८ वैशाख २०८१ शनिबार
अर्थ

राष्ट्रिय कृषि गणनाको तयारी हुँदै

मकवानपुर - राष्ट्रिय कृषि गणना २०७८ को तयारीस्वरुप धमाधम सरोकारवाला निकायसँग छलफल भइरहेको छ। यसै सन्दर्भमा केन्द्रीय तथ्यांक विभागले बिहीबार हेटौंडामा कृषि गणनामा समेटिने विषयवस्तुबारे हेटौंडामा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ।

तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्यांक उपलब्ध गराउन छनौट विधिबाट राष्ट्रिय कृषि गणना गर्न लागेको केन्द्रीय तथ्यांक विभागका निर्देशक बद्रीकुमार कार्कीले बताए। ‘कृषि गणनामा समावेश गरिने विषयवस्तुबारे सरोकारवालासँग सुझाव संगलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘विभिन्न प्रदेशसँगै स्थानीय तहमा समेत प्रश्नावलीबारे सुझाव संकलन गरिने छ।’

विसं २०१८ देखि हरेक १०–१० वर्षमा हुँदै आएको राष्ट्रिय कृषि गणना २०७८ सातौं पटक हो। राष्ट्रिय जनगणना २०७८ भएको छ महिनापछि गरिने कृषि गणनामा दुई लाख कृषक परिवारको तथ्यांक संकलन गरिने निर्देशक कार्कीले बताए।

‘महिलाको नाममा जग्गा, कृषिमा प्रयोग भएको विषादीको प्रकार, च्याउ खेती, पुष्पखेती, माछा तथा मौरीपालनको तथ्यांक पहिलोपटक संकलन गर्दैछौं,’ उनले भने, ‘कृषि बिमा र अनुदान, भूकम्पीय क्षति, जलवायु परिवर्तनका असर, कृषि कामदार, हाटबजारलगायतको तथ्यांक पनि कृषि गणनामा पहिलोपटक समावेश गर्छौं।’

कृषि गणनामा जग्गाको क्षेत्रफल र उत्पादन, कित्ता संख्या, जग्गाको उपभोग एवं उपयोग, सिँचाइको अवस्था, मलखाद तथा बीउबिजनको प्रयोग, पशुपन्छीको संख्या आदिलाई समेटिएको निर्देशक कार्कीले बताए। ‘संघीय संरचनाअनुसार आवश्यक पर्ने कृषि तथ्यांकको प्रवाह गर्न साथै समयानुकूल जल्दाबल्दा विषयवस्तु उजागर गर्न कृषि गणनाले सहयोग गर्नेछ,’ उनले भने।

कृषि गणनामा कृषक परिवारको लगत, कृषक परिवार प्रश्नावली र सामुदायिक प्रश्नावली रहने बताउँदै उनले सामुदायिक प्रश्नावली कृषि क्षेत्रबारे वडास्तरमा सरोकारवालासँग सामूहिक रुपमा संकलन गरिने बताए। हिमाली र पहाडी क्षेत्रमा चार आना वा तराई क्षेत्रमा आठ धुर जग्गामा कृषि खेती गर्ने वा कम्तीमा एउटा गाई वा भैंसी वा पाँचवटा भेडा वा बाख्रा पाल्नेलाई कृषक मानेर तथ्यांक संकलन गर्ने विभागको तयारी छ।

विगतको कृषि गणना जिल्लास्तरसम्मको मात्र भएकामा आगामी कृषि गणना भने गाउँपालिका, नगरपालिका र प्रदेशस्तरीय तथ्यांक पनि हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की, प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राडा रामचन्द्र ढकाल, पत्रकार, कृषकलगायतले कृषि गणनालाई प्रभावकारी र स्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २९ भाद्र २०७६ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App