६ वैशाख २०८१ बिहीबार
समाज

हराभरा बगैंचा बन्यो डम्पिङ साइट

काठमाडौं- राजधानीको नक्साल नारायणचौरस्थित नन्दीकेश्वर बगैंचा २०६९ सालसम्म फोहरमैला फ्याँक्ने र थुपार्ने डम्पिङ साइटजस्तै थियो। फोहरको डंगुरले सर्वसाधारण छेउछाउबाट हिँडडुल गर्नै हिच्किथाउँथे। हिँड्नै परे नाक थुन्थे। अहिले भने त्यो ठाउँको परिचय मात्रै फेरिएको छैन फोहरको थुप्रोका ठाउँमा हराभरा बगैंचाले सबैलाई आकर्षित गर्न सफल भएको छ। यो परिर्वतन स्थानीयकै अगुवाइमा सम्भव भएको हो। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको प्रयासमा फोहर थुपार्ने ठाउँ बगैंचामा परिणत गर्न सफल भएका हुन्।

'यो क्षेत्र आपराधिक क्रियाकलाप र फोहरमैलाको अखडा भएकाले हिँड्नै सकिन्नथ्यो,' नक्सालकी स्थानीय दुर्गा खड्काले भनिन्, 'त्यस्तो ठाउँ यति हराभरा होला भनेर कल्पना समेत गरेकी थिइँन। हिजोआज हराभरा बगैंचा देख्दा मनै फुरुंग हुन्छ।' वडावासीको ठूलो प्रयासपछि फोहरमैला संकलन केन्द्रलाई बगैंचा बनाउन सफल भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले भने।

'फोहर संकलन केन्द्रलार्ई बगैंचा बनाउन थाल्दा धेरै जनाका धम्कीको सामना गर्‍यौं,' उनले भने, 'अख्तियारदेखि जिल्ला प्रशासनसम्म उजुरी हालेर हाम्रो अभियान हतोत्साहित पार्ने प्रयास गरियो। तैपनि विचलित भएनौं।' बगैंचा निर्माण गर्न अघि सर्दा धेरैले धम्क्याएको उनले बताए।

अस्तव्यस्त झाडी र फोहरमैला संकलन केन्द्रलाई बगैंचामा परिणत गर्न निकै मेहनत गरेको अध्यक्ष श्रेष्ठ बताउँछन्। 'गगनचुम्बी व्यापारिक भवन बनाइने हल्ला फिँजाइन्थ्यो।' काम थाल्दाको क्षण सम्झँदै श्रेष्ठले भने, 'स्थानीय एक भएर अघि बढ्दा बगैंचा व्यवस्थित गर्न सकेका हौं।' नक्सालस्थित विभिन्न बैंक र वित्तीय संस्थाले दिएको ४ लाख १० हजार रुपैयाँले बगैंचा डिजाइन र निर्माण थालेको उनले बताए।

बगैंचा दैनिक सयौं सर्वसाधारण बिहान मर्निङवाक र बेलुकी फ्रेस हुन चाहनेका लागि उपयुक्त गन्तव्य बन्दै आएको छ। बगैंचाको चारैतर्फ डिलमा रोपिएका विभिन्न प्रजातिका बोटविरुवा र दूबोले आकर्षण बढाएको छ।

बगैंचामा ६ वटा सोलार प्लान्ट र बालबालिकालाई खेल्न चिल्डे्रन्स पार्कको समेत व्यवस्था गरिएको केन्द्रले जनाएको छ। प्राकृतिक प्रकोपका समयमा आवश्यक खानेपानीका लागि आकाशेपानी संकलन केन्द्र र इनार छन्। प्राकृतिक प्रकोप र विपद्का बेला आवश्यक हुने रेस्क्यु र प्राथमिक उपचार सामग्री पनि राखिएको छ।

केन्द्रले २०६९ सालमा नन्दीकेश्वर बगैंचाको फोहर हटाएर प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्र बनाउन काम अगाडि बढाएको थियो। काठमाडौं उपत्यका विकास प्राधिकरणको आर्थिक सहयोगमा नन्दीकेश्वर बगैंचा निर्माण सम्पन्न भएको हो। प्राधिकरणका अध्यक्ष भाइकाजी तिवारीका अनुसार बगैंचा निर्माणमा १ करोड २६ लाख रुपैयाँ लागेको थियो।

'स्थानीयले बगैंचा निर्माण गर्ने कन्सेप्ट र डिजाइन ल्याउनुभयो,' उनले भने, 'टेण्डरबाटै निर्माण गरेका हौं।' राजधानीमा खुला ठाउँ मासिँदै गइरहेका बेला यो बगैंचा प्रभावकारी हुने उनले बताए। 'गुठी संस्थानले बगैंचा निर्माणमा धेरै अवरोध गरेको थियो,' उनले भने, 'हाम्रो अडानले निर्माण गर्न सफल भयौं।'

प्राधिकरणले नक्सालको खुला ठाउँलाई विपद् व्यवस्थापन तथा सर्वसाधारणको हितमा प्रयोग गर्ने उद्देश्यले निर्माण गरेको नन्दीकेश्वर बगैंचाको रेखदेख गर्न सामुदायिक सेवा केन्द्रलाई २०७२ असार २१  ग्ाते हस्तान्तरण गरेको हो। भूकम्पका बेला बगैंचामा स्थानीयको आश्रयस्थल बनेको थियो।

आर्किटेक्ट इन्जिनियर प्रबल थापाले तयार पारेको बगैंचाको डिजाइन केन्द्रले २०७० भदौ २३ प्राधिकरणमा मा पेस गरेको थियो। 'स्वच्छ मनले काम गरे केही असम्भव हुँदैन,' सामुदायिक प्रहरी सेवा केन्द्रका सहायक प्रहरी निरीक्षक बसन्तकुमार थापाले भने, 'फोहरमैला संकलन केन्द्रलाई हराभरा बगैंचा बनाउन सफल भएका छौं।' बगैंचाको सुरक्षामा २४सै घन्टा खटाइएको छ। सशस्त्र प्रहरी गण नं १ नक्सालका ४० जना प्रहरी र सामुदायिक सेवा केन्द्रका पदाधिकारी र स्थानीयले बगैंचा सरसफाइ गर्दै आएका छन्।

प्रकाशित: ५ मंसिर २०७३ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App