७ वैशाख २०८१ शुक्रबार
अन्य

आकर्षक सयपत्री फुलाउने विधि

दशैं-तिहार नजिकिँदै गर्दा घर तथा गार्डेनमा सयपत्री रोपेर सजाउने नेपालीको परम्परा नौलो हैन । विशेषगरी दशैं–तिहारमा गाउँघरका फुलबारी होस् वा आधुनिक सहरिया घर तथा गार्डेनै किन नहोस् अधिकांशले सयपत्री फुलाएको देखिन्छ ।

सयपत्री नेपालमा सर्वाधिक रुचाइने फूलमध्येमा पर्छ । चाड पर्व, पूजापाठ तथा कुनै उत्सवमा सजाउन होस् वा अन्य कार्यमै किन नहोस् सयपत्रीको नेपालमा धेरै प्रयोग हुन्छ । तिहारमा त यसको माग उच्च हुने गरेको छ नै । हेर्दा आकर्षक र फुलाउन पनि सहज हुने भएकाले यो फूलको माग नेपालमा भएको देखिन्छ ।

हेर्दा सुन्दर मात्रै हैन सयपत्रीमा औषधीय गुणसमेत हुने बताउँछन् वनस्पति विज्ञ कुमार केसी । गाउँघरमा शरीरमा कुनै चोट लागेको वा काटेको खण्डमा काटेको ठाउँमा सयपत्रीको पात माडेर लगाउँदा रगत बग्न रोकिने उनको तर्क छ । सयपत्रीमा नेपालीको गहिरो प्रेम रहेको केसीको तर्क छ ।

सयपत्री फुलाउने तरिका
सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, यस फूललाई फुलाउन त्यत्तिकै मिहिनेत गर्नु पर्छ । काठमाडौंको बानेश्वरस्थित रोजडेल नर्सरीका देव प्रकाश राई राम्रो र सुन्दर सयपत्री फुलाउन बिरुवा रोप्दादेखि नै विशेष ध्यान दिनुपर्ने बताउँछन् । राई भन्छन्,‘सानै बिरुवा स्वस्थ नभए रामो फूल फुलाउन मुस्किल पर्छ ।’ त्यसैले सानै बिरुवा रोप्दादेखि नै हावा पानी र मलजलमा विशेष ध्यान दिनु पर्छ ।

फ्लोरीकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ बिरुवा रोप्दा त ध्यान दिनै पर्‍यो बिउ छनोट गर्दानै स्वस्थ र सही बीउ छनौट गनुपर्ने सुझाउँछन् । स्वस्थ बीउ भएको खण्डमा सुन्दर फूल फुलाउन सकिने उनी बताउँछन् । ‘सुन्दर र आकर्षक सयपत्री फुलाउन तीनपटक मल हाल्न आवश्यक हुन्छ,’ श्रेष्ठले भने, ‘ब्याडबाट सारिसकेपछि ठूलो पोलीमा सार्दा, कोपिला लाग्दा र फूल फुलेको समयमा मल हाल्नु पर्छ ।’ विशेषगरी व्यावसायिक रुपमा गरिएको सयपत्रीको मधुमासमा बीउ हालिन्छ । यसमा उम्रन सहज हुन्छ । बीउ खेर जाँदैन । मधुमास एक नरिवलको जट्टा पिसेर बनाएको एक प्रकारको धुलो हो ।

सामान्यतः हाइब्रिड जातका सयपत्रीको बीउ हालेको चार दिनमा उम्रन्छ । बीउ उम्रिएपछि सानो पोलीमा सारिन्छ । बीउ उम्रेको चार दिनपछि सानो पोलीमा सारिन्छ । सानो पोलीमा सारेको करिब दस दिनमा ठूलो पोलीमा सारिन्छ । बीउ हालेको ७५ दिनमा सयपत्री फुल्न थाल्छ ।

घामपानी मिलेको अवस्थामा गमला तथा गार्डेनमा रोपेको होचो जातको हाइब्रिड सयपत्री दुईदेखि तीन महिनासम्ममा राम्रो फुलाउन सकिने केसी बताउँछन् । यसरी हेर्दा फुलिसकेको सयपत्री पनि राम्रै टिकाउन सकिन्छ । फूल फुलिसकेपछि भने फूलको थुँगामा पानी हाल्नु हुन्न फुलको थुँगामा पानी परेको खण्डमा फुल कुहिने तथा नटिक्ने समस्या हुन्छ ।

अग्लो जातको माला उन्ने किसिमको सयपत्री भने पाँच महिनासम्ममा राम्रो फुलाउन सकिन्छ ।
सानोमा धेरै मल हाल्न हुन्न सानैमा धेरै मल हाल्दा बिरुवा मर्ने जोखिम हुन्छ । हल्का नजानिदोगरी सानोमा मल हाल्न सकिन्छ । तर विशेषगरी ठूलो पोलीमा सार्दा भने राम्रोसँग मल हाल्नु पर्छ ठूलो पोलीमा सार्दा प्रतिबोट एकदेखि दुई चम्चासम्म मल हाल्न सकिन्छ । पिना मल एक चच्चा हाल्न सकिन्छ भने गाईको पुरानो भएर पाकेको मल एक मुठीसम्म हाल्न सकिने रोजडेलका राई बताउँछन् । बिरुवाको कुहिएको पत्करको मलमा पनि राम्रो सयपत्री फुलाउन सकिने केसीको सुझाव छ ।

(फ्यान) का अध्यक्ष श्रेष्ठ सयपत्रीमा सकेसम्म प्रांगारिक मल नै हाल्न सुझाउँछन् । प्रांगारिक मलले फूलको बिरुवा तथा फूल लामो समयसम्म टिक्ने उनले बताए । रासायनिक मल प्रयोग नगर्न हर्टिकल्चर विशेषज्ञको सल्लाह छ । रासायनिक मलले बिरुवा तथा फूलको आयु छोट्याउँछ ।

राम्रो सपयत्री फुलाउनका लागि ब्याडबाट सानो पोलीमा बिरुवा सार्दा नै मल र माटोको सन्तुलन मिलाउनु पर्छ । एक बोरा माटोमा चार बोरा धानको भुसको खरानी मिसाउन सकिन्छ । जुन नर्सरीमा पाइन्छ । यसरी खरानी मिस्दा माटो त हल्का हुने नै भयो बिरुवाको जरामा कीरा लाग्ने सम्भावना समेत कम हुने रोजडेलका राईको अनुभव छ ।

काठमाडौंलगायत सहरी क्षेत्रका नर्सरीमा उत्पादन गरिएका सानो पोलीको सयपत्रीको बिरुवा प्रतिगोटा २० रुपैयाँ पर्छ भने ठूलो पोलीको ४० रुपैयाँ पर्ने राई बताउँछन् । गमलामा रोपेको सयपत्री भने गमलाको साइजअनुसारको रेट हुन्छ । आठ इन्चको गमलामा रोपेको २०० देखि २५० पर्छ ।

गमलामा धेरै बोट रोपेर होचोमै ढपक्क फुलाउँदा मनै आनन्दित बनाउँछ, सयपत्रीले । गार्डेनमा भुइँमा ठाउँअनुसार गोलो वा लामो गरी रोप्न सकिन्छ । रक गार्डेन भए ठाउँठाउँमा पनि रोप्न सकिन्छ ।

स्वच्छ हावापानी
सयपत्री फुलाउन सफा तथा स्वच्छ हावापानीको आवश्यक हुन्छ । स्वच्छ हावापानीमा बिरुवा स्वस्थ हुनुका साथै राम्रो फुल्छ ।

सयपत्री फुलाउन मात्रै हैन फुलेको फूल टिकाउन पनि मलजलमा विशेष ध्यान पु¥याउनु पर्छ । न त धेरै पानी हाल्न हुन्छ न त सुख्खा नै हुन हुन्छ । ५० प्रतिशतभन्दा चिस्यान घट्न दिन नहुने श्रेष्ठ सुझाउँछन् । हातका औँलाले माटो खोतल्दा दुई इन्चभन्दा तल चिसो हुनुपर्ने विशेषज्ञको सुझाव छ ।

सामान्यतः नेपालमा माघ महिनादेखि मंसिर/पुससम्म राम्रो सयपत्री फुलाउन सकिन्छ । वर्षादको सिजनमा भने पानीले केही बिगार्न सक्छ । वर्षादको सिजनमा पनि पानी नजम्ने ठाउँमा राम्रै सयपत्री फुलाउन सकिन्छ । अन्य मौसमको तुलनामा वर्षादमा भने सयपत्रीको बोट केही अग्लो हुन्छ । फूल कम टिक्छ । गर्मीमा फूलको जरा पनि धेरै फैलिन्छ ।

गर्मी सिजनमा जमिनमा सयपत्री रोप्दा करिब १५ इन्चको दूरिमा रोप्न (फ्यान) का अध्यक्ष श्रेष्ठको सुझाव छ । जाडोमा भने कम जरा फैलिने भएकाले १२ इन्चको दूरीमा रोप्न सकिन्छ । त्यसैगरी गमलामा रोप्दा जाडो मौसममा आठ इन्चको गमलामा पनि राम्रो सयपत्री फुलाउन सकिन्छ भने गर्मी मौसममा १०/१२ इन्चको गमलामा रोप्नु उचित हुने रोजडेलका राई बताउँछन् ।

वर्षादको समयमा भने पानी जम्ने किसिमका ठाउँमा नरोप्न वनस्पति विज्ञ केसीको सल्लाह छ । वर्षादको सिजनमा जमिन तथा गार्डेनमा रोप्दा पानी जम्ने ठाउँ भए ड्याङ बनाएर रोप्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ ।
अफ्रिकन र बोनन्जा भेराइटको सयपत्रीले भने तुलनात्मक रुपमा पानी सहने भएकाले यी जातका फूल वर्षादको सिजनमा पनि राम्रै फुलाउन सकिने श्रेष्ठ बताउँछन् । इन्का जातको सयपत्रीले भने धेरै पानी सहँदैन । धेरै पानी भएको अवस्थामा कुहिने जोखिम हुन्छ ।

सयपत्री नेपालको तराई भू–भागदेखि पहाडी र हिमाली भू–भागसम्म फुलाउन सकिन्छ । आठ डिग्री देखि ४० डिग्रीसम्मको तापक्रममा फुलाउन सकिने हर्टिक्लचर विशेषज्ञ बताउँछन् । ‘गर्मी ठाउँमा पनि सयपत्री राम्रै फुलाउन सकिन्छ,’ वनस्पति विज्ञ केसीले भने ।

रोगबाट बचाउने उपाय
सयपत्रीलाई जोगाउन बिरुवाबाटै स्याहार सुसार त गर्नै पर्‍यो । सयपत्रीमा रोगको संक्रमण हुने जोखिम त्यत्तिकै हुन्छ । रोग नलाग्नका लागि सानैबाट विषादीको प्रयोग गर्न सकिन्छ । सयपत्रीमा रोग तथा कीराले दुःख दिन्छ । यसमा लाइकीरा, झुसिलकीरा, फंगजको समस्या त्यतिकै हुन्छ । कीराको व्यवस्थापनका लागि ‘इमिराक्लोफिड’ एक लिटर पानीमा डेढ एम एल १५/१५ दिनमा तीनपटक छर्न श्रेष्ठको सल्लाह छ । यसरी विषादी छर्दा लिफमाइनर पात जोत्नेजस्ता किसिमका कीराबाट बिरुवा बचाउन सकिन्छ ।

‘रेक्ट्राकोनोजोल’ जस्ता विषादी प्रयोग गर्न सकिन्छ । सानै बिरुवाबाट विषादी हाल्दा विभिन्न रोगबाट बिरुवा बचाउन सकिने रोजडेलका राई बताउँछन् । बजारमा रोगको प्रकृतिअनुसारका विषादी पाइन्छन् । नर्सरी व्यवसायीले मात्रै हैन घर तथा गार्डेनमा सयपत्री रोप्नेले पनि विषादीको प्रयोग गरेर सयपत्री स्वस्थ र सुन्दर फुलाउन सकिन्छ । अर्गानिक किसिमका विषादी पनि प्रयोग गर्न सकिन्छ ।
 
थरिथरि जात
सयपत्री फूल नेपालको रैथाने नभई आयातित फूल भएको केसी बताउँछन् । सयपत्रीलाई ट्यागेटेस पनि भनिन्छ । यसलाई अंग्रेजीमा मेरिगोल्ड भनिन्छ । ट्यागेटेसको व्याख्या कार्ल लिनायुसले सन् १७५३ मा गरेको पाइन्छ । यो सूर्यमुखी परिवारअन्तर्गतको फूलमा पर्छ । यो ६ सेन्टिमिटरसम्म फैलन्छ ।

नेपालमा व्यावसायिक रुपमा ‘ट्यागेस्टेस’,‘फ्रन्च’,‘कलकत्ते’,‘अफ्रिकन’ जस्ता जातका मेरिगोल्डको खेती हुन्छ । पछिल्लो समय कलकत्ते इन्डियनको विकल्पको रुपमा ‘अफ्रिकन’ सयपत्रीको नेपालमा व्यावसायिक रुपमा उत्पादन हुन थालेको श्रेष्ठ बताउँछन् । इन्डियनको भन्दा अफ्रिकनको फूलको थुँगा राम्रो तथा आकर्षक हुन्छ ।  

गार्डेनकालागि भने ‘इन्का’ जातको सयपत्री नेपालमा उत्पादन  गरिन्छ । इन्का विशेषगरी घर तथा गार्डेनमा रोपेर होचैमा फुलाउन सकिन्छ । राम्रोसँग मलजल गर्ने हो भने २० थुँगाभन्दा बढी फुलाउन सकिन्छ ।  गमला होस् वा जमिनमा हाइब्रिड विभिन्न जातका सयपत्री होचोमा ढकमक्कै फुलाउन सकिन्छ । हाइब्रिड गरेको होचो जातको सयपत्री जाडोमा करिब एक फिट र गर्मीमा दुई फिटसम्मको हुन्छ ।  

ओरेन्ज, गोल्डेन र एल्लो (पहेँलो) रङ सयपत्रीको मन पराइने रङ हुन् । सेतो रङको सयपत्री पनि पाइन्छ ।  अत्यधिक मन पराइने कलर भने ओरेन्ज कलर भएको रोजडेलका राई अनुभव सुनाउँछन् । राइले भने, ‘अरु रङ भन्दा ओरेन्ज नै ग्राहकले बढी मन पाराउँछन् ।

प्रकाशित: २९ भाद्र २०७६ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App