७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

काठमाडौं – पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदुरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येयताले बताएका छन्।

भारतको इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका शोधकर्ता डा. निहार नायकले नेपालको समदुरीमा आधारित नीति सबैभन्दा नजिकको छिमेकी भारतको पक्षमा नरहेको बताएका हुन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो कार्यकालमा चारपटक नेपाल आएको उल्लेख गर्दै उनले तर चीनका राष्ट्रपतिको आगामी सम्भावित भ्रमण मात्र ९ घण्टाको हुने पनि बताए।

नीति अनुष्ठान प्रतिष्ठान नेपाल र इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिजले शनिबार आयोजना गरेको ‘नयाँ सन्दर्भमा नेपालको परराष्ट्र नीति’, विषयक अन्तरक्रियामा सहभागी हुँदै उनले भने, ‘समदुरी भनेपछि सबै पक्षमा हुनुपर्ने हो तर भूगोल, व्यापार नाकाका संख्या, आवतजावतमा सहजता जस्ता अनेकन विषय वास्तवमा समदुरीमा छैनन्। यो व्यावहारिक रुपमा सम्भव छ त।’

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, औद्योगिकीरण, रोजगारी सिर्जनाको क्षेत्रमा अपेक्षित प्रगति नभएको उल्लेख गर्दैे नायकले नेपालको परराष्ट्र नीतिले राष्ट्रिय आवश्यकतालाई मुखरित गर्नुपर्ने बताए। पछिल्ला दिनहरुमा अमेरिका र चीन सरकारले सार्वजनिक गरेका वक्तव्यहरुको प्रसंग उद्धृत गर्दै उनले भने, ‘आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय हस्तक्षेपलाई न्यून गराउन सक्नु परराष्ट्र नीतिको महत्वपूर्ण पक्ष हो। प्रधानमन्त्री, परराष्ट्रमन्त्री र नेकपाका अर्का अध्यक्षले परराष्ट्र सम्बन्धमा बोलेका कुरामा बेमेल छ।

कार्यक्रममा पत्रकार श्रीकृष्ण अनिरुद्ध गौतम, डा. राम थपलिया, काठमाडौंस्थित भारतीय दूतावासका डिपुटी चिफ अफ मिसन डा. अजय कुमारले आ–आफ्ना धारणा राखेका थिए।

प्रकाशित: २९ भाद्र २०७६ ०१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App