coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

राम्रो स्क्रिप्ट हुँदैमा गतिला नेपाली फिल्म बन्दैनन्

काठमाडौं – गतिलो नेपाली चलचित्र नबन्नुमा स्क्रिप्टलाई दोषी देखाइँदै आएको छ। कमजोर स्क्रिप्ट कारण नेपालमा राम्रा फिल्म बन्न नसकेको निष्कर्ष धेरैले निकालेका छन्। तर, अभिनेत्री सुरक्षा पन्तले भने फिल्म गतिलो बन्नलाई स्क्रिप्टमात्र पर्याप्त नभएको बताएकी छिन्। काठमाडौंमा शनिबारसम्म चलेको राष्ट्रिय चलचित्र सम्मेलनमा बोल्दै उनले स्क्रिप्टसँगै त्यसको प्रस्तुति पनि राम्रो हुनुपर्ने बताएकी छिन्।

‘राम्रो स्क्रिप्ट हुँदैमा गतिला नेपाली फिल्म बन्छन् भन्ने बुझाइ गलत हो। प्रस्तुतिमा ध्यान दिन नसक्दा धेरै फिल्म राम्रा बन्न सकेका छैनन्,’ अभिनेत्री सुरक्षा पन्तले भनिन्। राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना भइरहेको सम्मेलनअन्तर्गत ‘नेपाली चलचित्रमा महिलाको स्पेस’ नामक छलफलमा सहभागी उनले नेपाली समाजले महिलालाई बुझ्न नसकेको बताइन् र फिल्ममा पनि त्यो प्रतिबिम्बित भइरहेको बताइन्।

नेपाली फिल्ममा तुलनाा १५ प्रतिशत महिला सहभागिता रहेको सन्दर्भमा महिलाले आफ्नो अस्तित्व स्विकार्न सकेका छैनन्। १० जना पुरुषलाई महिला एक्लैले पिटेको दृश्य राख्दैमा त्यो फिल्मले महिलालाई स्ट्रोङ रुपमा देखाएको भन्न मिल्दैन्।

फिल्म समीक्षक स्मृति ढुंगानाले सहजीकरण गरेका सो छलफलमा बोल्दै उनले भनिन्, ‘फिल्मको कार्यशालामा पुरुषको संख्या तुलनात्मक रूपमा धेरै भएकाले उनीहरू हाबी हुन्छन्। निर्देशकको सिर्जनालाई असर नगर्ने तरिकाले फिल्ममा अभिनय वा संवाद प्रयोग गर्न सकिन्छ। त्यो कलाकारको लागि आवश्यक छ।’ करियरको सुरुआती दिनमा उस्तै खालको भूमिका बारम्बार प्रस्ताव आउँदा नयाँपनको अनुभव गर्न नपाएको पनि उनले बताइन्। ‘मैले पहिलो फिल्ममा निर्वाह गरेको भूमिकालाई आधार मानेर बारम्बार त्यस्तै खालको अफर आउनेक्रम रोखिएको छैन्। अभिनयको लागि अफर आउनु ठूलो कुरा मान्नुपर्ने अवस्था छ। त्यसैले स्वीकार्न बाध्य छु,’ उनले भनिन्।

नेपाली फिल्ममा तुलनात्मक रूपमा १५ प्रतिशत महिला सहभागिता रहेको सन्दर्भमा छलफलमा सहभागी निर्देशक दीपा बस्नेतले महिलाले आफ्नो स्पेस आफैंले बनाउनुपर्ने तर्क राखिन्। ‘फिल्म भनेको सिर्जनात्मक विधा हो। महिलाले आफ्नो स्पेस आफैंले बनाउने भएपनि हामीले आफ्नै अस्तित्व स्विकारेका छैनौं,’ उनले भनिन्, ‘महिला शोषणमा नपरेको क्षेत्र विरलै होला। हिंसामा पर्ने महिलाले आवाज उठाउनसक्नु पर्छ।’ उनले महिला निर्देशकले निर्देशन गरेका भनेर फिल्मलाई ‘ट्याग’ लगाउनु जरुरी नभएको तर्क गरेकी थिइन्।

छलफलमा सहभागी अर्की निर्देशक सम्झना उप्रेती रौनियारले १० जना पुरुषलाई महिला एक्लैले पिटेको दृश्य राखेर फिल्म बनाउँदैमा त्यो फिल्मले महिलालाई स्ट्रोङ रुपमा देखाएको भन्न नमिल्ने बताइन्। संसारभर मिटु अभियानअन्तर्गत महिलाले आफूमाथि भएका यौन दुव्र्यवहार र महिला हिंसाविरुद्ध आवाज उठाइरहेको अवस्थामा नेपाली फिल्म क्षेत्र किन मौन ? भन्ने प्रश्नमा पीडितले नबोलेसम्म अरुले बोल्नुको अर्थ नरहेको जवाफ उनीहरूले दिएका थिए।

सम्मेलनको अन्तिम दिन पुजा सिंह राजवंशीले ‘फिल्मका आइटम नृत्यमा महिलाको चित्रण र अर्थ’, भास्कर गौतमले ‘चलचित्रमा मायाको काव्यशास्त्र’माथि चर्चा गरेका थिए। त्यसैगरि शनिबारको पहिलो सेसनमा बलबहादुर थापाले ‘ अनागरिक’ फिल्ममा देखाइएको लाहुरे परम्परामाथि धारणा राखेका थिए भने सचिन घिमिरेले ‘डकुमेन्ट्रीमा स्वास्थ्य ः आलोचनात्मक विषयवस्तु विश्लेषण’माथि बोलेको थिए। यसैगरि कार्यक्रममा अन्तिम दिन महेश राईले ‘मातृभाषी चलचित्र र आदिवासीपन’, दिपक तोलाङ्गेले ‘इथ्नोग्राफिक फिल्मको यात्रा र प्रतिबिम्व’ र गौरव केसीले ‘नेपाली चलचित्रको प्रतिनिधित्व’ जस्ता कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनको आयोजना मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डले संयुक्त रूपमा गरेको थियो।

तीन दिने सम्मलेनअन्तर्गत शुक्रबार ‘नेपाली चलचित्रमा ५ दशकको अनुभव र अनुभूति’ नामक सेसनमा बोल्दै निर्देशक नीर शाहले नेपाली चलचित्रमा बौद्धिक व्यक्तिहरूको खडेरी प्रतिक्रिया दिएका थिए। ‘हामी राष्ट्रिय फिल्म उद्योग स्थापित गर्न लागिपरेको ५४ वर्ष भइसक्दा न राष्ट्रको प्रतिनिधित्व भयो न नै फिल्म उद्योग हुनसक्यो,’ उनले भने, ‘दौरासुरवाल लगाएर मादल बजाउँदैमा नेपाली चलचित्र हुने हो ? नेपाली चलचित्र निमार्णको सुरूआती चरणमा नेपालभित्रै स्वनामधन्य साहित्यकार भएपनि उनी चलचित्रसँग संलग्न नहुनु दुःखको कुरो हो।’

‘राजनीतिको आँखामा चलचित्र’ शीर्षकको छलफलमा सहभागी नेतृ डिला संग्रौलाले नेपाली चलचित्रको कारण समाजमा बलात्कारको घटना बढेको अरोप लगाएकी थिइन्। उनीसहित सो छलफलमा नेता ठाकुर गैरे, केशव झा र अरुणदेव जोशी सहभागी थिए।

सम्मेलन संयोजक अनुप सुवेदीका अनुसार ६ दशकको नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक आयोजना भएको सम्मेलनमा चलचित्रसम्बन्धी विभिन्न विषयमा छलफल र प्रस्तुति गरिएका छन्। ‘यो सम्मेलनले नेपाली चलचित्रको गुणस्तर बढाउन सहयोग गर्ने विश्वास लिएका छौं। सम्मेलनले चलचित्रमा चित्रण गरिएका विभिन्न विषय, दृष्टिकोण, विचार र प्रस्तुतिकरणलगायतबारे आम मानिसमा पार्ने प्रभावको अध्ययन, अनुसन्धान र छलफल गरेर राम्रा नेपाली चलचित्र निर्माणको वातावरण बन्ने अपेक्षा गरेका छौं,’उनले भने।

प्रकाशित: २९ भाद्र २०७६ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App