१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टेक्निकल्ली राम्रो, मार्किङमा कमजोर

काठमाडौं- जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर काजुयुकी तोडाले शनिबार नेपाली टोली प्रविधिक रूपमा राम्रो भए पनि विपक्षी खेलाडी ‘मार्किङ’मा कमजोर रहेको औंल्याएका छन्।

नेपाल र फ्रेन्ड्स अफ जापानबीच शनिबार भएको मैत्रीपूर्ण खेलपछि तोडाले यस्तो प्रतिक्रिया दिएका हुन्। सातदोबाटोस्थित एन्फा मुख्यालयमा शनिबार नेपालले १–० को विजय हासिल गरेको हो। नेपालको जितमा नवयुग श्रेष्ठले ५७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

फ्रेन्ड्स अफ जापान टोलीका प्रशिक्षक रहेका तोडाले हार–जितभन्दा पनि टोलीले फरक खालको खेल प्रदर्शन गर्न सकेकोमा खुसी लागेको बताए।

‘खेल जित्नकै लागि खेल्ने हो तर हारजित भन्दा राम्रो खेल पस्कन सकेकोमा हामी खुसी छौं। हामीले दुई दिन मात्र अभ्यास गरेका थियौं र आजको खेलमा अवसरहरू पनि सिर्जना भए तर गोल हुन सकेन,’ इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामबाट समेत लोनमा खेलिसकेका ३८ वर्षे तोडाले भने,‘जितका लागि नेपाललाई बधाई छ। प्राविधिक रूपमा टोली राम्रो छ। टिम गेम छ र स्पिड पनि राम्रो छ। तररक्षापंक्तिमा धेरै ग्याप थियो र मार्किङमा अझै सुधार गर्नुपर्छ।’

फ्रेन्ड्स अफ जापानका भेट्रान तथा स्थानीय क्लब लगायत विभिन्न देशमा व्यावसायिक फुटबल खेलेकाखेलाडीसम्मिलित टोली हो।

नेपालले भने मलेसियामा सोलिडारिटी कप जितेर फर्किएकै टोलीमैदानउतारेको थियो। नेपाल–जापान दौत्य सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठका अवसरमा कलरबाथ र अखिल नेपाल फुटबल संघ (एन्फा) ले संयुक्तमैत्री खेल आयोजना गरेका हुन्।

सेन्टर ब्याक अनन्त तामाङ घाइते भएका कारण नेपालका प्रशिक्षक ग्योटुको कोजीले मिडफिल्डर विक्रमलामालाई रक्षापंक्तिमा खेलाए भने फरवार्ड विमल घर्तीमगरले मिडफिल्ड सम्हालेका थिए।

पहिलो हाफमा लामो लामो प्रहार गरेको नेपालले गोलका लागि ५७ औं मिनेटसम्म कुर्नुपरेको थियो। विमलले बायाँ भागबाट गरेको क्रस जापानी टोलीका गोलकिपर नोजावा योसुकीले राम्रोसँग नियन्त्रण लिन सकेनन्। पेनाल्टी बक्समा रहेका विक्रम लामाले मिलाइदिएको बलमा नवयुग गोल गर्न सफल भए।

जितपछि प्रशिक्षक कोजीले यो अवसरमा आफ्ना खेलाडीका लागि राम्रो अनुभव भएको बताए। उनले भने, 'यस्तो खेलबाट खेलाडीको स्तरवृद्धिमा सहयोग पुग्दछ। नेपाली खेलडीमा पुरै समय खेल्न सक्ने क्षमता वृद्धि हुँदै आइरहेको छ।'

उनले विपक्षी टोली राम्रो टोली भएको बताए। उनले भने, 'घाँसे मैदानमा खेलिरहेकाले यहाँ कृत्रिम मैदानमा खेल्दा उनीहरूले स्वाभाविक प्रदर्शन गर्न सकेनन्। तर उनीहरू राम्रो टोली हो। यस्तो खेलबाट हाम्रा खेलाडीको स्तरवृद्धिमा सहयोग पुग्नेछ।’

कोजीले आफ्ना खेलाडीले तीन निश्चित गोल बचाउँदै एक गोलले जितेको बताए।  यस्ता खेल नियमित खेल्न पाए स्तर सुधार्नमा मद्धत पुग्ने उनको अपेक्षा थियो।

अन्तिम समयमा आक्रामक बनेको फ्रेन्ड्स अफ जापानका वैकल्पिक खेलाडी युदाई इमुराले गरेको प्रहार बारमा लागेर फर्कियो।राम्रो क्लियर नभएको बलमा इमुराले पुनः गरेको प्रहार नेपालका वैकल्पिक गोलरक्षक विकेश कुथुले बचाए। इमुरा ७८ औं मिनेटमा योहेइ इवासाकीको स्थानमा मैदान छिरेका थिए। अन्तिम मिनेटमा पेनाल्टी बक्स नजिक पाएको फ्रिकिक सदुपयोग गर्न नसकेपछि फ्रेन्ड्स अफ जापानले हार टार्न सकेन। मिडफिल्डर रोतारो नाकानोको फ्रिकिक थोरैले अकासिएको थियो।

खेलबाट संकलित रकम भूकम्प प्रभावित जिल्लाका खेलकुद विकास र विद्यालय पुनर्निर्माणमा खर्च गरिने आयोजक कलरबाथले जनाएको छ। नेपाल बसाइका क्रममा जापानी टोलीले भूकम्प प्रभावित विश्व सम्पदा सूचीका क्षेत्रहरू अवलोकन गर्नेछ।

प्रकाशित: ५ मंसिर २०७३ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App