७ वैशाख २०८१ शुक्रबार
समाज

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका बिरामी

बनेपा - धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका १४ जना बिरामी भर्ना भएका छन्। भर्ना भएकामा डेंगीका सात र बाँकी स्क्रबटाइफस संक्रमित छन्।जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार अस्पतालमा उपचाररत डेंगीका बिरामीमध्ये एकजनामात्रै धुलिखेलका र ६ जना काभे जिल्लाबाहिरका छन्। ‘धुलिखेल अस्पतालमा ७ जना महिलाले डेंगी संक्रमणको उपचार गराइरहेका छन्। बिरामी २१ देखि ७० वर्षसम्मका छन्,’ झाले भने।

सोही अस्पतालमा स्क्रबटाइफस संक्रमणबाट ७ जना बिरामीले उपचार गराइरहेको झाले बताए। ‘अस्पतालले दिएको सूचनाअनुसार स्क्रबटाइफसबाट संक्रमित ५ महिला र दुई पुरुष उपचाररत छन्। स्क्रबटाइफस संक्रमितमा कमलामाई नगरपालिका सिन्धुलीकी एक महिला र बाँकी सबै काभ्रेकै छन्’, उनले भने, ‘उनीहरू १८ देखि ५८ वर्ष उमेरसम्मका छन्।’
कार्यालयका अनुसार स्क्रबटाइफसबाट संक्रमित बिरामी धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाको ज्याम्दी र चण्डेनीका छन्। ‘ओ. सुसुगामुसी’ नामको जीवाणुले संक्रमित माइट्सले उनीहरुलाई टोकेर संक्रमण भएको हो। बेलैमा यो संक्रमणको उपचार भएन भने समस्या जलिट हुन सक्छ’, झाले भने।

स्वास्थ्य बिमा बोर्डले सिन्धुली र भक्तपुरका बिमितका लागि सेवा प्रदायक संस्थाका रुपमा धुलिखेल अस्पताललाई तोकेको हुँदा पछिल्लो समय कीटजन्य रोगका बिरामीसमेत यहाँ आउन थालेका छन्। यसैबीच, काभ्रेका पनौती, धुलिखेल, पाँचखाल र मण्डनदेउपुर नगरपालिकाले प्रत्येक वडा तहसम्म पुगेर डेंगी फैलाउने लामखुट्टे र यसका लार्भा एवं प्युपाहरु नष्ट गर्न ‘खोजौं र नष्ट गरौं’ अभियान चलाउन थालेका छन्।

‘काभ्रेका बेंसीभेगमा लामखुट्टेको समस्या थियो नै। धुलिखेलजस्तो उच्च भूभाग र सधैं चिसो रहने सहरमा समेत डेंगी भाइरस र यसलाई फैलाउने ‘एडिस एजिप्टाई’ नामको लामखुट्टे पनि प्रशस्तै भेटिएको छ। यसैले लामखुट्टे र यसका लार्भा एवं प्युपा नष्ट गर्ने काममा सबै सरोकारवाला नजुटेसम्म यो संक्रमण कुनै न कुनै रुपमा बल्झिरहने सम्भावना छ’, झाले भने।

स्वास्थ्य कार्यालयले काभ्रेका बिपी र अरनिको राजमार्गआसपासका सहर र बस्तीमा विशेष सावधानीका लागि अनुरोधसमेत गरेको छ। ‘हामीले मेथिनकोट र पाँचखाल क्षेत्रलाई डेंगी संक्रमणको उच्च जोखिम भएका तह मानेका छौं भने जिल्लाका सहरी तथा अर्धसहरी क्षेत्रमासमेत यो जोखिम बढ्दो छ।

प्रकाशित: २९ भाद्र २०७६ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App