coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य

गणेश विशु

वीरेन्द्रनगर - जिल्ला कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिएको छ। ४० पुरुष र १० जना महिला गरी ५० जना अटाउने कारागारमा हाल दुई सय १२ जना कैदीबन्दी रहेको कारागारले बताएको छ। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले उनीहरू त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य छन्।

कारागारका अनुसार दुई सय ५० क्षमता रहेको कारागार भवन अलपत्र हुँदा असहज ढंगले कैदीबन्दी बस्न बाध्य छन्। विभिन्न समयमा मन्त्री र प्रहरीप्रमुखले कारागारलाई सुधारगृहका रूपमा चित्रण गरे पनि आफूहरूले त्यसको अनुभूति गर्न नपाएको कैदीबन्दीको भनाइ छ। आफूहरूलाई सरकारले सुधारगृहभन्दा बन्दीगृह बनाएको उनीहरू बताउँछन्।
७० जना कैदीबन्दी त्रिपाल र जस्तापाताको टहरामा बस्ने गरेको जिल्ला कारागार प्रमुख लक्ष्मी खरेलले जानकारी दिइन्।

टहरामा बस्नु पर्दा समस्या हुने गरेको चौकीदार केशव सारुले बताए। ‘साँघुरा कोठा छन्,’ उनले भने, ‘कहिलेकाहीँ सुत्न नपाएर कैदीबन्दीले रातभर जाग्राम बस्नुपर्छ।’ तीनवटा साना हल र तीनवटा कोठामा कैदीबन्दी नअटाउने भएपछि त्रिपाल र जस्तापातामा राखिएको हो। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दैनिक सरसफाइमा समस्या भएको एक कैदीले जनाए। त्यस्तै कारागारमा शौचालयको कमी हुँदा जहिल्यै लाइन बस्नुपर्ने अवस्था रहेको छ। ‘कपडा धुन र नुहाउन पनि समस्या छ,’ उनले भने, ‘पानी सानो आउँदा खानलाई पनि समस्या भएको छ।’

करिब १० वर्षपहिला निर्माण सुरु भएको भवन निर्माण नसकिँदा उनीहरूलाई त्रिपाल र जस्तापातामा व्यवस्थापन गरिएको कारागार प्रमुख खरेलले बताइन्। जिएम कन्स्ट्रक्सनले २०६८ सालमा सो भवन निर्माण रोकेको थियो। दोस्रो कम्पनीलाई निर्माण जिम्मा दिने गरी सम्झौता थालिएको जिल्ला कारागारले जनाएको छ। पहिला तीन करोड ३६ लाखमा सम्झौता भएको सो भवनको ३० प्रतिशत मात्र काम भएको छ। हाल दुई करोड ९० लाख रुपैयाँमा सम्झौता हुन लागेको जिल्ला कारागारप्रमुख खरेलले जानकारी दिइन्। सो भवन संघीय आयोजना कार्यान्वयन एकाइमार्फत निर्माण हुन लागेको हो।

कारागारमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, लागुऔषध, सवारी ज्यान, सार्वजनिक अपराध, बहुविवाह, वनपैदावार, संरक्षित वन्यजन्तु, मानव बेचबिखन, किर्ते, हातहतियार खरखजना र ठगी मुद्दाका कैदीबन्दी राखिएको छ। कैदीबन्दी धेरै हुँदा सुरक्षा चुनौती बढे पनि व्यवस्थित रूपमा सुरक्षा प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी वसन्त रजौरेले जानकारी दिए। साथै कैदीबन्दीलाई सरकारले दिँदै आएको सुविधासमेत अपुग भएको उनीहरूको भनाइ छ।

वीरेन्द्रनगर खजुराका एक कैदबन्दी (नाम बताउन चाहेनन्) भन्न्छन्, ‘सरकारले दिने दैनिक भत्ता र रासन कम भएको छ।’ हाल सरकारले प्रतिकैदी दैनिक ६० रुपैयाँ र सात सय ग्राम चामल दिने गरेको उनले बताए। ६० रुपैयाँले सरसफाइका सामग्री किन्नसमेत नपुग्ने भन्दै उनले यो रकम बढाउनुपर्ने माग गरे। ‘चामल मात्र दिन्छ,’ उनले भने, ‘६० रुपैयाँले तेल, नुनलगायत सामग्रीसमेत किन्न सकिँदैन।’ जिल्ला कारागारको खेल मैदान पनि साधुरो समस्या भएको कैदीबन्दी बताउँछन्।

प्रकाशित: २९ भाद्र २०७६ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App