्रयास गरेको, होहल्लाको क्रममा सभापति किरण कोइरालाको हात भाँच्चिएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनालाई राजनीतिक विषयको रुपमा नलिन आग्रह गरे।

उनले सरकारले आफ्नो कारवाहीको प्रक्रियालाई अगाडि बढाइसकेको भन्दै कानुन मिच्ने र शान्ति प्रक्रियालाई खलल पुर्याउनेलाई कडा कारवाही गर्न सरकार दृढ रहेको बताए।

प्रकाशित: २९ भाद्र २०७६ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App