८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

युरोपेली संघ प्रमुखसँग भेट्दै बेलायती प्रधानमन्त्री

बोरिस जोनसन

लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी सोमबार ब्रसेल्समा बेलायत युरोपेली संघबाट बाहिरिने विषयमा एक महत्वपूर्ण भेटवार्ता गर्ने बताएका छन् । युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको प्रयासको पछिल्लो प्रयासस्वरुप उनले महत्वपूर्ण भेटवार्ता गर्न लागेको बताइएको छ ।
युरोपेली संघका अध्यक्ष माइकल बार्नियरसँग सोमबार भेटवार्ता गर्ने बारेमा प्रधानमन्त्री जोनसनले शुक्रबार आयोजित एक कार्यक्रममा जानकारी दिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

उनले युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरसँग पनि भेट तथा ब्रेक्जिटका विषयमा आवश्यक परामर्श गर्ने सो कार्यक्रममा बताए । उक्त भेटमा आफूहरुले के कसरी काम गरिरहेका छौं र आगामी दिनमा त्यसले के कस्तो परिणाम दिन सक्छ भन्ने बारेमा आवश्यक परामर्श गर्ने र युरोपेली संघका ती व्यक्तित्वलाई जानकारी दिने प्रधानमन्त्री जोनसनले बताए । ‘म यस काममा आशावादी छु । मलाई लाग्छ बेलायत युरोपेली संघबाट बाहिरिने छ ।

हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौं,’ कार्यक्रम गरेको सम्बोधनमा प्रधानमन्त्री जोनसनले भने, ‘जेजस्तो भएपनि हामीले तय गरेको सन् २०१९ को अक्टोबर ३१ को मितिसम्ममा युरोपेली संघबाट हामी बाहिरिने नै छौं ।’ युरोपका सञ्चारमाध्यमका अनुसार पछिल्लो समय जोनसनलाई बेलायत युरोपेली संघबाट बाहिरिने काम पूरा गर्न निकै नै कठिन हुने देखिएको छ ।

‘यसका लागि प्रधानमन्त्री जोनसनले धेरै कुरा मिलाउनुपर्ने छ र धेरै भन्दा धेरै संघर्ष गर्नुपर्ने देखिन्छ,’ बेलायत र युरोपका सञ्चारमाध्यमको विश्लेषण छ । युरोपेली संघसँग बेलायतको भविष्यका बारेमा बेलायती प्रधानमन्त्री जोनसनले अहिले पनि संघर्ष गरिरहेको बताइन्छ । उनले केही साता अघि मात्र बेलायतको प्रधानमन्त्री भएपछि यसै विषयमा आफ्नो संघर्ष थालेका थिए ।

उनले यस विषयका निर्णयहरुमा पनि बेलायतमा चर्काे विरोधको सामना गरिरहनु परेको छ । जोनसनले गरेको बेलायती संसद्को निलम्बनको निर्णय गत मंगलबार सर्वाेच्च अदालतमा पुगेको छ । स्कटल्यान्डको अदालतका न्यायाधीशले संसद् निलम्बन गर्न बेलायती प्रधानमन्त्री जोनसनले महारानी एलिजाबेथलाई दिएको सल्लाह गलत भएको धारणा सार्वजनिक गरिसकेका छन् ।

एनले अक्टोबर १४ सम्मका लागि निलम्बन गरेको संसद्को अधिवेशन त्यस समय अगावै बोलाउनका लागि विपक्षीको चर्काे दबाब सामना गरिरहेका छन् । यसरी  प्रधानमन्त्री जोनसनका विरुद्धमा संसद्, अदालत र विपक्षी दलका सांसद तथा नेताबाट चर्काे अवरोध सुरु भइसकेको छ ।

प्रकाशित: २९ भाद्र २०७६ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App