८ वैशाख २०८१ शनिबार
राजनीति

प्रहरीले र सिडिओले शान्ति सुरक्षा दिने हो, सत्ता पक्षका गुण्डाको संरक्षण गर्ने होईन्ः देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको सितापुरमा भएको घटनाका दोषीलाई कारबाही नहुँदा सम्म आफुहरुले निरन्तर दबाव दिने बताएका छन् । ‘बाँके घटनाका दोषीलाई प्रहरीले अविलम्व कानुनी दायरामा ल्याओस्, होईन नत्र सदन चल्न दिदैनौं,’ उनले भने ।

नेपाली कांग्रेस बाँकेको कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री देउवाले कम्युनिष्टले कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्दा प्रहरी, प्रशासन रमिते बनेको भन्दै आक्रोश पोखे । ‘जनताको कर तिरेको पैसाबाट तलब खाएको पुलिस र सिडिओले शान्ति सुरक्षा दिने हो, सत्ता पक्षका गुण्डाको संरक्षण गर्ने होईन,’ उनले भने ‘बाँकेमा भएको घटनामा प्रहरी प्रशासनले शान्ति सुरक्षाको न्युनतम दायित्व पनि पुरा गरेको देखिएन ।’ आफ्नो पार्टीको राष्ट्रिय जनजागरण कार्यक्रम भाँड्ने र जिल्ला सभापति लगायत कार्यकर्तामाथी आक्रमण गर्नेलाई कारबाही नहुँदा सम्म आन्दोलन जारी राख्ने देउवाले चेतावनी दिए ।

संविधान अनुसार बनेका पार्टी र आम जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने काममा लाग्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराए । कम्युनिष्ट सरकारले जताततै भ्रष्टाचार गरिरहेको बताउँदै पुर्वप्रधानमन्त्री देउवाले भने, ‘जताततै भ्रष्टाचार मात्र भईरहेको छ, अनि जनताले भ्रष्टाचार विरुद्ध बोल्न नपाउने ?’ देश अहिले निकै अप्ठ्यारो परिस्थितीमा गुज्रिरहेको उनको भनाई छ । कम्युनिष्ट सरकारले गरेका काम देखेर नेपाली जनता वाक्क भईसकेको सभापति देउवाले बताए ।

कम्युनिष्ट पार्टीको अराजकताले जनताले निर्धक्कसँग बोल्न डराईरहेको भन्दै उनले संबिधानले सबै नागरिकलाई स्वतन्त्रता पुर्वक बोल्न पाउने अधिकार दिएको स्मरण गराए । भ्रष्टाचार विरुद्ध आवाज उठाएकै कारण पार्टीको बाँकेमा आयोजित जनजागरण अभियान कार्यक्रममा कम्युनिष्ट कार्यकर्ताले आक्रमण गरेको देउवाको ठहर छ । उनले कार्यकर्तालाई कम्युनिष्ट सरकारले गरेका भ्रष्टाचार विरुद्ध आवाज उठाउन आब्हान पनि गरेका छन् । सो क्रममा बोल्ने अधिकांस कांग्रेस कार्यकर्ताले कम्युनिष्ट अराजकताका कारण पार्टीको जनजागरण कार्यक्रम गर्न सहज नभएको गुनासो गरेका थिए । 

प्रहरी, प्रशासनबाट शान्ति सुरक्षा पाउनेमा ढुक्क हुने स्थिती नरहेको उनीहरुको भनाई थियो । कांग्रेस बाँकेका सभापति किरण कोईरालाले कम्युनिष्टको अराजकताबाट कांग्रेस कार्यकर्ताहरु अहिले पनि त्रसित अवस्थामा रहेको बताईन् । ‘प्रहरी प्रशासनले कम्युनिष्टहरुलाई संरक्षण गरेको छ, पत्रकारले निर्धक्कसँग लेख्न पाएका छैनन्, भ्रष्टाचारको बारेमा बोल्न नपाउने अवस्था सरकारले सिर्जना गरेको छ,’ उनले भनिन् ।

कार्यकर्तालाई सम्बोधन गर्नुअघि सभापति कोईरालाले नेपालगन्जस्थित विपी चोकमा शनिबार दिउँसै दीप प्रज्वलन गरेका थिए । बाँकेको सितापुरमा भएको घटनामा न्यायका लागि अन्धकारमा रहेको सरकारलाई आँखा देखाउन ब्यंग्यात्मक रुपमा दीप प्रज्वलन गरिएको कांग्रेस बाँकेले जनाएको छ ।

दाङबाट बाँके आउने क्रममा सभापति देउवाले शनिबार नै कोहलपुरमा आयोजित कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्दै कम्युनिष्ट सरकार र उसका कार्यकर्ताले अराजकता प्रर्दशन गरिरहेको बताएका थिए । उनले उच्च मनोबलका साथ पार्टीको जनजागरण कार्यक्रममा लाग्न र कम्युनिष्ट सरकारले गरेका भ्रष्टाचार, अनियमितता र अन्यायका विरुद्ध आवाज उठाउन कार्यकर्तालाई निर्देशन दिए ।

नेपालगन्जमा शनिबार कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिरः अर्जुन ÷नागरिक 

प्रकाशित: २८ भाद्र २०७६ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App