८ वैशाख २०८१ शनिबार
समाज

स्याउ उत्पादक कृषकलाई बजार अभावले समस्या

दार्चुला- अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन्। बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि।

लामो समयदेखि स्याउ खेतीमा लागेका धामीले गत वर्ष प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ ‘जोन’ कार्यक्रमअन्तर्गत थप स्याउ लगाए। अहिले उनको बारीमा झण्डै चार–पाँच सय बोट स्याउ छन्।     

सदरमुकाम खलङ्गाबाट दुई दिन लगाएर पुगिने पाथामा फलेको स्याउ बिक्री गर्न बजार अभाव छ। नजीकको बजार खण्डेश्वरी हो। अहिले गाउँपालिका केन्द्र रहेको खण्डेश्वरी बजारमा झण्डै दुई दर्जनभन्दा बढी पसल सञ्चालनमा छ।   

अपी हिमालसम्म सडक सञ्जाल पुगेको छैन। अस्थायी रुपमा गाउँपालिका–५ ओखल रेलासम्म सडक गुड्ने गरे पनि त्यहाँबाट आठदेखि १० घण्टा पैदल हिँडेपछि पाथा पुगिन्छ। गाउँबाट गाडीसम्म स्याउ ल्याउनका लागि प्रतिकिलो ४० रुपैयाँ भाडा पर्छ। सडक सञ्जाल नपुगेका कारण यहाँ उत्पादन भएको स्याउले बजार नपाएको अध्यक्ष धामी बताउँछन्।     

सडक नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाएको छैन। अपी हिमाल गाउँपालिका–३ र ४ मा अहिले स्याउ उत्पादन भएको छ। यही क्षेत्रमा गत वर्षदेखि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत समेत स्याउ खेती गरिएको छ। अहिले यस क्षेत्रमा उत्पादन हुने स्याउको बजार व्यवस्थापन समस्या भएको उनले बताए।    

स्याउ सुपर जोन कार्यक्रम सञ्चालक समितिका अध्यक्षसमेत रहेका धामीलाई यो वर्ष उत्पादन भएको स्याउ बिक्री गर्न धौधौ छ। स्याउ जोन बनाएर स्याउ खेतीतर्फ आकर्षण गराए पनि स्याउ बिक्री गर्ने भण्डार गर्ने तथा स्याउका परिकार बनाउने तालीम र उपकरण नहुँदा स्याउ उत्पादक कृषक समस्यामा परेका छन्।     

अपी हिमालमा उत्पादन भएको अर्गानिक स्याउ अहिले खण्डेश्वरी बजारमै प्रतिकिलो १ सय ५० रुपैयाँमा बिक्री हुन्छ। सबै स्याउ त्यहीँ बिक्री हुने अवस्था छैन।     

मार्मा गाउँपालिका–५ का स्याउ उत्पादक कृषक इन्द्रसिंह महताको बारीमा ५ सय ओटा स्याउका बोट छन्। दशौँ क्वीन्टल स्याउ उत्पादन हुन्छ। विसं २०६७ देखि स्याउ खेती शुरु गरेका महतालाई स्याउ गाउँमा जोगाउ नै मुस्किल भएको छ। उत्पादन भएको स्याउसमेत असिना र जङ्गली जनावरले सखाप पार्दा उनी निराश छन्।     

स्याउ ‘सुपर जोन’ सञ्चालक समितिका अध्यक्ष धामी स्याउ उत्पादक किसानलाई स्याउको अचार बनाउने, स्याउका परिकार बनाउने र भण्डार गर्ने उपकरणसमेत सहयोग गर्नुपर्ने बताउँछन्।     

व्यासको छाङ्गरुमा स्याउ उत्पादन गर्दै आएका जीतसिंह बोहराले स्याउ प्रशोधनका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताए। उनले एक हजारभन्दा बढी स्याउ व्यासमा फलाएका छन्। व्याससम्म नेपालतिर घोरेटो बाटोसमेत छैन्।     

मान्छे हिँड्नका लागि भारतीय बाटो प्रयोग गर्ने गरिए पनि त्यो बाटो भएर दार्चुलासम्म स्याउ ल्याउन निकै महँगो छ। उनले केही स्याउ भारतीय सुरक्षाकर्मीलाई ८० रुपैयाँ भारतीयमा बिक्री गर्ने गरे पनि बाँकी स्याउ फाल्ने गरेका छन्। स्याउबाट मदिरा तथा बाँकी स्याउ त्यतिकै सडाएर फाल्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे।     

गत वर्षदेखि दार्चुलामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत स्याउ जोन कार्यक्रम लागू भएको हो। गत वर्ष कार्यक्रम अन्तर्गत यहाँका अपी हिमाल, नौगाड, मार्मा, दुहुँ र व्यास गाउँपालिकामा स्याउ खेती गरिएको हो।     

गत वर्ष पाँच वटा स्थानीय तहका १६ वटा कृषक समूह र चार जना उद्यमीलाई जुम्लाबाट ल्याइएका १४ हजार २ सय र इटालीबाट ल्याइएका गोल्डेन डेलिसियस जातका ७ सय स्याउका बोट वितरण गरिएको स्याउ जोन एकाइ दार्चुलाका निमित्त प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिए। गत वर्षको कार्यक्रम मार्फत जिल्लाका ४ सय ४० कृषक लाभान्वित भएको कार्यालयले जनाएको छ।     

चालू आवमा नौ वटै स्थानीय तहमा स्याउ र ओखर खेती विस्तारका लागि कूल एक करोड ५१ लाख ४० हजार रुपैयाँ खर्च गरिने कार्यालयले जनाएको छ। “स्याउका लागि बजार व्यवस्थापन चुनौती देखिएको छ”, कार्यालय प्रमुख ओझाले भने, “स्याउ प्याकेजिङ र परिकार निर्माणमा जोड दिनुपर्छ।”रासस   

प्रकाशित: २९ भाद्र २०७६ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App