७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाली कला, सम्पदा देखेर विदेशी मेयर मोहित

काठमाडौं - छिमेकीमुलुक चीनको लाञ्चाउबाट कमिटी अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ सिओहाङ पहिलो पटक नेपाल आएकी हुन्। काठमाडौं महानगरपालिकाको निम्तोमा इन्द्रजात्रा हेर्नकै लागि काठमाडौं आएकी हुन् उनी। उनीसहितको विदेशी टोलीले शुक्रबार इन्द्रजात्रामा प्रत्यक्ष अवलोकन मात्रै गरेनन्। स्थानीय जनतासँग भलाकुसारी पनि गरे। जीवित देवि कुमारीको पनि दर्शन गरे।

उपाध्यक्ष ज्याङ्ले काठमाडौंको मनोरम दृश्यले आफूलाई मोहित पारेको प्रतिक्रिया दिइन्। ‘चीनमा हुँदा मैले नेपाल कला र संस्कृतिले भरिपूर्ण मुलुकको रुपमा सुनेकी थिएँ’ उनले भनिन्, ‘नेपालको बारेमा जे सुनेको थिएँ। त्योभन्दा अझै राम्रो पाएँ।’ इन्द्रजात्रा, बसन्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप, प्राकृतिक विज्ञान संग्रहालय, चन्द्रागिरिलगायतका उपत्यकाका ऐतिहासिक तथा मनोरम दृश्यले उनको ध्यान खिच्न सफल भएको थियो। ‘यहाँ कला संस्कृतिले मात्रै होइन्। यहाँका जनता पनि त्यतिकै सहिष्णू पाएँ,’ उनले भनिन्, ‘यहाँका जनताले

आफ्नो कला संस्कृति जोगाउन गरेको प्रयासको जति प्रशंसा गरे पनि पुग्दैन।’ काठमाडौंका ऐतिहासिक र कलात्मक सम्पदा र नेपाली जनताको स्वतस्फूर्त स्वागतले विदेशी पर्यटक खुसीले दंग देखिन्थे। नेपालका ऐतिहासिक कला संस्कृतिले जीवन्त इतिहास बोकेको विदेशी पाहुनाले प्रतिक्रिया दिए। भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंहले पनि नेपालको अनुपम कला संस्कृति देखेर मोहित भएको बताए।

‘जीवनमा पहिलोपटक इन्द्रजात्राको अवलोकन गर्न पाएँ। जुन मेरो जीवनकै अविस्मरणीय क्षणको रुपमा रह्यो,’ उनले भने, ‘नेपाल विश्वकै सुन्दर देशमध्ये एक हो। त्यसैले संसारका मान्छेले एकपटक जीवनमा घुम्नै पर्ने मुलुकको रुपमा देखियो।’ मेयर सरदारले स्वयम्भू स्तूप, राष्ट्रिय विज्ञान संग्रहालय देखेर चकित परेको बताए। काठमाडौं महानगरको निम्तोमा पाँच मुलुकका मेयरसहित ४१ जनाको टोलीले शनिबार चन्द्रागिरी भालेश्वर मन्दिर, राष्ट्रिय प्राकृतिक संग्रहालय स्वयम्भू, र स्वयम्भू स्तूपाको भ्रमण गरेका थिए। विदेशी मुलुकका मेयरले नेपालका कला, संस्कृति र रहनसहनको विषयमा निकै चाखलाग्दो ढंगले अवलोकन गरेका थिए।

चन्द्रागिरी नगरपालिकाले भालेश्वर मन्दिर परिसरमा एक कार्यक्रम गरी विदेशी पहुनालाई स्वागत गरेको थियो। चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले विदेशी पहुनाको आवागमनले चन्द्रागिरीको महŒव अझै बढेको दाबी गरे। ‘चन्द्रागिरि स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यको रुपमा चिनिन थालेको छ,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाले विदेशी पाहुनालाई निम्ताएर ठूलो काम गरेको छ। आगामी दिनमा महानगरसँग समन्वय गरेर पर्यटन प्रवद्र्धनका काम गर्नेछौं।’

भुटानको राजधानी थिम्पुका नगर प्रमुख दोर्जीले कलासंस्कृतिले धनीमुलुकका जनतामा धेरै खुसी हुने बताउँछन्। ‘जहाँ कला संस्कृतिले भरिपूर्ण हुन्छ त्यहाँका जनता पक्कै पनि खुसी हुन्छन्,’ उनले भने, ‘नेपालका जनता निकै खुसी भएको पाइयो।’ मेयर दोर्जीले नेपाली जनताले ऐतिहासिक कला संस्कृति संरक्षणमा देखाएको चासो निकै सराहनीय भएको बताए। ‘यहाँका कला संस्कृति देखेर मोहित नहुने कोही नहोला,’ उनले भने, ‘यहाँका जनतामा पनि कला संस्कृति संरक्षण गर्नमा निकै चासो देखाएको देखियो।’ मेयर दोर्जीले बसन्तपुर दरबार स्क्वायर, चन्द्रागिरी, स्वयम्भूनाथलगायतका ऐतिहासिक सम्पदा देखेर खुसी भएको प्रतिक्रिया दिए।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले २०७२ सालको भूकम्पछि विदेशी मुलुकमा नेपालको बारेमा फैलिएको भ्रम चिर्नको लागि पनि विदेशी पहुनालाई निम्ताएको बताए। ‘२०७२ सालको भूकम्पछि काठमाडौं बारेमा विदेशी मुलुकमा धेरै भ्रम तथा हल्ला फिजिएको थियो। त्यही भ्रम चिर्नकै लागि पनि विदेशी मुलुकका मेयरसहितका अतिथिलाई निमन्त्रणा गरेका हौं,’ उनले भने, ‘विदेशी मेयरसहितको अतिथिको भ्रमणले भूकम्पछि पनि काठमाडौंमा घुम्न सुरक्षित छ है भन्ने सन्देश प्रवाह गर्न सफल भएका छौं।’ मेयर शाक्यले विदेशी मेयरसहितको पहुनाको टोली नेपाल पर्यटन वर्ष २०२० लाई सफल गराउन मद्दत पुग्ने दाबी गरे।

‘विदेशी पाहुनाको आवागमनले नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नुको साथै पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने आशा गरेका छौं,’ उनले भने, ‘विदेशी मेयरसहितका अतिथि नेपालको ऐतिहासिक कला संस्कृतिबाट प्रभावित भएको पाएको छु्।’ मेयर शाक्यले विदेशी मेयरको आवागमनसँगै भगिनीसम्बन्ध राखेका मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुने बताए।

प्रकाशित: २९ भाद्र २०७६ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App