coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवा– रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु भएको छ। पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक अवरुद्ध भएपछि शनिबारदेखि मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु गरिएको हो।

रसुवाको कालिका गाउँपालिका–१, नागर्दुन क्षेत्रमा पहिरो सडक लगेपछि चार दिनदेखि नाका जोड्ने सडक अवरुद्ध भएको छ। यो सडक खुलाउन धेरै समय लाग्ने भएकाले छोटो दूरीको सडक खुलाउन लागिएको हो।

सडकको मैलुङ तथा छोक्कल दुवैर्फबाट सडक खुलाउने काम सुरु गरिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘सडक खुलाउनका लागि ब्लाष्टिङ गर्नु पर्दैन, उनले भने, यसकारण यो सडक छिटै खुल्छ।’

‘पहिरो हटाउनका लागि समस्या छ, उनले भने, जति फाल्यो उति आउने खालको छ।’ त्रिशूली खोला नजिकै रहेको खोल्चो पुरेर बाटो बनाएको कारण बाटो सबै बगाएको छ भने त्रिशूली खोलामा राखिएको हिमपाइप पनि बगाएको छ।

सडक सञ्चालनमा ल्याउनका लागि सडक विभाग, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजनालगायतले सडक खुलाउने काम गरिरहेका छन्। २०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको मैलुङ स्याफ्रु सडकको २०७५ जेठ ६ गते ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो। 
यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। राष्ट्रिय योजना आयोगको मध्यकालिन खर्च संरचना (२०७५÷७६–०७७÷७८) मा उल्लेख भए अनुसार आर्थिक वर्ष २०६१÷६२ सालदेखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना २०७५÷७६ भित्र निर्माण तथा स्तरोन्नति भएको हुने उल्लेख छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङ ल्हामु मार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन्। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन।

मैलुङ–स्याफ्रुवेंसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङ ल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: २८ भाद्र २०७६ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App