अनुभूति

त्यस दिन मैले अमृत पिएँ

शनिबार, २८ भदौ २०७६, ०८ : ५४ रमण घिमिरे

उनी साह्रै सरल र सहज उपलब्ध हुने मानिस थिए। उनको मथिङ्गलमा यति धेरै ज्ञान र जानकारी सङ्ग्रहित थिए– कसैलाई चाहिएका बेला ती उनको मुखबाट फ्याट्ट निस्किन्थे। यस्ता जानकारी दिनु उनी ‘कर्तव्य’ ठान्थे। पटक्कै अहं थिएन। कसैलाई झुलाएर आफ्नो भाउ बढाउने प्रपञ्च गर्दैनथे। हुन त सच्चा ज्ञानीहरू यस्तै साधारण हुन्छन्। ओशोले भनेका छन्, ‘ज्ञानी मानिसलाई चिन्न कठिन हुन्छ, किनभने उनीहरू अति सामान्य र एकान्त जीवन बाँचिरहेका हुन्छन्, अहङ्काररहित हुन्छन्। उनीहरू आफैँ प्रकट हुँदैनन, खोजेर भेट्नुपर्छ।’ उनी ओशोले परिभाषित गरेका यस्तै ज्ञानी मानिस थिए। उनलाई दुर्घटना हुनुअघि उनी बाटोमा लुखुर्लुखुर हिँडिरहेका भेटिन्थे या बस, ट्याम्पोमा झुन्डिएर यात्रा गरिरहेका हुन्थे। चिन्नेले नमस्कार गर्थे। नचिन्नेहरू उनलाई किन नमस्कार ग-यो भन्ने भ्रममा पर्थे। 

उनीसँग भौतिक सम्पत्ति थिएन। एउटा पुरानो घर थियो, पछि त त्यो घर पनि छोडेका थिए। आम्दानीका नाममा निवृत्तिभरणका केही हजार रुपैयाँ आउँथ्यो, त्यसले उनी र उनकी पत्नीको जीवन धानेको थियो। तर, उनले आफ्नो अवस्थाप्रति कहिल्यै कुनै गुनासो गरेनन्। यस्ता थिए नेपाली साहित्यका अन्वेषक, अद्वितीय सङ्कलक र ज्ञानका भण्डार, शिव रेग्मी।

म नियमित बिहान पौने ९ मा कार्यालय जान घरबाट निस्किन्छु। शान्तिनगरबाट कात्यायनी मन्दिरको उकालो हुँदै मोडमा पुगेपछि जब बायाँ भूपी शेरचनमार्गतर्फ मोडिएर अलि अगाडि पुग्छु, मेरो बाइक अनायास रोकिन खोज्छ। यसले पूरा ६ महिनादेखि मेरो मानसिकता कचल्ट्याएको छ। मलाई विश्वासै लाग्दैन, त्यस मार्गको दक्षिणपट्टिको गल्लीमा बस्ने अन्वेषक शिव रेग्मी बितिसके। मलाई आजसम्म दिवङ्गत मानिसको स्मृतिले यसरी पछ्याएको थिएन, तर शिव रेग्मी जतिखेर पनि मेरो मथिङ्गलमा आइरहन्छन्। उनी बितेको केही दिनसम्म त मलाई आफैँप्रति पनि उनी बिते भन्नेमा पत्यारै लागेन। कात्यायनीको उकालोमा बाइकको एक्सिलेरेटर बटारिरहँदा पनि उनी मेरो स्मृतिमा थपक्क बसिरहेका हुन्थे, अहिलेसम्म त्यो भ्रम भङ्ग भएको छैन। वास्तवमा यी पङ्क्ति त्यही भ्रमलाई चिर्न लेखिरहेको छु।

साहित्यिक घटनाको कुनै पनि जानकारी लिनुपर्दा म उनलाई फोन गर्थें, उनी झिजो नमानी फ्याट्ट भनिदिन्थे। पछि त फुर्सदका बेला बुद्धिविलास गर्ने स्थल नै शिव रेग्मीको घर भएको थियो। सुदूर विगतका घटनाहरूलाई सिलसिलेवार तरिकाले उनी वर्णन गर्थे मानौँ कुनै पुराण वाचन गरिरहेछन्। उनी छोरीकहाँ बस्थे। एकपटक एउटा कार्यक्रमबाट निस्किदा ठेस लागेर लडेछन् र टाउकोमा चोट लागेछ। साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरेले तुरुन्तै अस्पताल पु-याएर उपचार गराएछन्। त्यसपछि डाक्टरले एक्लै नहिँड्नु भन्ने सल्लाह दिएकाले उनी बाहिर निस्किनै छाडे। अनि जति बेला समय मिल्छ, उनीकहाँ गइहाल्थे। उनका स्मृतिका पाना पल्टाउन लगाएर इतिहासको कुनै परिच्छेद सुन्दा यस्तो अनुभव हुन्थ्यो, मानौँ म नै त्यस घटनाको साक्षी हुँ। दुर्घटना हुनुअघि उनी कुनै पनि घटनाका बारेमा तिथि, मिति या घटनाको पूरै विवरण किताब नपल्टाइकनै भनिदिन्थे। ‘बीपी कोइरालालाई धनकुटाबाट जेल सरुवा गरेर ल्याउँदा उनले पुरानो बानेश्वर मोड दक्षिणको पाटीमा रात बिताएका थिए, त्यो पाटी पछिसम्म थियो, तर अहिले त्यसलाई त्यहाँ आलिसान घर ठड्याइएको छ,’ उनी भन्थे।

पछि त फुर्सदका बेला बुद्धिविलास गर्ने स्थल नै शिव रेग्मीको घर भएको थियो। सुदूर विगतका घटनाहरूलाई सिलसिलेवार तरिकाले उनी वर्णन गर्थे मानौँ कुनै पुराण वाचन गरिरहेछन्।

दुर्घटनायता, जीवनका पछिल्ला वय उनको संसार घर भएको थियो। उनलाई पट्यारलाग्दो हो, मनमा आफ्ना समकालीनलाई भेट्ने, भलाकुसारी गर्ने चाह जाग्दो हो तर शारीरिक अवस्थाले उनलाई घरभित्र थन्क्याएको थियो। आफूले छिचोलेका ती सडक–गल्ली, जमघट गरेका ती मोड र मानिसहरू सबै उनको स्मृतिमा मात्र सीमित हुन पुगेका थिए। उनलाई भेट्न मानिसहरू आइरहन्थे, सूचना र जानकारी लिएर जान्थे, तर उनका लागि डुल्नलाई त्यो तीनतले घरको सिरानदेखि भुइँसम्म मात्र बाँकी थियो। उनी पहिला क्षेत्रपाटीमा धेरै वर्ष बिताएका क्षण सम्झन्थे। त्यो ठाउँ अहिले कस्तो भयो होला ? उनी मनमनै अनुमान लगाउँथे तर पुग्न सक्तैनथे। मन हो, उडेर जहाँ पनि पुगिदिन्छ। मन उडेका बेला शरीर चलचलाउन थाल्थ्यो तर पाइला अघि बढाउन उनी असमर्थ थिए। त्यसैले उनको मन कुञ्जोजस्तो भएको थियो।

उनको समय घस्रिरहेको थियो, हिँड्न सक्तैनथ्यो। मन उडिरहेका बखत उनी कहिले आफूले कुनै बेला काम गरेको प्रधानमन्त्री कार्यालय पुग्थे, कहिले लोकसेवा आयोगको फन्को मार्थे। आफ्नी पत्नीसँग बिताएका समधुर क्षणहरूमा गोता लगाउँदा अतीतमोहको मीठो चौतारीमा पुग्थे। तर यस उडानका क्षण कसैले फोन गथ्र्यो, या घरको दैलो ढकढक्याउँथ्यो अनि उनी यथार्थको धरातलमा ओर्लिन्थे र खिन्न भएर फेरि आफ्नो अवस्थामा फकिन्थे। साँच्चै भन्ने हो भने उनी बितेका एक दशक आफ्नै मनको उडानमा यात्रा गरिरहेका थिए।

उनी कहिल्यै भावना र कल्पनामा बग्दैनथे। अतीतमोहले च्याप्दा उनी कहिलेकाहीँ कल्पनामा उड्थे। नत्र सधैँ यथार्थको भुँइमा टेकेर सत्यको उद्बोध गर्थे। चाउरी परेको अनुहार, गहिरो पोखरीभित्र भासिएका जस्ता आँखा, क्षीणकाय शरीर, सामान्य कद–काँठीका निर्बल मानिस। पहिलो साक्षात्कारमा उनलाई चिनाउने यिनै कुरा थिए। तर कुरा गर्दै गएपछि उनको ज्ञान र बुद्धिको सबलता प्रकट हुन थाल्थ्यो। उनका जानकारीहरू टिपोट गरेर कसै कसैले ‘मौलिक’ लेख र कृतिहरू पनि जन्माए तर उनलाई धन्यवादसम्म भनेनन्, यसमा उनलाई कुनै गुनासो थिएन। ‘जोसँग जे छ, त्यही दिन्छ’ भनेर सन्तोष गर्थे। यस्ता कुरामा बेलाबेला झोँक पनि देखाउँथे। अधिकांशतः उनको स्वभाव विनम्र नै हुन्थ्यो। यति लामो यात्रामा उनले मानिसका प्रवृत्ति र आसयहरू बुझिसकेका थिए। त्यसैले यसलाई स्वाभाविक रूपमा स्विकारिसकेका थिए।   

उनी साहित्यिक पत्रपत्रिका र पुस्तक सङ्कलन गर्ने अद्वितीय व्यक्ति थिए। उनलाई नेपाली साहित्यको ‘इन्साक्लोपेडिया’ पनि भनिथ्यो। उनी एक सय २५ रुपैयाँको जागिर खाँदा पनि तलब बुझेका दिन सीधै पुस्तक र पत्रिका किन्न जान्थे। उनमा कुनै लत थिएन, चुरोट–बिँडी तान्दैनथे, माद–मदिरा छुँदैनथे। त्यसैले साहित्यको सङ्कलनबाहेक उनको कुनै नशा थिएन। तर यो नशाले उनलाई माद–मदिराले भन्दा बढी लठ्याउँथ्यो। उनी बित्नुभन्दा चार दिनअघि मात्र मैले उनलाई भेटेको थिएँ। उनी हम्मेसी कसैलाई आफूले सङ्कलनका सामग्रीहरू घरमा लैजान दिँदैनथे। त्यसबेला मलाई एकजना स्वर्गीय पूर्वप्रधानमन्त्रीका बारेमा लेख्नु थियो। मैले उनलाई भेटेँ र उनका बारेमा सोधेँ। उनी ‘एक छिन् पर्खिनुस् है !’ भनेर तलामाथि उक्लिए र एकछिनमा एउटा किताब च्यापेर झरे। अनि भने, ‘घरमै लगेर पढ्नुस् र काम सकिएपछि फर्काउनु होला।’ म चकित भएँ। कसैलाई किताब नदिने भनेर चिनिएका शिव रेग्मीले मलाई किन विश्वास गरे ? सायद अरूहरूले जस्तो यसले किताब पचाउँदैन भन्ने विश्वास मैले उनमा जगाएको रहेछु। चार दिनअघि भेटेको कुरा यही प्रसङ्गको हो।

मैले किताब हात पारेपछि मलाई कसरी छिटोभन्दा छिटो काम सकेर त्यो फर्काऊँ भन्ने लाग्यो। त्यसैले म त्यसदिन उनलाई त्यही किताब फर्काउन र आफ्नो भर्खरै प्रकाशित किताब दिन उनीकहाँ गएको थिएँ। उनी माथिल्लो तलाको बार्दलीबाट तल हेरिरहेका थिए। माथिबाटै अभिवादन स्वीकार गरेर नातिलाई किताब लिन तल पठाए। म फेरि भेटौँला भनेर नमस्कार गरेर फर्कें तर त्यसको चार दिनपछि उनी कसैलाई सुइँको नदिई, मलाई फेरि भेट्छु भनेको वाचा भङ्ग गर्दै उनी सदाका लागि गए। लाग्यो, जीवन र मृत्यु बस या ट्रकको पछाडि लेखिएको ‘फेरि भटौँला’ जस्तो हुँदोरहेनछ। यसको ड्राइभर गाडीको जस्तो हुँदोरहेनछ। कतै अदृश्यमा बसेर मानिसको जीवन–मृत्युको गाडी हाँकिरहेको हुँदोरहेछ। उसको गाडीमा ‘फेरि भेटौँला’ वाक्य नहुँदोरहेछ। कुनै हर्न नै नबजाई उनलाई गाडीमा हालेर लगिसकेछ।

त्यसको चार दिनपछि अखबारमा उनको निधनको समाचार सुनेर मात्र मैले थाहा पाएँ, म स्तब्ध भएँ। उनी रोगी थिए, बुढ्यौलीले पनि गाँजेको थियो। त्यसैले उनको निधन असामयिक थिएन। तर रोगले थलै नपरी एक दिन पनि अस्पताल नबसी उनी यसरी झुक्याएर अकस्मात जान्छन् भन्ने मैले एक निमेष पनि सोचेको थिइनँ। उनीसँग बुझ्नपर्ने अनेकौँ प्रसङ्ग थिए, सोध्नुपर्ने कैयौँ प्रश्न थिए। यति चाँडै जान्छन् भन्ने जानेको भए, उनका जीवनका रेकर्ड गर्न बाँकी अझ धेरै प्रसङ्ग सङ्कलन गर्थें। त्यस दिनयता आजसम्म हरेकपटक उनी बस्ने गल्लीतिर आँखा घुमाउँदा एक तमासको उच्छवासले हृदय साँघुरिएजस्तो हुन्छ। मलाई उनको झझल्कोले पछ्याइरहेको छ। मनले भन्छ, उनी मरेकै छैनन्। मनले भनेर के हुन्छ र ? उनको शरीर आर्यघाटमा हुर्हुरी बलेको यिनै आँखाले देखिसकेका छन्। र, उनको शरीरसँगै नेपाली साहित्यिक अन्वेषणका एक जिउँदो इतिहासको पनि खरानी भइसकेको छ। यस यथार्थलाई मैले ढिपी गरेर सिनेमाको रिलजस्तो उनको जीवनलाई ‘रिवान्ट’ गरेर फेरि ‘प्ले’ गर्न सक्तिनँ। खालि मसँग बाँचेका उनका स्मृतिलाई बारम्बार ‘रिवाइन्ड’ गर्दै ‘प्ले’ गर्न सक्छु।

उनी साहित्यिक पत्रपत्रिका र पुस्तक सङ्कलन गर्ने अद्वितीय व्यक्ति थिए। उनलाई नेपाली साहित्यको ‘इन्साक्लोपेडिया’ पनि भनिथ्यो।

उनी सधैँ परत्रको सहयोगमा रमाउँथे। साहित्यकार र पत्रकारका लागि उनी सहयोगी स्रोत थिए। दुर्घटना हुनुअघि उनी अर्कै मानिस थिए। उनको स्मृतिमै सारा कुरा अटाएका हुन्थे। बाटामा हिँड्दाहिँडदै ५०/६० वर्षअघिका घटना फोनमै बताइदिन्थे। दुर्घटनापछि उनको स्मरणशक्ति अलि बढी ह्रास भयो। कहिले व्यक्तिको नाम भुल्थे, कहिले मिति, अनि बिस्तारै तालुमा हातले ठ्वाक्ठ्वाक् ठोक्थे र भन्थे, ‘चिनीरोग लागेपछि र यो दुर्घटनायता मैले कुरा भुल्न थालेँ।’ उनी आफ्नो अवस्थाप्रति छटपटाउँथे।

कसैलाई जानकारी दिँदा उनी गनगन गर्दैनथे, झिजो मान्दैनथे र निष्काम सेवा गरिरहन्थे। अरूलाई ज्ञान बाँड्दा जुन आत्मीय आनन्द हुन्छ, त्यो अरू केही गर्दा पनि हुँदैन भन्थे उनी। अरूलाई ज्ञान बाँड्दा त आफैँलाई फाइदा हुन्छ, किनभने त्यसले स्मृतिलाई सक्रिय बनाउँछ भन्थे। वास्तवमा उनी नेपाली साहित्यिक इतिहासका एउटा जिउँदो पुस्तकालय थिए। त्यसैले आफूसँग भएका जानकारी र दोहोरिएका किताबहरू बाँडेर जीवनभरि अरूलाई गुन लगाइरहे र आनन्द बटुलिरहे। विजय मल्लको ‘अनुराधा’, इन्द्रबहादुर राईको ‘आज रमिता छ’ र पारिजातको ‘शिरीषको फूल’ पढेपछि उनले उपन्यास पनि सङ्कलन गर्न थालेका थिए। उनी कविता पढ्दैनथे। खालि भूमिका पढेर कविताको सार बुझ्न खोज्थे। त्यसैले उनी कवितासङ्ग्रह सङ्कलन गर्दैनथे।

आफ्नो जीवनकालपछि यी सङ्कलन के हुन्छन् ? यसबारे उनले कुनै संस्था या व्यक्तिसँग यसका लागि कुरा गरिसकेको बताएका थिए। ‘निश्चित भइसकेको छैन, त्यसैले अहिल्यै नाम नभनौँ होला, तर कुरा पक्का भएपछि तपाईंलाई भन्छु’ भनेका थिए। सायद यो निश्चय गर्न भ्याएनन्। अब उनको यति बृहद् सङ्कलन के हुने हो ? यति पुराना र अप्राप्य बहुमूल्य किताब र पत्र–पत्रिकाको व्यवस्थापन कसले गरिदिने हो ? यो प्रश्नले पनि बराबर पिरोलिरहन्छ। किनभने त्यो सङ्ग्रह शिव रेग्मीको जीवनभरि आर्जन गरेको सम्पत्ति थियो।

‘आँखामा राख्दा पनि नबिझाउने मान्छे’ भन्ने चलन छ। यस्ता गुण भएका सीमित मानिसमध्ये उनी एक थिए। पेसाले उपसचिवसम्म भइसकेका अनि ज्ञान र अनुभवले निथ्रुक्क भिजेका शिव रेग्मी घरमा सधैँ एक्लै हुन्थे। धेरै वर्षअघि उनी बत्तीसपुतलीको आफ्नै घरमा छँदा म उनलाई भेट्न गएको थिएँ। श्रीमती रोगले ग्रस्त भएर ओछ्यान परेकी थिइन्। त्यहाँ पनि उनी एक्लै हुन्थे। त्यस दिन उनले मैले नाइँ भन्दाभन्दै पनि आफैँले बनाएर चिया खुवाए। दिनहुँ कैयौँ मानिस उनीकहाँ आउँथे, सबैलाई चिया खुवाउन सजिलो थिएन। मलाई पनि आवश्यक थिएन। तर उनले मलाई कर गरेरै चिया खुवाए।

पछि श्रीमती निकै थलिएपछि र आफूलाई पनि रोगले च्याप्दै लगेपछि उनलाई छोरीज्वाइँले सेवा गरे, बत्तीसपुतलीको घरबाट भूपी शेरचनमार्गको आफ्नै घरमा ल्याए। त्यहाँ पनि उनी दिनभरि एक्लै हुन्थे। सानो नाति विद्यालय र छोरी–ज्वाइँ अफिस जाने भएकाले त्यो घर रुघ्ने उनी एक्ला हुन्थे। केही न केही सूचना खोज्ने मानिसहरू उनीकहाँ आइरहन्थे। सबैको सत्कार गर्न पनि असम्भव। उनको अध्ययन कक्ष तल्लो तलामा थियो, काम नभएका बेला उनी ताल्चा लगाएर माथि बसिरहन्थे

पछिल्लो समय उनलाई मैले बाक्लै भेट्न थालेपछिको कुरा हो। एक दिन म उनीकहाँ पुग्दा उनी माथिबाट चाबी लिएर तल झरे र कोठाको ढोका खोले। अनि ‘एकै छिन है !’ भनेर फेरि माथि उक्लिए। मैले सोचेँ– कुनै किताब या पत्रिका लिन गएका होलान्। तर उनी बायाँ काखीमा एउटा सानो थर्मस च्यापेर दाहिने हातले त्यसको बिर्कोतिरको भाग समाउँदै तल झरे। मैले ठानेँ, उनले आफूलाई तातोपानी खान ल्याएका होलान्। तर उनका हातमा दुइटा गिलास पनि थिए। मैले प्रश्नसूचक दृष्टिले पालैपालो उनलाई र त्यस थर्मसलाई हेरेँ। अनि उनले भने, ‘धेरै दिन भयो, तपाईं मकहाँ आउनुहुन्छ तर केही सत्कार गर्न सकेको होइन। आज म तपाईंलाई चिया खुवाउँछु।’ पितृतुल्य मानिस ! काखीमा थर्मस च्यापेर अझै उभिएका छन्। कस्तो वात्सल्य हो यो ! म अभिभूत भएँ, मेरा आँखा छचल्किए। ‘तपाईं आफैँले चिया बनाउनुभएको ?’ मैले उनलाई बस्न सङ्केत गर्दै भनेँ। उनले भने, ‘होइन छोरीले बनाएकी। तपाईं आउनुहुन्छ भनेर मैले एक थर्मस चिया बनाउन लगाएको थिएँ। यत्तिका फेरा आउनुभयो। मेरै लागि भनेर आउनुभयो। आज चिया नखाई जान पाउनु हुन्न।’

भासिएका ती दुई आँखामा असीम स्नेह पौडिरहेको थियो। उनले थर्मसबाट दुइटा गिलासमा फिक्का चिया सारे र एउटा गिलास मेरो हातमा राखिदिए। मैले पहिलो सुर्पी लगाएँ। लाग्यो, म चिया होइन, उनका हातबाट अमृत पिइरहेको छु। चियासँगै अनुभूतिले म तरल भएर बगेँ। शरीरका हरेक इन्द्रियहरू रसाएर आँखाबाट संवेदनाको खहरे बग्न थाले। त्यो खहरेको एक थोपा मेरो आँखाको डिलबाट चियाको गिलासमा तप्प खस्यो। मैले उनको प्रेम र वात्सल्य मिसिएको चियामा आफ्नो आँसु घोलेर पिएँ। त्यो स्वाद संसारको सबैभन्दा स्वादिष्ट, आत्मा तृप्त हुने स्वाद थियो र त्यो क्षण जीवनमा संयोगले प्राप्त हुने ‘ईश्वरीय’ क्षण थियो। उनले ‘थपौँ’ भने। मैले ‘पुग्यो’ भनेँ। मनमनै सोचेँ, अमृत पनि कसैले थपीथपी पिउँछ र !








यसमा तपाईको मत

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad