coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

श्राद्धशास्त्र

हेमराज भट्टराई ‘शास्त्री’

श्राद्धबारे शास्त्र भन्छ :
‘प्रेतान् पितृंश्च निर्दिश्य भोज्यं यत्प्रियमात्मानः।
श्रद्धया दीयते यत्र, तच्छ्राद्धं परिचक्षते।।’
अर्थात्, देहावसान भइसकेका बुवाआमा लगायत समस्त पितृले पाऊन् भन्ने कामनाले योग्य, पूज्य व्यक्तिलाई भित्री हृदयदेखि श्रद्धा जगाएर दान वा अर्पण गर्नुलाई श्राद्ध भनिन्छ। संस्कृत भाषाको सत्य अर्थमा रहेको ‘श्रत्’ धातुबाट श्रद्धा शब्द बन्दछ। ‘श्रत्, सत्यं ददातीति श्रद्धा’ अर्थात् जसले भित्री मनदेखि सत्य मानेर विश्वास र भक्तिभावले कुनै काम गर्छ वा वस्तु दिन्छ भने त्यो नै श्रद्धा हो। ‘श्रद्धया दीयते, हूयते, क्रियते तद् श्राद्धम्’ अर्थात् श्रद्धा र भक्तिले आफ्ना पितृप्रति देखाउने वा गरिने कार्यका साथै विश्वास र सत्य मानेर गरिने हरेक प्रकारका कार्यलाई श्राद्ध भनिएको छ।

श्रद्धापूर्वक गरिने कार्य श्राद्ध भएकाले सबै धर्म–सम्प्रदायलाई पनि यसले समेटेको पाइन्छ। हिन्दूइतर धर्मावलम्बीले तर्पणपिण्ड र दानदक्षिणा नगर्लान् तर बाइबल पढेर होस् वा कुरानलाई ढोगेर, त्रिपिटकलाई नमः गरेर होस् वा मुन्धुमको दर्शन गरेर सबैले श्रद्धापूर्वक कर्म गरिरहेका हुन्छन्। तसर्थ, ती सबै सत्यभाव वा श्रद्धाले गरिएका कर्म श्राद्ध हुन्। हिन्दू परम्परा अनुसार भने शास्त्रीय विधि वा वैदिक परम्परामा आधारित पिण्डपानी लगायत पितृकर्मलाई नै श्राद्ध बुझिन्छ।

ऋग्वेदमा भनिएको छ :
प्रियं श्राद्धे ददतः प्रियं श्राद्धे दिदासतः।
प्रियं भोजेषु यज्वस्विदं म उदिते कृधिः।।
अर्थात्, जुन वस्तु प्रेमपूर्वक श्रद्धाले दिइन्छ, भित्री हृदयदेखि नै श्रद्धा जागेर कसैलाई खुवाइन्छ वा अर्पण गरिन्छ, त्यो नै वास्तविक श्राद्ध हो। श्राद्धमा अर्पण गरिने पिण्ड भोजन हो, तर्पण पानी हो, धूपबत्ती सुगन्ध द्रव्य हो, यस्तै–यस्तै अनेकौं सात्विक पदार्थद्वारा पितृलाई तृप्त गरिन्छ।

हामी सनातन धर्मावलम्बी हौं, वेद र धर्मशास्त्रका अनुयायी। शास्त्रले बताएको र पुर्खाले चलाएको धर्म–संस्कार नै हाम्रो सनातन संस्कृतिको मूल आधार हो। शास्त्रीय मान्यतामा पनि मातापिता र गुरुको स्थान सर्वोपरि देखिन्छ। संसारमा त्यस्तो भौतिक वस्तु छैन, जसले मातापिताले लगाएको गुन चुक्ता गर्न सकियोस्। तसर्थ, बाँचुन्जेल मातापिताको सम्मान, आज्ञापालन, सेवा र इच्छापूर्ति गर्नु नै वास्तविक कर्तव्य हो। साथै देहावसानपछि शास्त्रोक्त विधिअनुसार पितृ उद्धारको कार्य गर्नुपर्छ।

जुन वस्तु प्रेमपूर्वक श्रद्धाले दिइन्छ, भित्री हृदयदेखि नै श्रद्धा जागेर कसैलाई खुवाइन्छ वा अर्पण गरिन्छ, त्यो नै वास्तविक श्राद्ध हो। श्राद्धमा अर्पण गरिने पिण्ड भोजन हो, तर्पण पानी हो, धूपबत्ती सुगन्ध द्रव्य हो, यस्तै–यस्तै अनेकौं सात्विक पदार्थद्वारा पितृलाई तृप्त गरिन्छ।

त्यस्तै, शास्त्रमा उल्लेख छ–
न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः।
श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिबन्ति ते।।
अर्थात्, मरेपछि कसले देख्या छ र ? पितृहरू नै छैनन्, श्राद्ध गर्नुको के अर्थ ? भन्ने विचारले जसले श्राद्धकर्म गर्दैन, उसका पितृहरूले उसैको रगत पिउँछन्।

अर्को श्लोकमा उल्लेख छ, ‘ऋणत्रयं पूरयित्वा पुन्नामनरकात् त्रायते पितृन् इति पुत्र।’
अर्थात्, श्राद्ध गर्ने छोराछोरीलाई पुत्र भनिन्छ। जसले देवऋण, ऋषिऋण र पितृऋणबाट मुक्त गराउन पुङ् नामक नरकबाट पितृलाई तार्छ, त्यो पुत्र हुन्छ। उसले श्राद्ध आदि सत्कर्म गरेर ती ऋण तिर्न सकेन भने उसको जन्म व्यर्थ छ। साथै, बाँचुन्जेल आमाबुवालाई दुःख दिने र मरेपछि रुने–कराउने अनि पण्डित बोलाएर लोकाचारका लागि देखावटी श्राद्ध गर्नुको कुनै अर्थ छैन, त्यस्ता कपूतले यो लोक र परलोकमा शान्ति पाउँदैन। शास्त्रमा भनिएको छ–
‘जीविते वाक्यकरणात् क्षयाहे भूरिभोजनात्।
गयायां पिण्डदानाच्च त्रिभिः पुत्रस्य पुत्रता।
अर्थात्, पुत्रले यी तीन कार्य गर्नुपर्छ– बाँचुन्जेल बुवाआमाको आज्ञा शिरोपर, वृद्धवृद्धा आमाबुवाको हेरविचार र देहावसानपछि अन्त्येष्टि गरी पुनः गयामा गएर पिण्डदान। तसर्थ, जसले बाँचुन्जेल पालनपोषण गर्छ, हेरविचार गर्छ, उसले मृत्युपछि दिएको पिण्डपानीले पितृ तृप्त हुन्छन्। तर, जसले मातापिता बाँच्दासम्म दुःख र सास्ती मात्र दिएको छ, त्यसले श्राद्ध गर्नु र नगर्नुमा कुनै तात्विक फरक हुँदैन। यस विषयमा सन्त कविर साहेबले भनेका छन्, ‘जिते बापको रोटी न देवें, कौवा बाप बनै हौं।’ अर्थात्, जिउँदो रहुन्जेल खाना दिइएन, मरेपछि पिण्ड लडाएर के काम ? कौवाले खान्छ।

हेमराज भट्टराई ‘शास्त्री’

गीतामा श्राद्धबारे कृष्णले भनेका छन्, ‘पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः।’ अर्थात्, पितृ यही लोकमा सूक्ष्म शरीर धारण गरेर भड्किरहेका हुन्छन्। तसर्थ, पितृमुक्तिका लागि श्राद्ध गर्ने परम्परा रहिआएको हो। त्यस्तै, मनुले पनि ‘कुर्यादहरहः श्राद्धम्’ भनेका छन्। अर्थात्, श्राद्ध नियमित गर्नुपर्छ। श्राद्धले मृतात्मालाई सुखशान्तिका साथै तृप्त गराउँछ। पाञ्चभौतिक शरीर त्यागेपछि सूक्ष्म शरीरले पुनः भौतिक शरीर धारण गर्न खोज्छ। तसर्थ, देह त्यागलगत्तै भौतिक शरीर नजलाई शवयात्रादेखि अग्निदाहबीच छोराद्वारा शव, पान्थक, खेचर, भूत र साधक नामक पाँचवटा पिण्ड दिइन्छ। यसको अर्थ त्यो सूक्ष्म शरीरले ती पिण्डबाट पृथ्वी, तेज, जल, वायु र आकाश पाँचवटा तत्वद्वारा पुनः शरीर धारण गर्न सकोस् र त्यसले पितृलोक प्राप्त गरोस्।

त्यसपछि फेरि १० दिनसम्म दिनको एउटा पिण्ड दिने चलन छ। भौतिक शरीर धारण गरेको त्यसले फेरि पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय धारण गरोस् भनेर ती पिण्ड दिने शास्त्रीय मान्यता रहेको छ। वास्तवमा भौतिक शरीर वा कुनै पनि आकारको वस्तुलाई पिण्ड भनिन्छ। तर, कतिपयले यस्ता मान्यतालाई कुसंस्कार भनेर बुवाआमाको किरिया गर्दै गर्दैैनन् भने कतिपयले १३ दिनबाट सात, पाँच वा तीन गर्दै घटाउँदै लगेका छन्। यो शास्त्रसम्मत छैन।

श्राद्धका प्रकार र महालय श्राद्ध
शास्त्रमा पाँच प्रकारका श्राद्ध उल्लेख छ–
‘नित्यं नैमित्तिकं काम्यं वृद्धिश्राद्धं तथैव च।
पार्वणञ्चेति मनुना श्राद्धं पञ्चविधं स्मृतम्।।’
अर्थात् नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण गरी पाँच प्रकारका श्राद्ध छन्। जसमध्ये मृत्यु तिथिमा गरिने एकोदिष्ट र आश्विन कृष्णपक्ष वा पितृपक्षमा गरिने पार्वण वा महालय श्राद्ध हो। एकोदिष्ट श्राद्धमा मुख्य तर्पण, पिण्डदान सम्बन्धित मृतात्मालाई मात्र गरिन्छ भने पार्वण श्राद्धमा आफ्ना दिवंगत समस्त पितृलाई पिण्डदान गरिन्छ। अथवा, तर्पण दिएजति सबैलाई पिण्ड दिने चलन पनि छ। त्यसैले पार्वण श्राद्धको विशेष महŒव छ। यस पर्वमा सम्भव भए आफ्नै घरमा र सम्भव नभए विभिन्न तीर्थस्थलमा श्राद्ध गरिन्छ। प्राचीनकालदेखि नै काठमाडौंको उत्तरगया, गोकर्ण लगायत विभिन्न मन्दिर परिसर तथा नदीतटमा श्राद्ध गर्ने चलन शास्त्रमै उल्लेख पाइन्छ ।

पितृमा प्रमुख पिता हुन्। कर्ताका पिताले पितृलोकमा समस्त पितृसँग ‘मेरो तिथि यो हो, यसै दिन उसले (पिण्डपानी दिने अधिकारप्राप्त छोरा वा नाति) हामीलाई बोलाउँछ, हामी त्यस दिन जानुपर्छ भनी आएर ढोकामा बसी वार्तालाप गरिरहेका हुन्छन् भन्ने मानिन्छ। यसर्थ, पिताको मृत तिथिमै महालय श्राद्ध गर्नुपर्छ। श्राद्धभन्दा पुण्यदायक अर्को कुनै कार्य छैन।

रक्तसम्बन्ध रहेका आमातर्फ सपत्नीसहित तीन पुस्ता, मामा–माइजू, सानिमा–सानाबा, ठूलीआमा–ठूलाबा, बुवातर्फ सपत्नीसहित तीन पुस्ताले तर्पण दिने, त्यसैगरी बडाबा–बड्यामा, काका–काकी, फुपू–फुपाजु, दिदी–भिनाजु, भाइ–बहिनी, गायत्री गुरु, दीक्षा गुरु, राजा र भीष्मपितामहसम्मलाई तर्पण दिने शास्त्रीय मान्यता छ। अर्थात्, रक्तसम्बन्ध, अंशसम्बन्ध, ज्ञानसम्बन्ध लगायत आफन्तको ऋण चुक्ता गरी मुक्तिको उद्देश्यले तथा वंश निरन्तरताको आशीर्वाद प्राप्त गर्न बाँचुन्जेल पालनपोषण र देहावसानपछि पितृको सम्मानमा उनीहरूको स्मरण गर्दै श्राद्ध गर्नुपर्छ।

सबै पितृ आफ्ना छोराछोरी भएको घरमा केही पाउने आसले आउने भएकाले महालय एउटा उत्सव हो। यो महाकुम्भ जस्तै पर्व भएकाले आफ्ना समस्त पितृलाई पिण्डपानी दिने धर्मशास्त्रमा उल्लेख रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराई बताउँछन्। उनका अनुसार शारदीय नवरात्र वैदिक सभ्यतासँगै सुरु भएको शास्त्रमा उल्लेख छ। देवीको विशेष उपासना गरिने यो पर्व भव्य रूपमा मनाइन्छ। कुनै पनि देवकर्म गर्नुअघि पितृलाई तृप्त गर्ने परम्परा पनि वैदिक सभ्यताबाटै सुरु भएको हो। पहिला पितृलाई तृप्त गरेर मात्र देवकर्म गरिने भएकाले नवरात्र अघिको कृष्णपक्षलाई महालय पर्वका रूपमा मनाउन सुरु भएको प्रा.डा. भट्टराईको भनाइ छ।

सनातन हिन्दू संस्कारमा चान्द्रमास आश्विन महिनाको पूर्वाद्र्धको पूरै १५ दिनलाई पितृपक्ष भनिन्छ। दिनगन्तीले एउटा सामान्य पक्ष १५ दिनको हुन्छ तथापि यस अवधिलाई सोह्रश्राद्ध भन्ने गरिएको छ। कसैले भाद्रशुक्ल पूर्णिमा समेतको गन्ती गर्ने र कसैले आश्विन शुक्लपक्षको प्रतिपदाका दिन गरिने मातामह श्राद्धलाई पनि गणना गरेर यसलाई सोह्रवटा श्राद्धको समूहको संयुक्त नाम हो भनी प्रमाणित गरेको पाइन्छ। तर, भाद्र पूर्णिमा पितृपक्षमा नपर्ने र पितृ विसर्जनको भोलिपल्टको मातामह श्राद्धले पनि पितृपक्ष नभेट्ने भएकाले समग्रमा पितृपक्षलाई मात्र सोह्रश्राद्ध मान्ने चलन छ।

पितृ को हुन् ?
दाहसंस्कार, १० दिनको काम र ११औं तथा सपिण्डी श्राद्ध गरी १३ दिनमा उत्तरपाथेय श्राद्ध गरिन्छ। त्यसपछि मासिकादि गरेर वर्ष दिनमा वार्षिक श्राद्ध पूरा हुन्छ। यसपछि पूर्ण रूपमा प्रेतत्वबाट मुक्त भई मृतकले पितृलोक प्राप्त गर्छन् र पूर्वपितृहरूसँग गएर बस्न पाउँछन् भन्ने शास्त्रको मान्यता छ। पुत्रहरूले वार्षिक तिथि र महालय पर्वमा दिएको पिण्डपानीका लागि फेरि पितृहरू मत्र्यलोकमा आउँछन्। महालय श्राद्ध भएन भने पितृहरू दुई महिना अर्थात् आश्विन कृष्णपक्षको आफ्नो तिथिदेखि मंसिर १ गतेसम्म ढोकामा आएर पर्खन्छन् र श्राद्ध भएन भने निराश भएर फर्कन्छन् भनिन्छ। पितृपद प्राप्त गरेका पितृले मात्र हामीले गरेका सबै श्राद्धको पिण्डपानी आदि पाउँछन्।

वर्तमानमा श्राद्ध
अहिले शास्त्रीय विधिले कमैले श्राद्ध गरेको पाइन्छ। धर्ममाथिको अतिक्रमण, व्यापार व्यवसाय तथा रोजगारीका कारण देखिएको व्यस्तताले कतिपयले आफ्ना पितृको तिथिमा वृद्धाश्रम जाने र वृद्धवृद्धालाई खानेकुरा तथा लत्ता–कपडा बाँड्ने गरेका छन् भने कतिपयले सामाजिक संघ–संस्थालाई सहयोग गरेको पनि पाइन्छ। पिण्डपानी दिँदा विभिन्न रूपमा रहेका पितृले तदनुरूप ग्रहण गर्छन् भने सेवा भावनाले कसैलाई पनि दान–दक्षिणा वा भोजनादि गराउँदा पनि हामीमध्ये कसै न कसैका पितृले पुनर्जन्म प्राप्त गरेका हुन्छन् र तिनीहरू पनि तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। तसर्थ, आफ्ना पितापुर्खाको तिथिमा मृतात्मा तथा जीवात्माहरूलाई तृप्त गराउन आस्थापूर्वक श्राद्ध लगायत कर्मकाण्डको संस्कार बसाइएको हो।

प्रकाशित: २८ भाद्र २०७६ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App